कोरोनाका विरामीमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्न राेक

  २०७७ जेठ १३ गते ७:२३     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना बिरामीहरुमा हाइड्रोक्सिक्लोरोक्विानको प्रयोग गर्न अस्थायी रुपमा रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको उपचारका लागि भनिएको हाइड्रोक्सिक्लोरोक्विन औषधीको प्रयोगबाट मृत्युको जोखिम धेरै रहेको एक अनुसन्धान रिपोर्ट साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो ।

विश्व स्वास्थ्य संगठनका निर्देशक डा.टेड्रोस एडोनम गिब्रियससले डाटा सुरक्षा अनुगमन बोर्डले यस औषधि प्रभावकारी छ भन्ने कुनै पनि प्रमाण फेला नपरेको जानकारी दिए । १० सदस्य देशका प्रतिनिधि रहेको समूहले बैठकपछि यस औषधि सम्बन्धी क्लिनिकल परीक्षणहरू अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको हो ।

हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन सामान्यतया मलेरिया र स्व(प्रतिरक्षा रोगहरू जस्तै ल्यूपस जस्तो बिरामीमा प्रयोग गरिन्छ । तर विश्वमा कोरोना भाइरस फैलिएसँगै केही देशमा कोरोनाका बिरामीहरूमा यस औषधिको सुरक्षित प्रयोग गरेको कुरा बाहिर आउँदा टेड्रोसले यस बारेमा चिन्ता व्यक्त गर्दै भने, ‘यो हाइड्रोक्सिक्लोरोक्विन औषधीले मृत्युको जोखिम बढी हुन्छ ।’

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधी प्रयोग गरिरहेको र कोरोनाका अन्य बिरामीहरुलाई नि सोही औषधी प्रयोग गर्न आग्रह गर्दै आएका थिए ।