जीवन बीमा कम्पनीहरुले संकलन गरे ६२ अर्ब बीमा शुल्क, गत वर्षकोभन्दा १७ अर्ब बढी

  २०७७ जेठ ७ गते १४:१६     नबिन पाेखरेल

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६२ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४५ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब रुपैयाँको वृद्धि भएको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क २१ अर्ब २२ करोड रुपैयाँ तथा नविकरण बीमाशुल्क ४१ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

यस्तै, बैदेशिक रोजगारी बीमाशुल्क मार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बैदेशिक रोजगारमा जाने श्रमिकहरुको बीमाशुल्क बीमा कम्पनीहरुको पुल मार्फत हुँदै आएको छ ।

कोरोना महामारीका कारण हाल देशभर भइरहेको लकडाउनको कारण जीवन बीमातर्फ अभिकर्ताहरुको नविकरण शुल्क बुझाउँने म्याद थप गर्न बीमा समितिले निर्देशन दिएको थियो । लकडाउनकै कारण अभिकर्ताहरुले नविकरणकालागि बुझाउँने शुल्क भने बीमा कम्पनीहरुले उठाउन बाँकी छ ।

बीमालेख

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७५ लाख १२ हजार ६ सय ३० वटा बीमालेख बिक्री गरेका छन् ।

कर्मचारी संख्या

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको संख्या ५ हजार ५ सय ३४ रहेको छ ।

यस्तै, चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १ हजार ८ सय ४७ रहेको छ ।

कुन कम्पनीले संकलन गरे कति बीमाशुल्क ?

सरकारको स्वामित्वसमेत रहेको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षकोे चैत मसान्तसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६४ करोड, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १८ अर्ब ७० करोड र एलआईसी नेपालले १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

मेट लाइफले १ अर्ब ५४ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १० करोड, सूर्या लाइफले १ अर्ब ८५ करोड रुपैयाँ तथा गुराँश लाइफले १ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, प्राईम लाईफले २ अर्ब २१ करोड, आईएमई लाईफ ८८ करोड रुपैयाँ, युनियन लाइफले ३ अर्ब १९ करोड रुपैयाँ, ज्योति लाईफले १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुुुसार सन नेपाल लाइफले ८५ करोड रुपैयाँ, रिलायन्स लाइफले ७३ करोड रुपैयाँ, रिलायबल लाइफले १ अर्ब २५ करोड रुपैयाँ र सिटिजन लाइफले १ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सानिमा लाइफले ५७ करोड, प्रभु लाइफले ५२ करोड तथा महालक्ष्मी लाईफले ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.