स्वास्थ्य मन्त्रालय: २ महिनामा २० वटा ल्याब सञ्चालनमा ल्यायौं, दैनिक ४ हजार परीक्षण गर्नसक्ने भयौं

  २०७७ जेठ १३ गते ११:२१     डाेमी शेर्पा

काठमाडौं । नेपालका लकडाउन भएको दुई महिना बितेको छ । नेपालमा दोस्रो कोरोना संक्रमित देखिएको भोलिपल्ट चैत ११ गतेदेखि नै सरकारले देशव्यापी लकडाउन घोषण गरेको थियो ।

फ्रान्सबाट आएकी १९ वर्षीय महिलामा कोरोना भाईरस पुष्टि भएसँगै सरकारले लकडाउन घोषण गरेको हो । नेपालमा पहिलो संक्रमण पुष्टि भएको ५८ दिनपछि मात्र दोस्रो संक्रमण पुष्टी भएको थियो ।

सरकारले कोरोना भाईरस संक्रमण रोक्नको लागि पहिलो रणनीतिको रुपमा लकडाउन लागू गरेको थियो । लकडाउन गर्नुको सबैभन्दा मुख्य योजना मानिसहरुको आवतजावत रोक्नु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यविज्ञ डा. खेम कार्की बताउँछन् । सरकार यसमा सफल भएको पनि उनी दाबी गर्छन् ।

त्यसपछि सरकारले दोस्रो रणनीतिको रुपमा ट्रयाकिङ ल्याएको थियो । यसको लागि सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई मोबाईल एप्स मार्फत पत्ता लगाउने काम गरेको कार्की बताउँछन् । यसमा स्थानीय सरकारले पनि गाउँमा आएका मानिसहरुको सूचना संकलन गरी सहयोग पुर्याएको उनले बताए ।

संक्रमित देशबाट आएका सम्भावित संक्रमित, लक्ष्य देखाएका मानिसहरुलाई सरकारले त्यसपछि क्वारेन्टिनमा राख्ने व्यवस्था गर्यो । सुरुमा सीमित मात्रामा भएको क्वारेन्टिन बेड संख्या हाल ६१ हजार २ सय ४५ रहेको छ ।

२० वटा कोरोना परीक्षण ल्याब

सुरुमा फाट्टफुट्ट कोरोना संक्रमित देखिँदा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना परीक्षण हुन्थ्यो ।

स्वास्थ्य मन्त्रालयले छिट्टै पाँचै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने निर्णय गर्दा आफूहरुलाई पनि त्यो असम्भव लागेको डा. कार्की बताउँछन् ।

‘सुरुमा सबै प्रदेशमा ल्याब बनाउने कुरा हामी आफैंलाई पनि असम्भव जस्तो लागेको थियो तर अहिले हामीसँग देशभर पिसीआर प्रविधिबाट परीक्षण गर्ने २० वटा ल्याब छन् । करिब एक महिनाको अवधिमा हामीले २० वटा ल्याब बनाउन सकेका छौं,’ उनले भने ।

पीसीआर परीक्षण विधि आफैमा निकै गाह्रो रहेकोले पनि परीक्षण ल्याबहरु संचालनमा ल्याउन असम्भव ठानिएको कार्कीले बताए । तर सबैको साथ सहयोगले आफूहरु २० वटा ल्याब बनाउन सक्षम भएको कार्की बताउँछन् ।

परीक्षण दायर विस्तार

पहिलो कोरोना संक्रमण देखिएको ३ महिनासम्म पनि नेपालमा दैनिक रुपमा बढिमा १० देखि १५ वटा परीक्षण हुने गर्थे । तर अहिले दैनिक ४ हजारसम्मको परीक्षण हुने गरेको छ । सुरुमा किट र ल्याबको कमी कारण परीक्षण एक दमै न्युन हुन्थ्यो ।

तर, अहिले परीक्षण ल्याब र किट पर्याप्त रुपमा उपल्ब्ध भएसँगै परीक्षणको दायर विस्तार भएको डा. कार्की बताउँछन् ।

२८ वटा कोभिड अस्पताल

गएको ४ महिनाको अवधिमा सरकारले २८ वटा कोभिड-१९ का बिरामी मात्र उपचार गराउने अस्पताल बनाएको छ । पहिला टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार हुने गर्थ्याे तर विस्तारै सरकारले उपत्यकामा पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई पनि कोभिड १९ अस्पतालको रुपमा सचालनमा ल्यायो ।

यस्तै उपत्यका बाहिर पनि कोभिड अस्पताल संचालन ल्याएसँगै हाल २८ वटा कोभिड अस्पताल संचालनमा छन् । उनीहरु ३ लेभलमा विभाजित छन् । प्रथम लेभलमा १४ वटा अस्पताल रहेका छन् भने, दोस्रो लेभलमा १२ वटा र तेस्रो लेभलमा ३ वटा अस्पताल तोकिएका छन् ।

स्वास्थ्य सामग्रीको बन्दोबस्त

कोरोनाको पहिलो, दोस्रो संक्रमण पुष्टि भएको अवस्थामा आफूहरुसँग सुरक्षा सामाग्री, परीक्षण किटहरु केही पनि तयारी अवस्थामा नरहेको डा. कार्की बताउँछन् । यद्यपि अहिले सरकारसँग आवश्यक मात्रामा सुरक्षाका सामाग्री, टेस्टिङ किटहरु रहेको उनले बताए ।

‘सुरुवातमा त हामीसँग खास केही पनि थिएन, यो हाम्रो देशको मात्र अवस्था थिएन । विश्वको हालत यही थियो । तर हामीले धेरैसँग अपिल गरेर सामाग्रीहरु जुटाउन सफल बन्यौं । अहिले हामीसँगै आवश्यक सामाग्री पर्याप्त छन् । आगामी ६ महिनासम्म हामीलाई कति स्वास्थ्य सामाग्रीहरु आवश्यक हुन्छ सबैको जोह गर्दैछौं,’ उनले भने ।

हजारभन्दा बढि कन्ट्याक ट्रेसिङ टिम

कोरोना भाईरसका संभावित संक्रमितको लागि हाल मन्त्रलायले १ हजारभन्दा बढी टिम खटाएको छ । प्रत्येक टिममा २ देखि ३ जना मानिस रहेका उनले बताए ।

कोरोना संक्रमणलाई रोक्न यसले निकै ठूलो भूमिका खेल्दछ । संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्याक ट्रेसिङ मार्फत पत्ता लगाइन्छ र परीक्षण गरिन्छ । उनीहरुलाई पत्ता लगाउन सरकारले ४ महिनामा १ हजारभन्दा बढि ट्रेसिङ टिम बनाउन सफल भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.