लकडाउनमा दिएको सुविधाले नाफा घट्ने सरकारी बैंकको धारणा, राष्ट्र बैंक भन्छः पोहोरको भन्दा कम हुँदैन

  २०७७ जेठ १० गते २०:१०     विकासन्युज

काठमाडौं । सरकारी लगानी समेत रहेका तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले राष्ट्र बैंकले गरेको नीतिगत परिवर्तनले आफूहरुको नाफा कम हुने बताएका छन् । राष्ट्र बैंकले लकडाउनको अवधिमा ऋणको किस्ता तिर्ने ऋणीलाई व्याज रकम १० प्रतिशत छुट दिन र १५ लाख रुपैयाँभन्दा कम ऋण रकममा २ प्रतिशत छुट दिन गरेको नीतिगत निर्णयले आफूहरुको नाफा प्रभावित हुने बताएका हुन् ।

विकासन्युजले नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग गरेको भर्चुअल भिडियो कन्फ्रेन्समा प्रमुख कार्यकारी अधिकृतहरुले यस्तो धारणा राखेका हुन् ।

‘चैत मसान्तमा उठ्नुपर्ने व्याज रकमको ५७ प्रतिशत मात्रै उठ्यो, नउठेको ४३ प्रतिशत व्याज रकम नै १ अर्ब ८ करोड रुपैयाँ थियो, व्याज रकम १० प्रतिशत छुट दिँदा नै १२ करोड रुपैयाँ कम भयो, असार मसान्तमा पनि यसरी छुट दिँदा हाम्रो बैंकको मात्रै व्याज आम्दानी ४५ करोड रुपैयाँ कम हुने देखिएको छ,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले भने ।

राष्ट्र बैंकले तोके अनुसार २ प्रतिशत व्याज छुट दिँदा आफ्नो बैंकको व्याज आम्दानी करिब ९० करोड रुपैयाँ कम हुने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले चालु आर्थिक वर्षको चैत ९ अघिसम्म बैंकको नाफा उत्साहजनक नै भएपनि लकडाउनपछिको अवस्था विश्लेषण गर्दा नाफा उच्च नहुने बताए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले अहिलेको परिस्थिति नै प्रतिकुल रहेकोले सबैले एकअर्कालाई सहयोग गर्नुको विकल्प नभएको बताए । उद्योग प्रतिष्ठान बचाउनको लागि कर्जामा सुविधाको नीतिगत व्यवस्था गरिएको भन्दै उनले यस्तो सुविधा लामो समयसम्म दिन नसकिने बताए ।

‘यो महामारीको बेलामा एकअर्कालाई सहयोग गर्नुको विकल्प छैन, बैंकहरुले पनि सामाजिक लागतको भार व्यहोर्नु परेको हो, देशलाई अप्ठेरो परेको बेलामा सबैले सक्दो सहयोग गर्नुपर्छ,’ डा. भट्टले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले बैंकको व्यालेन्ससीट विग्रने चिन्ता गरिरहेका बेला प्रवक्ता डा. भट्टले भने राष्ट्र बैंकको नीतिगत व्यवस्थाले बैंक नोक्सानीमै जाने अवस्था भने नआउने दाबी गरे ।

‘लामो समय लकडाउन गरेर बस्न सकिदैन, अन्य देशको उदाहरणले पनि यही देखाएको छ, त्यसैले कोरोना महामारीको समयमा दिइएको सुविधा पनि लामो समयसम्मको लागि होइन, त्यसैले बैंक नै नोक्सानीमा जाने वा अन्य यस्तो अप्ठेरो अवस्थामा बैंक पुग्न सक्ने अवस्था आउँदैन, चालु आर्थिक वर्षमा बैंकहरुले गत वर्षको हाराहारीमा नै नाफा गर्ने देखिएको छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका डा. भट्टले भने ।

राष्ट्र बैंकले तोकिएको कर्जाहरुमा २ प्रतिशत व्याज कम गर्न निर्देशन दिएपछि बैंकहरुले निक्षेपमा १ देखि साढे १ प्रतिशतसम्म व्याज घटाएका छन् । नेपाल बैंकर्स एसोसिएसनले निर्णय गरेर नै निक्षेपको व्याज घटाइएको प्रमुख कार्यकारी अधिकृतहरुले बताएका छन् ।

एसोसिएसनले निक्षेपको व्याज कम गरेकोप्रति भने नेपाल राष्ट्र बैंकले मौन समर्थन गरेको छ । व्याजदर स्थीर हुनुपर्ने भएपनि विशेष परिस्थितिमा विशेष निर्णय गरेर अघि बढ्न सकिने प्रवक्ता डा. भट्टले बताए । यद्यपि उनले निक्षेपको व्याजदरलाई मुद्रास्फीतिदरसँग ‘एङ्करिङ’ गर्न आवश्यक रहेको धारणा राखे ।

सो छलफलको विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.