बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन बृद्धिदर घट्यो, रेमिटान्स पनि घट्यो

  २०७७ जेठ ५ गते १३:०३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा संकलन हुने निक्षेप र प्रवाह हुने कर्जाको बृद्धिदर कम भएको छ । गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको चैत मसान्तसम्म निक्षेप संकलन र कर्जा प्रवाहको बृद्धिदर कम भएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत चैत मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिदर करिब १ प्रतिशतले घटेको हो ।

गत चैत मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो । गत चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

चैत मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालु आवको चैत मसान्तसम्ममा कर्जा प्रवाहको बृद्धिदर ५ प्रतिशतले कम देखिएको हो ।

बैंक तथा वित्तीय संस्थाको गत चैत मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत वर्षको चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो ।

रेमिटान्स

गत चैत मसान्तसम्मको अवधिमा विप्रेषण (रेमिटान्स) आप्रवाहमा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।

चैत मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो । एक वर्षको अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई ७ खर्ब १३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो ।

चालु खाता १ खर्ब ३५ अर्ब घाटामा, शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड बचतमा

एक वर्षको अवधिमा चालु खाता घाटा १ खर्ब ३५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १८ करोड रहेको छ ।

पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ ।

निर्यात १३ प्रतिशतले बढ्यो, आयात साढे ७ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २५.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१ प्रतिशत र ७.५ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.३ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१ प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३ प्रतिशत र १.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा कमी आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

व्यापार घाटा ९ खर्ब

चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई ९ खर्ब ३ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले वृद्धि भएको थियो ।

निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.६ प्रतिशत रहेको थियो ।

गत चैत महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.२ प्रतिशतले घटेको छ । २०७५ चैत महिनामा वार्षिक बिन्दुगत आधारमा १.९ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ चैत महिनामा ३.९ प्रतिशतले बढेको छ ।

मूल्यबृद्धि करिब ७ प्रतिशत

गत चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यबृद्धि ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.