लकडाउनमा सरकारले दिएको ‘राहत’को भार बैंक हुँदै निक्षेपकर्तामा

  २०७७ जेठ ११ गते १७:२०     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न गरेको लकडाउनकै कारण नेपालकाे अर्थतन्त्रलाई ठूलो झट्का लागेको छ । मानिसका दैनिक गतिविधिदेखि ठूला–ठूला उद्योगधन्दाहरु अहिले निकै प्रभावित बनेका छन् ।

यसको असर बैंकिङ क्षेत्रमा पनि छ । लकडाउनकै कारण वित्तीय क्षेत्रमा ठूलै असर परेको पछिल्ला केही घटनाक्रम र अभिव्यक्तिहरुले देखाउन थालेका छन् ।

गत बिहीबार मात्रै उद्योगपति विनोद चौधरीकोे ८० प्रतिशत बैंकहरु बन्द हुन सक्ने अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्र निकै तरंगित बनेको छ । यहीबीचमा आफ्नो उद्योग व्यवसाय धरापमा परेको भन्दै उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट राहत तथा सहुलियतको माग पनि गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको व्याजमा २ प्रतिशत सहुलियत दिन बैंकहरुलाई निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले ऋणको व्याजमा छुट दिन सुरु गरिसकेका छन् । बैंकहरु नै समस्यामा परिहरेको अवस्थामा आउने नाफा नै घटाउनु परेपछि वित्तीय संस्थाहरुले त्यसको विकल्प खोजेका छन् । वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको व्याजमा छुट दिन सुरु गरेपछि बैंकरहरुले निक्षेपको व्याज पनि घटाएका छन् ।

के भन्छन् बैंकर ?

निक्षेपको व्याजदर बैशाखदेखि नै लागू भइसकेको बैंकरहरुको भनाई छ । उनीहरुका अनुसार निक्षेपको व्याजदरमा १ देखि १ं.५ प्रतिसतसम्म परिवर्तन भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले बचतमा ५.७५ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत र संस्थागतमा ७ प्रतिशतसम्म व्याज दिइरहेको बताइएको छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याज घटाएको स्वीकार गरे । उनले विकान्युज डटकमको प्रस्तुति विकास वहसमा नेपालका सम्पूर्ण वाणिज्य बैंकहरुले बैशाखको १ गतेबाट लागू हुनेगरी बचतमा ३.५ देखि ५.५ प्रतिशतसम्म बनाउन सकिने गरी व्याजदर कायम गरेको बताए ।

‘बैैंकर्स संघको निर्णय बमोजिम निक्षेपको व्याजदर तोकिएको छ, व्यक्तिगत मद्धतीमा १ प्रतिशतको हाराहारीमा र संस्थागत निक्षेपमा १.५ प्रतिशतको घटेको छ, उनले भने ।

चैत मसान्तमा उठ्नुपर्ने व्याज रकमको ५७ प्रतिशत मात्रै उठ्यो, नउठेको ४३ प्रतिशत व्याज रकम नै १ अर्ब ८ करोड रुपैयाँ थियो, व्याज रकम १० प्रतिशत छुट दिँदा नै १२ करोड रुपैयाँ कम भयो, असार मसान्तमा पनि यसरी छुट दिँदा हाम्रो बैंकको मात्रै व्याज आम्दानी ४५ करोड रुपैयाँ कम हुने देखिएको छ,’ अधिकारीले भने ।

यस्तै, कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले पनि निक्षेपमा अधिकतम ५.५ प्रतिशतसम्म व्याजदर कायम गरेका बताए ।

‘कर्जाको व्याजदर घटाउने कुरा राष्ट्र बैंकले निर्देशन दिनुभन्दा पहिले नै बैंकर्स संघले गरिसकेको थियो, कर्जाको ब्याज घटेपछि निक्षेपमा पनि एडजस्ट गर्न खोजिएको हो,’ उपाध्यायले भने ।

राष्ट्र बैंकले तोकेअनुसार २ प्रतिशत व्याज छुट दिँदा आफ्नो बैंकको व्याज आम्दानी करिब ९० करोड रुपैयाँ कम हुने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

यस्तै, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले चालु आर्थिक वर्षको चैत ९ अघिसम्म बैंकको नाफा उत्साहजनक नै भएपनि लकडाउनपछिको अवस्था विश्लेषण गर्दा नाफा उच्च नहुने बताए ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ ।

मर्कामा सर्वसाधारण

यसरी बैंकले दिने निक्षेपको ब्याजदर घट्दा सर्वसाधारणहरु मर्कामा पर्न सक्ने सम्भावना बढी छ । आफ्नो मासिक जम्मा गरेको आम्दानीबाट आएको व्याजबाट गुजारा चलाइरहेकाहरुलाई यसले धेरै समस्यामा पार्न सक्ने धेरैको बुझाई छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको निक्षेपको व्याज आम्दानीले नै जीवन चलाउनेहरु अब प्रभावित हन सक्ने धेरैको ठहर छ ।

मासिक आम्दानी गरेर बैंकमा जम्मा गरेको रकमको व्याजबाट गुजारा चलाउनेहरुलाई घटेको व्याजदरले धेरै सम्म असर पर्न सक्छ । राष्ट बैंकले कर्जामा २ प्रतिशत व्याजदर घटाउन निर्देशन दिएको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा पनि व्याजदर घटाएका छन् । यसले व्यक्तिगत निक्षेपकर्ता बढी प्रभावित हुनेछन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । २०७६ चैत मसान्तमा चल्तीमा  ८.५ प्रतिशत, बचतमा ३२.२ प्रतिशत र  मुद्दतीको कुल निक्षेपमा ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो ।

२०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो ।

बैंकरहरु भने सवैसाधारणहरुलाई मर्का नपर्ने गरी निक्षेपमा व्याजदर तोकेको बताउँछन् । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकमा मात्र चैतयता करिब ७९ अर्ब रुपैयाँ निक्षेप बढेको छ भने ३२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको बताइएको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो ।

निक्षेपकर्तालाई मर्कामा पार्नु हुँदैनः प्रवक्ता डा.भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट निक्षेपकर्तालाई मर्कामा पार्नु नहुने बताउँछन् । राष्ट्र बैंकले पनि निक्षेप घटबढ सम्बन्धि कुनै निर्देशन नदिएको र बैंक तथा वित्तीय संस्थाहरुले खास गरी व्यक्तिगत निक्षेपकर्तालाई निरुत्साहित बनाउन नहुने उनको भनाइ छ ।

‘व्यक्तिगत निक्षेपकर्तालाई निरुत्साहित गर्नु हुँदैन, उनीहरुलाई निरुत्साहित गर्यो भने भोलि अर्को समस्या पनि हुन सक्छ, व्याजदरमा निक्षेपकर्तालाई समस्यामा पार्नु हुँदैन भन्ने हाम्रो धारणा हो,’ उनले भने ।

भट्टले अहिलेको परिस्थिति नै प्रतिकुल रहेकोले सबैले एकअर्कालाई सहयोग गर्नुको विकल्प नभएको बताए । उद्योग प्रतिष्ठान बचाउनको लागि कर्जामा सुविधाको नीतिगत व्यवस्था गरिएको भन्दै उनले यस्तो सुविधा लामो समयसम्म दिन नसकिने बताए ।

राष्ट्र बैंकले संस्थागत निक्षेपको हकमा ब्याजदर नघटाउन भनिसकेको उनको भनाइ छ । ‘यो महामारीको बेलामा एकअर्कालाई सहयोग गर्नुको विकल्प छैन, बैंकहरुले पनि सामाजिक लागतको भार व्यहोर्नु परेको हो, देशलाई अप्ठेरो परेको बेलामा सबैले सक्दो सहयोग गर्नुपर्छ,’उनले भने ।

उनले राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बैंक नोक्सानीमै जाने अवस्था भने नआउने दाबी गरे । ‘बैंक नै नोक्सानीमा जाने वा अन्य यस्तो अप्ठेरो अवस्थामा बैंक पुग्न सक्ने अवस्था आउँदैन, चालु आर्थिक वर्षमा बैंकहरुले गत वर्षको हाराहारीमा नै नाफा गर्ने देखिएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.