अब काम गर्ने शैलीमा धेरै परिवर्तन आउँछ

  २०७७ जेठ १३ गते २०:२८     विकासन्युज

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असर हरेक क्षेत्रले प्रत्यक्ष रुपमा भोग्दै आएका छन् । कोरोना महामारीकै कारण विश्वका विभिन्न मुलुकहरु लक डाउनमा छन् । महामारीसँगै विश्वमा जीवन बीमाकाे माग बढेकाे समाचार प्रकाशित भएका छन् । नेपालमा के भइरहेकाे छ ?  महामारीले नेपालको बीमा क्षेत्रमा कस्तो असर गरिरहेकाे छ ? नयाँ परिस्थितिमा बीमा कम्पनीहरू के साेचिरहेका छन् ?  रिलायबल लाइफ इन्स्योेरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीसँग विकासन्युजका लागि नबिन पोखरेलले यिनै विषयमा कुराकानी गरेका छन् । 


विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभाव नेपालको जीवन बीमा क्षेत्रमा कस्तो छ ?

जीवन बीमामा अहिले तत्कालको लागि भन्ने हो भने धेरै शाखा कार्यालयहरु खोल्न सकिने अवस्था छैन । नयाँ व्यापार पनि आउन सकेको छैन । नविकरण पनि निकै कम भइरहेको छ । त्यस्तै अर्कोतर्फ बैकहरुले दिएको व्याज पनि दुई, साढे दुई प्रतिशतले घटेको छ । यसरी बीमा क्षेत्रमा तत्कालको लागि कोरोना महामारीले नकारात्मक असर पारेको छ ।

तर कोरोना महामारीबाट बाहिरीएपछि मानिसहरुलाई जति बेला जेपनि हुँदो रहेछ, नसोचेका जोखिम जीवनमा आईलाग्दा रहेछन् भन्नेमा सबैजना सचेत हुनुपर्छ । यस्ता जोखिमका लागि आर्थिक रक्षावरण गर्न समयमै जीवन बीमा गर्नेहरुको संख्या बढ्न सक्छ । वैदेशिक रोजगारमा पुगेकाहरु स्वदेश फिर्ता हुने सम्भावना धेरै छ । भोलिको आर्थिक अवस्था कस्तो रहला त्यो त ठ्याक्कै अनुमान गर्न मिल्दैन । आर्थिक समस्या एउटा पाटो हो तर जीवन बीमा भनेको आवश्यक कुरा हो ।

यतिबेला कुनैपनि कम्पनी चलाउन सजिलो छैन । प्रमुख कार्यकारी अधिकृतको हैसियतले कम्पनीको व्यवस्थापकिय नेतृत्व कसरी गर्दै हुनुहुन्छ ?

साधारणतया हामीले अहिले प्रविधिको सहयोगबाट काम गरिरहेको अवस्था छ । यही समयमा हामीले कर्मचारीहरुको व्यक्तित्व विकास हुने खालका अनलाईन तालिम समेत गरिरहेका छौँ । आफ्नो स्वास्थ्य, परिवारको स्वास्थ्य, हाम्रो स्टेकहोल्डर तथा अभिकर्ता साथीहरुको स्वास्थ्यको ख्याल गर्नु पर्ने अवस्था छ । राज्यको लक डाउनको समेत हामीले पालना गर्नुपर्ने कुरा त्यतिकै जरुरी छ ।

भोलि प्रविधिबाटै बीमा सेवा दिन डिजिटल सिग्नेचरलाई मान्नु पर्ने हुन्छ । सोही विषयमा हाम्रो नियामक बीमा समितिसँग छलफल पनि भइरहेको छ । अहिले दिन बिराएर प्राशासनका साथीहरु अफिस आईरहेका छौं । हप्तामा एक दिन हामीले शाखा पनि खोल्ने प्रयास गरेका छौं ।

मुलुक लकडाउनमा परेको दुई महिना भयो । यस्तो बेलामा नियामक निकाय बीमा समिति तथा सरोकारवाल पक्षबाट कस्तो सहयोग पाइरहनु भएको छ ?

बीमा समितिले पनि कतिपय अवस्थामा अहिले बुझाउनु पर्ने शुल्कहरु पछि बुझाउन मिल्ने सुविधा दिएको छ । यस्तै, अभिकर्ताहरुको नविकरणहरुको जरिवाना नलाग्ने बनाएर पछिको लागि सारिएको छ ।

बीमा समितिले परिस्थिति हेरेर समयको आवश्यकता अनुसारको निर्देशन दिईरहेको छ । साथै, बीमा कम्पनीहरुले दिएका सल्लाय सुझावलाई समितिले सकारात्मक रुपमा लिएको अवस्था छ ।

अहिलेकोे अवस्थामा बीमा कम्पनीहरु राम्रोसँग अडिन सकेमा भोलिका दिनमा उनीहरुले दिने सेवा सुदृढ हुनेछ । कम्पनीहरुको निरन्तरता नै अहिलेको प्राथमिकता हो । यस्तो कुरा बीमा समितिले राम्रोसँग बुझेको देखिन्छ ।

कोरोना महामारीले भर्चुअल वल्र्डको महत्व बढेको छ । रिलायबल लाइफले दिने कुन कुन सेवा डिजिटल्ली उपलब्ध छन् ?

हाम्रो अनलाईनबाटै बीमा पोालिसी खरिद गर्न सकिने व्यवस्था छ । अर्को भनेको विभिन्न अवस्थामा भौतिक कारोवार नगरिकन डिजिटल्ली भुक्तानीको सेवा दिइरहेका छौँ । हामीले सबै सरोकारवालाहरुलाई आफ्नो वेव साइटमा सम्पर्क नम्बर राखेर कुनै किसिमका समस्या आएका सम्पर्क गर्न भनेको छौं बीमित, अभिकर्ता वा कम्पनीबाट सेवा लिन चाहाने जो कोहीले पनि आफ्नो भनाई कम्पनीको कर्मचारीसँग राख्न सक्नुहुनेछ । सकेसम्म हामी उहाँहरुको माग अनुसार सेवा दिने प्रयास गरिहेका छौं ।

रिलायवल लाइफको कुन बीमा पोलिसीले कोरोना महामारी पीडितलाई आर्थिक सुरक्षा प्रदान गर्छ ?


हामीले कोरोना विशेष प्रोडक्ट ल्याएका छैनौ । प्रोडक्ट ल्याउन पनि प्रकृया केही लामै छ । पहिले प्रोडक्ट डिजाइन गरेर, त्यसलाई बीमा समितिमा पठाउनु पर्छ । साथै, यसरी पठाएको प्रोडक्ट डिजाईन एक्चुरीको तर्फबाट पनि जाँचबुझ गर्न आवश्यक हुन्छ । त्यसपछि बीमा समितिले स्वीकृत दिन्छ । अहिलेको परिस्थितिमा नयाँ पोलिसी जारी गर्न झन बढी समय लाग्छ ।

तत्कालका लागि हामीले विगतबाट संचालनमा ल्याएका बीमा पोलिसीहरु बिक्री गरिरहेका छौँ । लक डाउन खुले पश्चात हामीले कस्तो किसिमको प्रोडक्टको आवश्यकता बजारलाई छ भन्ने बुझेर नयाँ प्रोडक्ट ल्याउछौँ ।

चैत्र मसान्तको वित्तीय सूचक कस्तो रहयो ?

चैत्र मसान्तको वित्तीय तथ्याङ्ककरु राम्रै आएका छन् । अझै केही सूचक तयार हुँदैछ । बीमाशुल्क संकलन बीचमा बन्द भयो । यसरी बीमाशुल्क रोकिदा पनि हामी गत वर्षको भन्दा केही वृद्धि कै अवस्थामा छौँ ।

आगामी दिनमा कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ?

सबैभन्दा पहिला त हामीले तत्काल गर्नै पर्ने कामहरु कोरोनाबाट बचेर गर्नु पर्ने अवस्था छ । आगामी दिनमा पनि स्थिति त्यति सहज हुने देखिदैन । सोही कारण डिजिटल्ली नै अघि बढ्ने हाम्रो योजना रहेको छ ।

एकातिर व्यवसाय कसरी वृद्धि गर्ने भन्ने चुनौति छ भने खर्च व्यवस्थापन अर्को चुनौति छ । त्यस्तै, ग्राहकसँगको सम्पर्क बढाउनु पर्नेछ । अबको दिनमा मानिससँग पैसा कम हुनसक्छ । विदेशबाट आउने रेमिट्यान्स रकम घट्दै छ । आम मानिसको आम्दानी घट्दैछ । यस अवस्थामा सस्तो अर्थात कम बीमा शुल्क हुने किसिमका बीमा पोलिसीको माग बढ्ने देखिन्छ । चुनौतिहरु धेरै छन् तर पनि वार्षिक २५/३० प्रतिशतको व्यवसाय वृद्धिले निरन्तरता पाउँछ भन्ने हाम्रो अनुमान छ ।

कोरोना महामारी अघिको बीमा बजार तथा महामारी पछिको बीमा बजारमा के कस्ता परिवर्तन आउने सम्भावना छन् ?

मुख्यत हाम्रो काम गर्ने शैली (अपरेशन मोडल) मा पक्कै परिवर्तन आउँछ । हाम्रा सेवाहरु अनलाइन प्रणालीमा आधारित हुनेछन् । डिजिटल कारोबारले प्राथमिकता पाउने छ । बैंक खाताबाट बीमा शुल्क भुक्तानी, बैंक खाताबाटै बीमा रकम भुक्तानी हुन्छ । नयाँ पोलिसी लिने देखि नविकरणसम्मका काम इन्टरनेटको माध्यमबाटै हुने अभ्यास बढ्दै जाने देखिन्छ ।

महामारीको बेलामा मानिसहरुले अताल्लिएर बीमा गर्न चाहेका छन् कि ? नयाँ बीमालेख जारीको अवस्था कस्तो छ ?

अहिले पनि हामीले कसैले बीमा गर्छु भन्दा हामीले गरेका छौँ । लक डाउनको अवस्थामा बीमा गर्न चाहने व्यक्तिको हामीले बीमा गरि नै रहका छाँै । तर मार्केटिङ्कका लागि भने केही समस्या भएको अवस्था छ ।

जीवन बीमामा २० लाख रुपैयाँ भन्दा बढीको मेडिकल गर्नु पर्ने हुन्छ । मेडिकल गर्न अहिले व्यक्ति भेटन पनि त्यति सहज वतावरण छैन । तर सो भन्दा बाहेकका हामीले गर्न मिल्ने सम्मका बीमा सेवालाई निरन्तरता दिई रहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.