तुरुन्तै आम्दानी दिने हाउजिङ व्यवसायलाई व्याज छुट दिनुपर्छ, लगानीको सीमा बढाउनुः काँग्रेस

  २०७७ जेठ १२ गते ९:१९     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले हाउजिङ व्यवसाय उकास्न सरकारले व्याज छुटदेखि विभिन्न प्रकार राहत कार्यक्रम ल्याउन भनेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई सुझाव दिदै काँग्रेसले नेपालमा फस्टाएको व्यवसाय भएकोले हाउजिङका लागि बेग्लै प्रकारको राहत कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठित कोरोना अर्थतन्त्र विशेष समितिले यस्तो सुझाव दिएको हो । समितिमा समिति सदस्यहरुमा पूर्वमन्त्रीहरु महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा तथा योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पनि बहन गरिसकेका अर्थशास्त्रीहरु पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्दराज पोखरेल र डा. स्वार्णिम वाग्ले सदस्य थिए । कोरोना अर्थतन्त्र केन्द्रीत विशेष समितिको सदस्य सचिव डा. प्रदीप पराजुली थिए ।

काँग्रेसले हाउजिङ व्यवसाय नेपालमा फस्टाएको व्यवसाय हो भन्दै यसले सबै प्रकारका जनशक्तिलाई रोजगारी प्रदान गर्ने र स्वदेशी निर्माण सामाग्रीको अधिकतम उपयोग गर्ने हुनाले यस व्यवसायलाई उद्योगको रुपमा विकाश गर्न सकिने बताएको छ । यसवाट राष्ट्रलाई आम्दानीका साथै तुरुन्तै रोजगारी सिर्जना गर्न सकिने काँग्रेसको धारणा छ ।

‘विदेशवाट फर्केका नेपालीहरु जो धेरैजसो निर्माण कार्यमा संलग्न छन्, उनीहरुको रोजगारी समेत हल गर्न सकिन्छ, हाल यो व्यवसाय पनि अन्य उद्योग जस्तै कोरोनाको माहामारीबाट प्रताडित छ, कोरोनाको माहामारीबाट घरजग्गा व्यवसायलाई पुनर्जिवित गर्न पुनर्कर्जा, व्याजमा छुट, कर्जाको पुर्नसंरचना तथा लगानीलाई सहज बनाउन हाल कायम गरिएको लगानीका सीमा र सुबिधालाई परिमार्जन गरी लगानी बृद्धि गर्नु पर्दछ । गैरआवासीय नेपालीहरुले नेपालमा घर वा अपार्टमेन्ट खरीद गर्न चाहेमा रजिष्ट्रेशन दस्तुर तथा सम्पत्ति करमा विशेष छुट दिने व्यवस्था गर्नुपर्दछ,’ काँग्रेसको सुझावमा भनिएको छ ।

यस्तै, काँग्रेसले विदेशी नागरिकलाई अरु मुलुकमा झै नेपालमा पनि अपार्टमेन्ट खरीद गर्न चाहेमा निश्चित मूल्यभन्दा माथिको (जस्तै दुई लाख डलर) अपार्टमेन्ट खरीद गर्न अनुमति दिन सकिने सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.