चिकित्सकको सेवाबाट कोरोनाका बिरामी ढुक्क

  २०७७ जेठ १३ गते १०:३२     विकासन्युज

लम्की । कैलालीको टीकापुर अस्पतालमा रहेका कोभिड –१९ संक्रमित तीनै जनाको अवस्था सामान्य छ । उनीहरुमध्ये ४० वर्षीय एक जनालाई सामान्य रुघा लागेको छ भने अन्य १९ र २१ वर्षीय युवकलाई केही समस्या देखिएको छैन ।

४० वर्षीय पुरुष भारतको महाराष्ट्रबाट आएका हो भने १९ वर्षीय युवक सुनसरीको इटहरी र २१ वर्षीय युवक बाँकेको नेपालगञ्जबाट आएका हुन् । कैलालीको जानकी गाउँपालिका ७ घर भएका २१ वर्षीय युवक गत वैशाख २९ गते बाँकेबाट आए । बाँकेमा अध्ययनरत उनी एम्बुलेन्समा आएर ५ दिन घर बसेपछि जानकी–७ का वडाध्यक्ष लक्ष्मण चौधरी घरमै गएर युवकलाई क्वारेन्टाइन बस्न आग्रह गरे ।

गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका १६ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार तीन जनाको नतिजा पोजेटिभ आएको हो । टीकापुर अस्पतालमा भर्ना गरिएका उनीहरुको दैनिक दुई पटक ज्वरो नाप्ने गरिएको छ । त्यसबाहेक चिकित्सकबाट नियमित जाँच भइरहेको छ । कोरोना संक्रमितलाई अस्पतालमा राखिएपछि त्यहाँ त्रास बढेको छ । अस्पतालमा नियमित उपचारमा आउनेहरु घटेका छन् ।

‘‘संक्रमितहरुमा समस्या छैन । संक्रमित राखेपछि अस्पतालमा आउने बिरामी भने घटेका छन्’’, टीकापुर अस्पतालका डा जीतेन्द्र कँडेल भने, ‘‘अस्पतालमा दैनिक तीन सय पचास जनासम्म बिरामी आउँथे । आजभोलि एक डेढ सय जना मात्र आउन थालेका छन् ।’’ अस्पतालले दुई साताअघि मात्र बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको थियो । ओपिडी सेवा सञ्चालनमा आएपछि बिरामीको संख्या बढेको थियो । डा कँडेलले अस्पतालले नियमित सेवा दिइरहेको बताए । ‘‘हामी डराएका छैनौं, यस समयमा हामीले दिने सेवा थप गरेका छौं’’, डा कँडेलले भने, ‘‘बिरामीको एकै समयमा भीड नहोस् भनी २४ सै घण्टा ल्याब र एक्सरे सेवा शुरु गरेका छौं ।’’

अस्पतालले बालबालिकाका लागि नियमित खोप र प्रसूति सेवा निरन्तर दिइएको जनाएको छ । संक्रमितहरु अस्पतालले दिएको सेवाप्रति सन्तुष्ट छन् । संक्रमितमध्येका २१ वर्षीय युवक आवश्यक सेवा समयमै पाइरहेको बताउँछन् । ‘‘पानीको कार्टुन राखिदिएको छ । खानेकुरा समयमै पाइएको छ’’, उनी भन्छन्, ‘‘अस्पतालले बिहान चिया, दिनमा दुई पटक खाना र एकपटक खाजा दिने गरेको छ ।’’

उनका अनुसार तीनै जनालाई एउटै कोठामा बासको व्यवस्था गरिएको छ । ‘‘शौचालय, बाथरुम सोही कोठामा छ, बस्नलाई खासै समस्या छैन’’, युवकले भने, ‘‘२४ सै घण्टा कोठामा बस्न कठिन हुने रहेछ । मसँग त मोबाइल छ । अन्य २ जना संक्रमितसँग मोबाइल नि छैन ।’’अस्पतालले इन्टरनेट जडान गरिदिएको छ ।

उनीहरु त्यही एउटा भएको मोबाइलमा गीत बजाउँछन् । गफ गरेर समय व्यतीत गछैन् । उनीहरुले आफूमा बिरामीको कुनै लक्षण नदेखिएको तर कोरोना लागेको बताएपछि भने मनमा त्रास बढेको बताए । ‘‘अलिअलि डर पनि लागेको छ तर तीनै जनाले कोरोना संक्रमणलाई हराउँछौँ भन्ने हिम्मत गरेका छौं’’, संक्रमितमध्येका १९ वर्षीय युवक भन्छन्, ‘‘डाक्टरले केही हुन्न भन्नुभएको छ । डाक्टरको कुरा सुन्दा डर हट्ने गरेको छ ।’’   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.