‘बीउ र मल’ नपाए भोकमरीको भाइरस आउँछ

  २०७७ जेठ ५ गते ९:४२     विकासन्युज

काठमाडौं । भोक नै सबैभन्दा ठूलो रोग हो । धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् । भैरहवामा आइतबार आयोजित कार्यक्रममा भेला भएका जनप्रतिनिधिले बीउबिजन समयमै नपाए मुलुकमा भोकमरी आउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा १६ पालिकाका प्रमुखले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रम ल्याउन सरकारलाई आग्रहसमेत गरेका छन् । कृषिको पकेट क्षेत्र जिल्लाको मर्चवार क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य बसीउद्धिन खानले किसानलाई यतिबेला बीउको समस्या रहेको जनाउँदै सहज ढंगले उपलब्ध हुने गरी योजना बनाउनुपर्ने बताए । मर्चवारकै प्रदेशसभा सदस्य अष्टभुजा पाठकले कृषिमा विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बेला आएकामा जोड दिए ।

प्रदेशसभा सदस्य सुनिताकुमारी ठठेरले गाउँ फर्केकाहरुलाई सामाजिक दूरी कायम गर्दै कृषि उद्यममा लगाउनुपर्ने बताए । अर्का प्रदेशसभा सदस्य पुष्पा चौधरीले खेती गने समयमा बीउ र मल अभाव भए भोकमरीको भाइरस सिर्जना गर्ने बताएका छन् । प्रदेशसभा सदस्य सन्तोष पाण्डेले कृषिमा सरकारको विशेष योजना आवश्यक रहेकामा जोड दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अध्यक्षतामा सम्पन्न जिल्लास्तरीय कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकमा सहभागी प्रदेशसभा सदस्यले मात्रै होइन गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखले पनि कोभिड –१९ सँग जुध्दै गर्दा कृषि क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताए । सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले तत्कालै बीउको व्यवस्थापनमा सरकार लाग्नुपर्ने सुझाव दिए ।

शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले कोरोेनाविरुद्ध एक भएर लडिरहँदा कृषिको विकासका लागि पनि एक हुन जरुरी रहेको धारणा राखे । सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले कृषिका लागि साल्ट ट्रेडिङ र कृषि सामग्री लिमिटेडसँग मलखाद र बीउ भए तापनि वितरण नगर्दा समस्या भएको बताए । कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले क्वारेन्टिन अवधि पूरा गरेका प्रवासीलाई कषि क्षेत्रमा क्रियाशील बनाउने योजना आवश्यक रहेको जनाए ।

बैठकमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे, सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, देवदह नगर प्रमुख हिराबहादुर केसी, सैनामैना नगर प्रमुख चित्रबहादुर केसी, गैडहवा गाउँपालिका अध्यक्ष बछुलाल केवट, मर्चवारी गाउँपालिका अध्यक्ष केशवानन्द बानियाँ, कोटही गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवलगायत जिल्लाका १६ पालिकाका अध्यक्ष र १० प्रदेशसभा सदस्यले कृषिमा वैज्ञानिक योजनासहित अगाडि बढ्न नसके भोकमरी आउने खतरा रहेको धारणा राखे ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक दूरीलाई कायम गर्दै कृषि कर्मलाई निरन्तरता दिने गरी पालिकास्तरमा काम अगाडि बढाउन आग्रह गरेका थिए । यसअघि मन्त्रिपरिषद्को बैठकले प्रदेश नं ५ मा कोभिड कृषि विशेष कार्यक्रम घोषणा गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.