भारतबाट आएकाको पिसीआर परीक्षण गरिँदै

  २०७७ जेठ ९ गते १८:१७     विकासन्युज

काठमाडाैं । भारतबाट आएर तनहुँका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बसेकाको पिसिआर परीक्षण शुरु गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समितिले क्वारेन्टिनमा बस्नेको पिसिआर परीक्षणलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

सोहीबमोजिम घिरिङ गाउँपालिकाका १६ जना र ऋषिङ गाउँपालिकाका दुई जनाको बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

बुधबार व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका-४ स्थित मदर्शा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २५ जनाको स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । क्वारेन्टिनमा बस्ने अरुको पनि क्रमशः स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअगाडि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिकाका ३९ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । भानु नगरपालिकामा ९, व्यास नगरपालिकामा २५, म्याग्दे गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा तीन र आँबुखैरेनी गाउँपालिकामा दुई गरी हाल ६२ जना क्वारेन्टिनमा छन् । जिल्लामा यसअगाडि ६७० को आरडिटी परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.