साना कर्जाको व्याज ३% मा झारौं, तलवमा ३०% अनुदान दिऊँ

  २०७७ जेठ ८ गते १९:१५      डा शंकर शर्मा

कोरोना महामारीको कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धि १ देखि ३ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान हो । त्यो पनि नहोला जस्तो छ । यो वर्ष मात्र होइन, आगामी दुई वर्षसम्ममा आर्थिक वृद्धि ३ प्रतिशतभन्दा माथि जान सक्दैन ।

पर्यटन क्षेत्रले ८० प्रतिशत आम्दानी पनि गुमाउदै छ । त्यस्तै, यो क्षेत्रले ८० प्रतिशत रोजगारी पनि गुमाउदै छ । उद्योग क्षेत्रले ६० प्रतिशतले आम्दानी गुमाउदैछ । औपचारिक क्षेत्रबाट करिव १२ लाख मानिसले रोजगारी गुमाउन सक्ने अनुमान छ ।

निजी क्षेत्रले श्रमिकलाई मासिक औषतमा २० हजार रुपैयाँ तलव दिने गरेको एक सर्भेले देखाएको छ । यो राम्रो रकम हो । अब निजी क्षेत्रले यति तलव दिन सक्दैन । सरकार, रोजगारदाता र श्रमिकबीच मिलेर काम गर्नुपर्छ । सरकारले २० देखि ३० प्रतिशत तलव अनुदान दिनुपर्छ । त्यसको लागि सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गर्नुपर्छ । र, श्रमिकबाट १ प्रतिशत कर सबैले तिर्नुपर्छ ।

अनौपचारिक क्षेत्रमा ४४ लाख मानिस सक्रिय छन् । अनौपचारिक क्षेत्रमा कार्यरत मध्ये करिव २० लाखलाई राहात जरुरी छ । उनीहरुलाई मासिक ६ अर्बको राहात आवश्यक छ । राहातमा स्थानीय तहको पैसा सकिएको छ । अब प्रदेश र केन्द्र सरकारले पैसा खर्च गर्नुपर्ने देखिएको छ ।

तरलता सहज बनाउन राष्ट्र बैंकले लचिलौ मौद्रिक नीति लिनुपर्छ । ठूला उद्योगहरुलाई चालु पुँजी (वर्किङ क्यापिटल) बढाईदिनुपर्छ । पुर्नकर्जा कोष १०० अर्ब बनाउने राष्ट्र बैंक तयारी छ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ ।

सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने घरेलु तथा साना उद्योग हुन् । यो क्षेत्रले करिब ३०० अर्ब रुपैयाँ कर्जा उपभोग गरेको छ । उनीहरुलाई ३ प्रतिशत व्याजमा कर्जा दिनुपर्छ ।
यसरी राहात दिनको लागि तत्काल १०० अर्ब रुपैयाँ जुटाउनुपर्छ । खराब अवस्थामा २०० खर्ब रुपैयाँ आवश्यक हुन्छ ।

थप स्रोत जुटाउनको लागि अहिले दीर्घकालिन योजना र नयाँ योजना बन्द बन्द गर्नु राम्रो हुन्छ । सम्पन्न हुने योजनाहरु मात्र अगाडि बढाऔं । यसबाट १०० अर्ब रुपैयाँ बचाउन सकिन्छ । त्यस्तै चालु बजेट अन्तरगतको सार्वजनिक खर्चबाट १०० अर्ब रुपैयाँ बचाउन सकिन्छ । यतिबेला सरकारको फोकस राहात वितरण, स्वास्थ्य र शिक्षामा हुनुपर्छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा शंकर शर्माले सीएनआईले आयोजना गरेको वेविनारमा व्यक्ति विचारको सार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.