‘मन्त्रीज्यू, बालमैत्री क्वारेन्टाइन केन्द्र हुनुपर्यो’

  २०७७ जेठ १३ गते १९:१५     विकासन्युज

काठमाडौं । ‘मन्त्रीज्यू, बालबालिकाहरुलाई कोभिड–१९ संक्रमण देखियो भने घरपरिवार छोडेर क्वारेन्टाइन केन्द्रमा बस्नुपर्छ । तर, त्यो ठाउँ बालबालिकामैत्री छैनन् । त्यहाँ त्रास र चिन्तापूर्ण अवस्थाबाट गुज्रिनुपर्छ नि ।’

कोरोना संक्रमण दर उच्च देखिएको नेपालगञ्जकी १५ बर्षीया बालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सोधेको प्रश्न हो यो ।

‘क्वारेन्टाइन केन्द्रहरु बालमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ, केन्द्रमा रहने संक्रमित बालबालिकाको मानसिक स्वास्थ्य र समग्र हितलाई असर नहोस् भनेर अत्याधिक प्रयत्न गर्ने सबै बालबालिकाहरुलाई आश्वस्त पार्न चाहन्छु,’ मन्त्री गुरुङले भने ।

यो सवाल जवाफ सेभ दी चिल्ड्रेनको सहयोगमा सिआईएनले उत्पादन गरेको ‘बालबालिकासँग मन्त्री’ कार्यक्रममा भएको हो । बालबालिकाका आवश्यकता र चुनौतीहरु सम्बोधनका लागि निर्वाचित जनप्रतिनिधि र नीति निर्माताहरुलाई थप जिम्मेवार बनाउन पैरवी गर्ने उद्देश्यले सुरु भएको बालबालिकासँग मन्त्री कार्यक्रमले यसअघि विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग बालबालिकाका सवाललाई जोड्ने प्रयत्न गरेको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई विद्यालयमा बनाइएका क्वारेन्टाइन केन्द्रका कारण त्रास बढ्न सक्ने भन्दै बालबालिकाले गुनासो गरेपछि विद्यालय सञ्चालन अघिदेखि नै निर्मलीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै, प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले बालमैत्री दुरशिक्षाका साधनको अवलम्वन गर्दै सबैको पहुँचमा ध्यान पुर्याउने बताएका थिए ।

सेभ दी चिल्ड्रेन नेपालकी अन्तरिक राष्ट्रिय निर्देशक बन्दना रिसालले वर्तमान संकटको रोकथाम, जोखिम न्यूनीकरण तथा सम्बोधन केन्द्रित विश्वव्यापी रणनीति अन्तर्गत रहेर कार्यक्रम गरिएको बताइन् । उनले बालबालिकाको सिकाई, जीवन रक्षा, विद्यालय सुरक्षा, बालमैत्री वातावरण, सामाजिक सुरक्षा, खाद्य सुरक्षा र परिवार तथा समुदायबाट बालबालिकाको हेरचाह लगायतका विषयमा सम्पूर्ण सरोकारवालाहरुले ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा उठेका विषयवस्तु र प्रतिबद्धताको संगालो सम्बन्धित मन्त्रालयहरुमा बुझाईने सेभ दी चिल्ड्रेनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.