बैंकका सीईओको तलबमा अब संसदीय समितिको पनि नजर, सभापति भन्छन्ः यो ठीक भएन

  २०७७ जेठ १२ गते १५:३१     विकासन्युज

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता बढी भयो भन्ने विषय उठेको लामो समय भइसक्यो । करिब १० वर्षयता उनीहरुको तलब घटाउन नेपाल राष्ट्र बैंकले धेरै पटक पहल गरेको पनि हो ।

अहिले फेरि यो विषयले प्राथमिकता पाएको छ । निजी क्षेत्रका प्रतिनिधिले नै कम्पनी तथा उद्योगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको तबल धेरै भएका कारण आफूहरुको लागत बढी भएकोले सीमा तोक्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिको बजेट सम्बन्धी सुझाव संकलन छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले कम्पनी र उद्योगका सीईओहरुको तलब बढी भएको प्रसंग उठाएपछि आफूहरुको पनि चासो बढेको समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

‘निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुले सुझाव दिने क्रममा कम्पनी र उद्योगहरुका सीईओको तलब बढी भएकोले आफूहरुले उत्पादन गरेको वस्तु तथा सेवाको लागत बढी भएको प्रसंग उठाउनु भएको थियो, हामीहरुले बुझ्दा पनि तलब निकै भएको पायौं, त्यसैले एउटा सीमा कायम गर्नु उपयुक्त हुन्छ भनेर सरकारलाई सुझाव दिइएको छ,’ सभापति दाहालले भने ।

समितिले विशेष गरेर सेवा क्षेत्रका संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतको तलव बढी भएको महसुस गरेको हो । सेवा क्षेत्रका पनि विशेष गरेर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा दूरसंचार सेवा प्रदाक संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलबका विषयमा प्रश्न उठेको छ । तल्लो तहको कर्मचारी र सीईओको तलब धेरै हुने तथा उद्योग र व्यापारिक संस्थाहरुमा लगानीकर्ताले नै बढी तलब खाएर नाफा कम देखाउने गरेका कारण यसमा सीमा तोकिनु उपयुक्त हुने देखिएको सभापति दाहालको भनाइ छ ।

‘सरकारले तोकेको न्यूनतम तलब १४ हजार रुपैयाँ छ, त्यही कम्पनी वा उद्योगमा काम गर्ने सीईओले मासिक २० लाखभन्दा बढी तलब बुझ्ने अवस्था देखियो, यो त र्यासनल भएन, त्यसैले कि योभन्दा बढी हुन नपाउने गरी एउटा सीमा तोकौं, कि त माथिल्लो पदको र तल्लो पदको कर्मचारीको तलब भिन्नताको निर्धारण गरौं भन्ने हाम्रो सुझाव हो,’ सभापति दाहालले भने ।

धेरै हो भन्ने लाग्छ भने घटाइदिनुस्ः बैंकर

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले बैंकका सीईओहरुको तलब धेरै भयो भन्ने सबैले महसुस गरेको र कम दिदा पनि हुन्छ भन्ने निष्कर्ष हो भने घटाउँदा हुने प्रतिक्रिया दिए । बैंकका सीईओलाई तलब धेरै दिनुपर्छ भन्ने मान्यताले नै सरकारले आफ्नो स्वामित्वसमेत रहेका बैंकका सीईओहरुको तलब पनि धेरै तोकेको अध्यक्ष दाहालको भनाइ छ ।

‘बैंकका सीईओलाई अरु पेशाका व्यक्तिहरुलाई भन्दा अलि बढी नै तलब दिने प्रचलन छ, सरकारी सेवामा ३ लाख तलब कसैको पनि छैन तर सरकारले नै आफ्नो स्वामित्वका बैंकका सीईओलाई ३ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले भने ।

सीईओहरुको तलबको विषय विगतदेखि नै उठ्दै गरेको भन्दै अध्यक्ष दाहालले अध्ययन गरेर एउटा निर्णयमा पुग्नुपर्ने आवश्यकता हो भने त्यसो गर्न पनि सुझाव दिए । उनले दक्षिण एसियाली देशमा बैंकका सीईओहरुको तलब कति हुने रहेछ भनेर अध्ययन गरी निष्कर्षमा पुग्नु उपयुक्त हुने बताए ।

‘दक्षिण एसियाली देशमा बैंकका सीईओहरुलाई कति तलब दिने गरिएको रहेछ भनेर अध्ययन गरौं, त्यसरी अध्ययन गर्दा नेपालका सीईओहरुको तलब बढी रहेछ भने घटाउदा हुन्छ, त्यसमा हामी तयार छौं,’ अध्यक्ष दाहालले भने ।

समिति सभापति दाहालले पनि अध्ययन गरेर सीईओहरुको तलबको विषयमा निक्र्याेलमा पुग्नु उपयुक्त हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.