पूर्व अर्थमन्त्री कार्कीको प्रस्तावः गरिब नेपालीलाई मासिक ५ हजारको दरले नगद दिऊँ

  २०७७ जेठ ५ गते १६:०५     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले नगद राहत दिन प्रस्ताव गरेका छन् ।प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नेता कार्कीले यस्तो प्रस्ताव गरेका हुन् । सरकारले जारी गरेको लकडाउनको कारण रोजगारी गुमाएका तथा दैनिक ज्यालादारीमा परिवारको छाक टार्दै आएका व्यक्ति तथा परिवारलाई समस्या भएकोले प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले राहत दिनुपर्ने बताए ।

‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लागि १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु । यसले उनीहरुको जनजीवीकालाई सहज बनाउन सहयोग पुग्छ,’ पूर्व अर्थमन्त्री कार्कीले भने ।

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमले कोरोना संक्रमण संकटबाट उत्पन्न परिस्थितिको सामना गर्न गाह्रो हुने पनि उनको धारणा छ । पीसीआर टेष्टको परीक्षण बढाउने वित्तिकै कोरोना संक्रमितको संख्या बृद्धि भएको छ तथा कोरोना संक्रमणकै कारण दुई जनाको ज्यान गइसकेको सन्दर्भ उल्लेख गर्दै उनले पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको बताए ।

‘यस्तो असमान्य परिस्थितिमा ६३ पेजको २७६ बुँदाको सामान्य नीति तथा कार्यक्रम ल्याएको छ, यो बेला भारतको प्रख्यात साहित्यकार सर्वेश्वर दयालको कविताको याद आएको छ,’ नेता कार्कीले भने ।

त्यसपछि नेता कार्कीले भारतीय साहित्यकार दयालको कविताको भावानुवाद सुनाए, जुन यस्तो थियोः

यो दुनियाँमा मावनको जीवनभन्दा ठूलो केही छैन ।
न इश्वर, न ज्ञान, न चुनाव
यदि तिम्रो घरको एउटा कोठामा आगलागी भयो भने
तिमी दोस्रो कोठामा सुत्न सक्छौं ?

यदि तिम्रो घरको एउटा कोठामा लासहरु सडिरहेका छन्, भने
तिमी दोस्रो कोठामा प्रार्थना गर्न सक्छौं ?

के तिमी यी कुराहरु सुन्न सक्छौं, सुन्न सक्दैनौं भने मैले भन्नु केही छैन …।

कार्कीले यति कविता वाचन गरेपछि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न थाले । सो कवितामा उल्लेख गरिए जस्तै अवस्थामा अहिलेको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, यसले अहिलेको समस्याको समाधान गर्न सक्दैन भन्ने कार्कीको निक्र्योल छ। अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रीत हुनुपर्छ भन्दै उनले तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको बताए । यसले थप विकराल अवस्था सिर्जना गर्न सक्ने कार्कीको अनुमान छ ।

उनले यथार्थतालाई आत्मसात गरेर कार्यान्वयनमुखी बजेट ल्याउन आग्रह गरे । मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउनु पर्ने कार्कीको भनाइ छ ।

यस्तै, लिम्पियाधुरा, लिपेलुक र कालापनी नेपाली भूमी हो भन्दै उनले यो सधैं नेपालकै रहनुपर्छ भने । तर यो विषय सस्तो लोकप्रियतामा मात्र सीमित राख्न नहुने उनको भनाइ छ ।

एमसीसीलाई सत्तारुढ दलभित्रको विवादको विषय बनाइएको प्रति पनि कार्कीले असन्तुष्टि जाहेर गरे । एमसीसी चाँडै सदनमा पेश हुनुपर्ने र घनिभूत छलफल हुनुपर्ने उनको भनाइ छ । यो सरकारले जनतालाई रोग र भोकबाट जोगाउनु पर्ने कार्कीको भनाइ छ ।

सम्बन्धित सामग्री

सबै नेपालीलाई मासिक ५ हजार ऋण दिऊँ, यसरी जुट्छ पैसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.