सरकारी जग्गा व्यक्तिको नाममा गराउन मालपोत प्रमुख नै सक्रिय, ९ जनाविरुद्द मुद्दा

  २०७७ जेठ १३ गते १५:३५     विकासन्युज

काठमाडौं । मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालले सरकारी जग्गा व्यक्तिको नाममा गरेको खुलेको छ । जिल्ला खोटाङ साविक दिक्तेल गाविस वडा नं. ६ को सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराई सो जग्गा व्यक्तिको नाममा गर्ने उनीसहित अन्य ८ जना विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनलाई चार लाख चौध हजार चार सय त्रिपन्न रुपैयाँ एघार पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी पाउन माददाबी लिइएको छ । उनले मालपोत कार्यालय खोटाङका कर्मचारी टेक बहादुर खड्कासमेतका नाममा कायम गरेको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा उनले भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले उनी माथि कारबाहीका लागि आयोगले अदालतमा मुद्दा दायर गरेका बताएको हो ।

यस्तै, खोटाङको साविक दिक्तेल गाविस. वडा नं. ६ को कित्ता नम्बर १३७ र कित्ता नम्बर ८१५ को छुट जग्गा दर्ता समितिको सदस्यको रुपमा नापी प्रमुख सियाकान्त चौधरीले सरकारी र सार्वजनिक जग्गा बदनियतपूर्वक व्यक्तिविशेषको नाममा सिफारिस गरेकोले उनी विरुद्द पनि मुद्दा दायर भएको छ ।

उनलाई सरकारी सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई फाइदा र्पुयाउने गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुर गरेको देखिन आएकोले निज नापी प्रमुख सियाकान्त चौधरीलाई उक्त जग्गाहरुको तत्कालीन सरकारी मूल्याङ्कन अनुसार चार लाख उनान्नब्बे हजार दुई सय एक रुपैयाँ एघार पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी पाउन माग दाबी लिइएको छ ।

मालपोत कार्यालय, खोटाङका तत्कालीन मालपोत अधिकृत कटक बहादुर खत्री, नायब सुब्बा भिम बहादुर खत्री, खरिदार टेक बहादुर खड्का, गजेन्द्र कुमार थापा, राम बहादुर थापा अमिन गणेश कुमार खिडहरी र नायब सुव्वा चन्द्र बहादुर कार्की विरुद्द अदालतमा मुद्दा दर्ता गराइएको हो ।

उनीहरु विरुद्द उनीहरुले गरेको गैर कानुनी कामको आधारमा हुन आउने रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीका लागि मुद्दा दायर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.