देश रोइरहेको छ …

  २०७७ जेठ ७ गते १२:४८     पंकज कुमार (दास)

विगत ५७ दिनदेखिको लामो लकडाउनले हामी सबैलाई आफ्नो देशको माया र चिन्ताले सताएको छ । हालसम्म स्वास्थ्य मन्त्रालयको विवरणअनुसार कोरोना भाइरस (कोभिड-१९) महामारीले गर्दा ४०२ जनामा सङ्क्रमित देखिएको छ भने दुई सङ्क्रमितको मृत्यु समेत भइसकेको छ । धेरै लामो समय भइसक्यो हामी घर बसेको, त्यही भएर अनेकाैं किसिमका दोषारोपण गर्न भ्याएका छौँ । लामो समयदेखि कलकारखाना, स्कुल, अस्पताल, सरकारी अड्डाहरू, बैंंक, इन्सुरेन्स, यातायात तथा बजार पूर्णरुपले बन्द अवस्थामा छन् । धेरैले रोजगारी गुमाऐका छन् भने धेरैलाई छाक टार्न हम्यहम्य भएको अवस्था छ । हामीले कहिल्यै बिर्सनुहुन्न कि हामी दुई ठूला शक्तिशाली राष्ट्रको बीचमा रहेका राष्ट्र हौं भनेर, यो यथार्थता बिर्सन हुँदैन कि ठूला माछाले साना माछालाई पक्कै खान्छ वा यसो भनाैं कहिल्यै राम्ररी बस्न दिन्न ।

यथार्थ पनि यही नै हो कि दुई ठूला राष्ट्रले नेपाललाई जहिले पनि हेपेर, अस्थित्व नै मेट्ने गरी काम गरेको छ र हामी सबै मुकदर्शक भएर टोलाएर हेर्न बाध्य भयौं र हुन्छौं । अहिले पनि लिम्याधुरा, लिपुलेक, कालापानीजस्ता नेपालको भूभागमा सडक खन्नु र उद्घाटनसम्म गर्न भ्याउनु तथा हाम्रो देशको उच्च शिखर सागरमाथा हम्रो देशमा पर्छ भनेर चीनले आफ्नो राष्ट्रिय दैनिक पत्रिकामा छाप्नु त्यो पनि यस्तो कोरोना भाइरस (कोभिड-१९) माहामारीको अवस्थामा तथा संसार रोइरहेको बेलामा । यस हिसाबले हेर्दा हामीमध्ये कसैलाई थाहा छैन भोलि हाम्रो अस्तित्व रहन्छ कि रहँदैन । दुई ठूला राष्ट्रले अरुको भूमि र मातृत्वलाई सखाप पार्ने गरी हामीलाई हाम्रै मुलुकमा बन्दीको जीवन बाच्न बाध्य बनाउन खोजेका छन् ।

लेखक

सबैलाई थाहा छ, हामीलाई हाम्रो परिवारले राम्रो र नराम्रो खाले बानीको लागि हामीलाई सचेत तथा गाली गर्नु हुन्छ । झन्डै ३० लाख (भारत बाहेक) नेपाली संसारभरी छरिएर बसेका छन् र हाम्रै नेपाली छोराछोरीले पठाएको रेमिटेन्सले गर्दा देश आर्थिक संकटबाट जोगिएको यथार्थ सबैलाई अवगत नै छ । विदेशी भूमिमा बसेर काम गर्नसक्ने अवस्था नभएकाले आज खाडी मुलुकबाट झन्डै पाँच लाख नेपाली आफ्नै देशमा फर्किन खोजेको र गुहार गरेको अवस्था छ । हामीले उनीहरुलाई फर्किने व्यवस्था मिलाउन सकेका छैनौं ।

हिजो हाम्रो नेपाली दाजुभाइ, दिदीबहिनीले आफू ४५०/५०० तापक्रममा १४/१४ घण्टा काम गरेर आफ्नो परिवारलाई पाले, त्यसबेला हामीले उहाँहरुकै पैसाले हाम्रो अर्थतन्त्र धानेको छ भनेर भन्न हामी कन्जुस्याइँ गरेनाैं तर उनै नेपाली दाजुभाइ, दिदीबहिनी आज हामीसँग सहारा मागेका छन् तर हामी सहारा दिनसकिरहेका छैनौं । यो हाम्रो देशको लागि किन पनि आवश्यक छ भने देशको कुल रेमिटेन्समा खाडी मुलुकबाट भित्रिने रेमिटेन्सको ठूलै भूमिका छ । हामीले हाम्रो नागरिकको व्यवस्थापन जसरी भए पनि गर्नै पर्छ, अरु राष्ट्रले पनि आफ्नो नागरिकको व्यवस्थापन गरिरहेको यथार्थ हामीमाझ छ । प्रधानमन्त्रीले केही दिनअघि एक प्रसङगमा भन्नुभएको थियो-पहिले हामी मानव रहे पो अर्थतन्त्र जोगिन्छ, नरहे केको लगि अर्थतन्त्र चाहियो । प्रधानमन्त्रीको यो कुराले धेरैको मनलाई भावबिव्हल बनायो । देशको प्रधानमन्त्रीले नै यसरी निष्ठुरी कुरा गरेपछि विदेशमा कतिबेला स्वदेश फर्किन पाइएला भनेर आशा गरेका नेपालीको मनमा कस्तो चोट पुर्याउला ?

अब एकछिन छिमेकी राष्ट्र भारत र खुल्ला सिमानाको प्रसङ्गलाई जोडौं, प्रायःजसो सधैँ झै हामीले आज यति भित्रियो आज उति भित्रियो तर हाम्रो तीन दिशाका सिमाना खुल्ला छन् हामीमध्ये जो कोही पनि खुल्ला सिमानामा आवतजावत गर्न सक्छन् र जसरी पनि भित्रीहाल्छन् किनकी हाम्रो सरकारसँग यसलाई रोक्ने कुनै संयन्त्र नै छैन् ।

यस सङ्कटको घडीमा वा भनौं कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा नेपाल सरकारले सबैको नागरिकता तथा मतदाता परिचयपत्र चेकजाँच गर्ने ब्यवस्था मिलाउन सक्नु पर्दथ्यो, छरछिमेकी तथा घरमुलीले पनि कुनै हालतमा पनि गैरनेपाली नागरिकलाई आफ्नो घरभित्र पस्न दिनु भएन । ससँगसँगै सरकारको आज्ञा पालना नगर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही, दण्ड तथा सजाय को ब्यवस्था गर्नुपर्थ्याे । भएभरको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र बलजस्ता सुरक्षा निकायलाई तीनवटै नाकामा उचित ब्यवस्थाका साथ बस्ने तथा देशको अस्थित्व बचाउने जिम्मा दिनु पर्थ्याे । भित्री जिल्लाहरु तथा शहरहरुलाई सुरक्षा चाहिन्छ ? संसार नै मानव स्वास्थ्यको समस्याले जुधिरहेको बेला र रोइरहेका बेलामा पनि हामी एकजुट भएर सामना गर्ने प्रयत्नसम्म गरेनौं ? एउटा सानो उदाहरण लिऔँ, जस्तो कि घरमा कोइ मर्न थाल्यो भने हामी आफैं त्यसको ब्यवस्थापन गर्छौं, न की छिमेकीले गर्छन्, हाम्रो घरमा कसैलाई सरुवा रोग लाग्यो भने त्यसको ब्यवस्थापन पनि आफै गर्छौं तर सावधानीका साथ । आज हाम्रो देशलाई पनि पुनः सोच्नु पर्ने बाध्यता आइपरेको छ । संसारभरि छरिएर बसेका नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नै देशमा आउन पाउँ भनी गुहार गर्दैछन् हामीले हाम्रा नागरिकलाई आफ्नै देशभित्र बस्न दिनै पर्छ तर कडाईका साथ चेकजाँच गरी ।

हामी आफ्नो तर्फबाट सम्पूर्ण सावधानी राखी यो संकटसँग सबै मिली जुधौँ । देशभित्र तथा घरभित्र बसेर सरकारलाई सहयोग गरौँ । सरकारले पनि गरीब वा गरीबमुनि भएका नागरिकको पारदर्शी रूपले राहतको उचित ब्यबस्थापन मिलाउनै पर्छ, राहतमा कुनै सानो भूलचुक भयो भने हदैसम्मको कारवाही दिनुपर्छ । साथै, राहतका सम्पूर्ण काम बैंक/डिजिटल प्राविधिमार्फत गरिनुपर्छ, डिजिटल पूर्वाधार तथा २४ सै घण्टा विद्युत/बैकल्पिक ऊर्जाको ब्यवस्था  मिलाउनै पर्छ, हरेक क्षेत्रलाई मध्यनजर राख्दै विकासका खाका कोर्नै पर्छ । आफ्नै देशभित्र रहेका दक्ष जनशक्ति/विशेषज्ञलाई राखी कोरोना भाइरस (कोभिड-१९) माहामारी पछिको खाका बनाउनु पर्छ, । सबै मजदुरलाई समेट्ने गरी कृषि आधुनीकरण, हाइड्रो पावर तथा पूर्वाधार विकासका मोडेलहरू सिर्जना गरिनु पर्छ । संसारभरिका संघसंस्था तथा दातृ निकायलाई कोरोना भाइरस (कोभिड-१९) माहामारीबाट जोगिन आर्थिक तथा प्राविधिक सहयोग गर्न विनम्र अनुरोध गरिनुपर्छ् । यस्तो अवस्थामा एकले अर्कालाई आरोप लगाउनुभन्दा कसरी यो महामारीबाट बच्न सकिन्छ र देशलाई विकासको बाटोमा अविचलित अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई नै मूलमन्त्र बनाउनु पर्दछ । यस संकटको घडीमा देशलाई माया गर्न सिकौं, किनकी आज देश रोइ रहेछ ……..!

 लेखक- ऊर्जा बिज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.