कोरोना संक्रमणको निःशुल्क परीक्षणबाट पछि हट्यो सरकार, पीसीआर परीक्षणकाे कति लाग्छ शुल्क ?

  २०७७ जेठ ६ गते १७:२८     विकासन्युज

काठमाडौं । कोरोना संक्रमण शंका गरिएका नागरिकको निःशुल्क परीक्षण गर्ने अहिलेको व्यवस्थाबाट सरकार पछि हटेको छ । परीक्षणको दायरा फराकिलो बनाउने भन्दै सरकारले न्यूनतम शुल्क तिरेर आफै परीक्षण गर्न पाइने व्यवस्था गर्न लागेको हो ।

कोरोना संक्रमण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले न्यूनतम शुल्क तिरेर आफै पनि परीक्षण गराउन सकिने व्यवस्था मिलाइएको जानकारी दिए । यसअघि संक्रमण शंका गरिएका र कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरुलाई सरकारले निःशुल्क परीक्षण गर्दै आएको थियो ।

‘पीसीआर परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा ताेकिएकाे शुल्क तिरेर जाँच गराउन पाउने व्यवस्था गरेका छौं, ’ डा. देवकोटाले भने । काेराेना संक्रमणकाे लक्ष्यण नदेखिएका व्यक्तिले परीक्ष्यण गर्न चाहेमा शुल्क तिरेर गराउन पाइने व्यवस्था सरकारले मिलाएकाे हाे । लक्ष्यण देखिएका व्यक्तिकाे भने सरकार अहिले कै व्यवस्था अनुसार निःशुल्क परीक्षण गराउने छ ।

यसरी जाँच गराएपछि पीसीआर परीक्षणको दायरा फराकिलो हुने मन्त्रालयको भनाइ छ । एक व्यक्तिको एक पटक पीसीआर परीक्षण गर्न करिब १० हजार रुपैयाँ लाग्ने बताइएको छ । तर, सरकारले कति मूल्यमा र कुन कुन स्वास्थ्य संस्थामा परीक्षण गराउन पाइने भन्ने सन्दर्भमा भने थप जानकारी दिएको छैन । यस्ताे परीक्षणकाे शुल्क सम्बन्धित स्वास्थ्य संस्थाले नै ताेक्न पाउने डा. देवकाेटाले बताए ।

अहिलेसम्म सरकारले संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका तथा लक्ष्यण देखिएका व्यक्तिहरुको मात्रै कोरोना परीक्षण गर्ने गरी निर्देशिका बनाएर कार्यान्वयन गरिरहेको थियो । अहिलेसम्म संक्रमण पुष्टी भएकाहरुलाई सरकारले उपचार गरिरहेको छ । आफैले परीक्षण गराउँदा कोरोना भाइरस पोजेटिभ देखियो भने सरकारले नै उपचार गर्ने हो कि व्यक्ति स्वयमले नै गर्ने हो भन्ने विषय पनि प्रष्ट भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.