विदेशमा रहेका २५ प्रतिशत भन्दाबढी नेपालीकाे राेजगारी गुम्ने

  २०७७ जेठ ६ गते ९:३९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारीमा रहेका २५ देखि ३० प्रतिशत श्रमिकको रोजगारी गुम्ने आँकडा तयार भएकाे छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सार्वजनिक गरेको प्रतिवेदन कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २५ देखि २३ प्रतिशत रहेको संघले जनाएको छ। भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने संघका महासचिव सजित कुमार श्रेष्ठले बताए ।

करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ। कोरोनाका कारण संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा धेरै कामदारले रोजगारी गुमाएका छन्। संघको प्रतिवेदन अनुसार ती देशमा ३०/३० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएका छन्। यूएईमा ४ लाख र मलेसियामा ५ लाख श्रमिक कार्यरत छन्।

कतार र साउदीमा २०/२० प्रतिशतले रोजगारी गुमाउने संघले प्रतिवेदन सार्वजनिक गरेको छ। कतारमा ४ लाख २५ हजार साउदीमा ३ लाख ८० हजार श्रमिक कार्यरत छन् ।
संघका अनुसार कुवेतमा १५ प्रतिशत, बहराइनमा १२ प्रतिशत, ओमनमा १० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएको प्रतिवेदनमा उल्लेख छ। कुवेतमा ८० हजार, बहराइनमा ३५ हजार र ओमनमा १७ हजार ५ सय जना कामदार कार्यरत छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ७५ प्रतिशत नेपाली अदक्ष कामदारको रूपमा छन् । कोरोना भाइरस कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेस्टुरेन्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनमा जनाइएको छ । त्यस्तै भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काउनु पर्नेछ ।

कोभिड १९ ले पर्यटन क्षेत्रमा परेको परेको असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्ट लगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ । तेलको मुल्यमा आएको परिवर्तनसँगै मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने संघको प्रारम्भिक आँकलन छ ।

रोजगारदाताले भिसा दिई विदेश अनुमति प्राप्त गरि गरेका १ लाख १५ हजार कामदार कोरोना महामारीको कारणल विदेश जान पाएका छैनन्। त्यस्तै पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदारको प्रक्रिया पनि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.