कोरोना महामारीभन्दा पनि भोकको चिन्ता

  २०७७ जेठ १३ गते ११:३०     विकासन्युज

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौं”, बादी समुदायमा बस्दै आएकी यमुना बादीले भने, “हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको हाम्रो स्थानीय सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले आएन ।”

उनीहरुका अनुसार गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् । यहाँ केटाकेटी र महिला छन् । एक बादी महिलाले भनिन्, पुरानो पेशा परिवर्तन गर्न निकै सङ्घर्ष गरेर टोलमै सानो चिया पसल चलाउँदै आएको थिएँ, तर अहिले त्यो पनि बन्द भयो । लामो समय बन्दाबन्दी भएका कारण आउने बाटो कहीँकतै भएन, भएको खाद्यान्न खाइसक्याैं अब भोकै बस्नुपर्ने अवस्था छ ।

लामो समयको सङ्घर्ष र चेतनापछि हाम्रो समुदायका केही मानिसमा पहिले–पहिले गरिआएको देहव्यापार सही नभएको र विकल्पमा अर्को कुनै श्रमलाई मुख्य पेशाका रूपमा अङगाल्नुपर्ने सोचको विकास भएको थियो । तर अहिलेको यो विषम परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदियो कि भोकभन्दा अर्को ठूलो कुनै सङ्कट छैन । हामीलाई राज्यले कि काम दिन कि माम दिन पर्याे होइन भने हाम्रो पुरानो पेशालाई सञ्चालन गर्न दिनपर्यो भन्ने आवाज समुदायमा उठ्न थालेको सुनिता बादीले बताइन् ।

“हामीलाई अहिले विश्वभर फैलिएको कोरोनाको भन्दा बढी चिन्ता भोकको छ । हाम्रा केटाकेटीले पेटभरि खान पाउँदैनन्, हामी कयौं दिन भोकै सुतेका छौं ।” यस्तोमा हामीलाई सरकारले हेर्दैन भने कसले हेर्छ ? भनेर सरकारलाई प्रश्न गर्छिन् सितला बादी । “सबैले कोरोना रोगले मर्छन् भन्थे । यहाँ त खाना खान नपाएर भोकले मरिएलाजस्तो हुन थालिसक्यो”, सितलाले भने, “थोरै भएको अन्न दिन बिराएर खाऊ भने पनि दुई दिनलाई छैन विजचार गरौं भोकै कति दिन बाँच्न सकिन्छ ।” आफूहरू रोगभन्दा भोकको शोकले पिरोलिएको सितलाको गुनासो छ ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी गाउँपालिकाको तर्फबाट बादी समुदायले पहिलो चरणको राहत पाइसकेको बताए । बन्दाबन्दी लम्बिँदै गएका कारण अन्न सकिएको पनि होला तर फेरि दोस्रो चरणको राहत वितरणका क्रममा बादी समुदायमा पनि बुझ्ने र आवश्यक परे राहत प्रदान गर्ने अध्यक्ष चौधरी बताए । गाउँपालिकामा कोही जनता भोकै नरहुन् भन्ने सोचका साथ आफूहरू लागिपरेको चौधरी जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.