आधारभुत तलवकाे ३१ प्रतिशत रकम सरकारले दिने, चैतमा जस्तै सुविधा बैशाख र जेठमा पनि

  २०७७ जेठ १२ गते १९:०६     विकासन्युज

काठमाडाैं ।  सामाजिक सुरक्षा कोषका याेगदानकर्तालाई चैतमा जस्तै बैशाख र जेठ महिनामा पनि ३१ प्रतिशत राहात मिल्ने देखिएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिने बताएका छन् ।

‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ’ प्रधानमन्त्रीकाे साेमबारकाे सम्बाेधनमा उल्लेख गरिएकाे छ ।

प्रधानमन्त्रीकाे सम्बाेधनमा श्रमिकहरूकाे याेगदान रकम मात्र उल्लेख गरिएकाे छ । तर याे व्यवस्था श्रमिक र राेजगारदाता दुबैका लागि भएकाे सामाजिक सुरक्षा काेषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । ‘याे चैतकाे जस्तै माेडल हाे । बैशाख र जेठ दुबै महिना साेही माेडलमा सरकारी काेषबाट हिसाव मिलान हुनसक्छ’ ज्ञवालीले विकासन्युजसँग भने ।

यसबारे यसै साता सार्वजनिक हुने बजेटमा विस्तृतमा उल्लेख हुनसक्ने उनले बताए ।

निजी क्षेत्रले श्रमिककाे तलवमा सरकारकाे ३३ प्रतिशत, श्रमिककाे ३३ प्रतिशत र राेजगारदाताकाे ३४ प्रतिशत बनाउन माग गरिरहेकाे बेलामा सरकारले सामाजिक सुरक्षा काेषमा जम्मा हुने ३१ प्रतिशत रकम जम्मा गरिदिने नीति लिएकाे देखिएकाे छ । सामाजिक सुरक्षा काेषमा श्रमिककाे आधारभुत तलवकाे ११ प्रतिशत र राेजगारदाताले थप २० प्रतिशत रकम जम्मा गर्नु व्यवस्था छ ।

यसरी सरकारले काेषमा पैसा जम्मा गर्ने नीति लामाे समय नजाने ज्ञवालीले बताए । ‘असारपछि बढी प्रभावित क्षेत्रमा मात्र याे सुविधा सरकारले दिन सक्छ । त्यसमा  पर्यटन क्षेत्र, यातायात क्षेत्र हुनसक्छ’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.