भारत र चीनबाट आउने तरकारी प्रतिस्थापन गरौं, सहज रुपले बाँचिन्छः विनोद चौधरी(भिडियाे सहित)

  २०७७ जेठ ५ गते १५:२५     विकासन्युज

काठमाडाैं । संघीय संसदका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीले भारत र चीनबाट आउने तरकारी प्रतिस्थापन गर्न सकेमात्रै सहज रुपले बाँच्न सकिने बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद चौधरीले अब सरकारले भारत र चीनबाट आयात हुने तरकारीलाई प्रतिस्थापनमा ध्यान दिनुपर्ने बताए ।

उनले बेरोजगारी अबको ठूलो चुनौती रहेको भन्दै विदेशबाट फर्केका युवाहरुलाई कृषिमा लगाउन पर्ने बताए । उनले अब आजकाे प्राथमिकता बाच्नु र बचाउनु नै रहेको उल्लेख गरे ।

‘रोजगारी, गुम्दैछन्, उद्योगधन्दा बन्द छन्, सडकमा उभिएका दिनहुँ काम गरेर हातमुख जोड्नुपर्ने बाध्यता भएका कामदार कामविहीन रहेका छन्,  नाङ्लो पसले, रिक्सा चालकदेखि लिएर समाजको हरेक वर्ग कोभिड १९ र कोभिड भन्दा अगाडि भोकमरीले मरिने हो कि भन्ने त्रास छ,’ उनले भने ।

उनले निम्न आय भएका श्रमिक, मजदुर र कामकाजीलाई कोरोनासँगसँगै भोकबाट बचाउन आवस्यक रहेकामा जोड दिएका छन् । “सरकारले नीति तथा कार्यक्रममा थुप्रै नयाँ र पुराना योजना ल्याएको छ,” प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै सांसद चौधरीले भने, “तर, दैनिक हातमुख जोर्न इलम गर्ने नागरिकको सुरक्षामा हामी संवेदनशील हुनुपर्ने अवस्था आएको छ । रिक्सा चलाउने, मजदुरी गर्ने, नाङ्लो पसल गर्ने वर्ग कोरोनाभन्दा पहिले भोकबाट मरिने त्रासमा बाँचिरहेको छ । उनीहरूलाई जोगाउने पहल गर्न ढिला गर्नु हुदैन ।”

अहिलेको प्राथमिकता पहिले बाँच्नु र बचाउनु रहेको भन्दै चौधरीले गुमेका रोजगारी, बन्द उद्योगधन्दालाई जीवित राख्न तत्काल सरकारले कदम चाल्नुपर्ने बताए । ‘अहिले भइरहेका उद्योगधन्दा बन्द भइराख्ने हो भने भोलि नयाँ उद्योग खुल्लान् र अर्थतन्त्र सबल होला भनेर सोच्नु दिवा स्वप्न मात्रै हो ।’

विदेशबाट फर्किएर आउने र स्वदेशकै श्रमबजारमा थपिने युवालाई कृषिमा सहभागी बनाउन सकिने नीतिको चौधरीले समर्थन गरे । कृषि क्षेत्रलाई बलियो बनाउन सकियो र भारत र चीनबाट आयात हुने तरकारी/फलफूलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन सकियो भने नेपालको अर्थतन्त्रले काँचुली फेर्न सक्ने उनले बताए । भारत र चीनका कृषि उपजभन्दा नेपालको उत्पादन ३० प्रतिशतभन्दा महँगो पर्ने तथ्यांक उनले राखे ।

‘नेपालमा कृषियोग्य जमिन, उत्पादन लागतजस्ता ठूला समस्या छन् । सिँचाइका सामग्री र रासायनिक मलको अनुदान नगन्य छ, सरकारले कृषिमा खुला हृदयले अनुदान अगाडि बढाएन भने आयातीत कृषि उपजभन्दा नेपालकै उत्पादन महँगो भइरहन्छ,’ उनले भने, ‘जापान र अमेरिकाजस्ता मुलुकले कृषिमा खुला हृदयले अनुदान दिएका छन् । तर हामीले भने किसानलाई अनुदान कटौती गरेका छौँ । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विश्व बजारमा प्रतिस्पर्धी उत्पादनका लागि सबल बनाउनु हाम्रो दायित्व बनेको छ । तबमात्र यो क्षेत्रमा क्रान्ति आउँछ ।’ सामुदायिक वन अवधारणाले संसारलाई प्रेरित गरेको उदाहरण दिँदै कृषिमा पनि त्यस्तै अवधारणाले काम गर्न सकिए मुलुकको अर्थतन्त्रले कोल्टे फेर्ने चौधरीले बताए ।

 

One comment on "भारत र चीनबाट आउने तरकारी प्रतिस्थापन गरौं, सहज रुपले बाँचिन्छः विनोद चौधरी(भिडियाे सहित)"

  • Farmers Leader कृषक अगुवा Dev Dhawal says:

    मनानिया नि कृषकलाई सम्मानित गर्ने योजना बनाउनु हुन्छ कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.