फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गरिँदै

  २०७७ जेठ ४ गते १२:३९     विकासन्युज

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ ।  स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र निर्माण थालिएको हो ।

नगरपालिकाले एउटै ढाँचाका संकलन केन्द्र निर्माण गर्ने गरी रु तीन लाखका दरले ३३ लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको व्यास नगरपालिकाले जनाएको छ । व्यास बजार क्षेत्रमा रहेका २, ३ र ४ वडामा नगरपालिकाले नै कृषकका लागि बिक्रीवितरण गर्ने विक्रीकक्ष बनाउन प्रक्रिया अघि बढाइसकेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

पर्यटन र उद्योगले गति लिन नसक्ने अवस्था आएपछि फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनासहित नगरपालिकाले पहल कदमी थालेको उनले बताए । वडा कार्यालयमा कृषि क्षेत्रका लागि न्यूनतम १० लाख रूपैयाँ  नघटाई आगामी बजेटमा सम्बोधन गर्ने योजना छ ।
व्यास–१ का वडाध्यक्ष खरसिं दरैले वडामा निर्माण गरिएको संकलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको बताए । व्यास–१ स्थित बुल्दीखोला पुल नजीकको ओरालामा तीन कोठाको संकलन केन्द्र निर्माण गरिएको उनले बताए ।

वडामा फलफूल तथा तरकारी संकलन केन्द्र नहुँदा खुला आकाशमुनि घामपानी र हावाहुरी नभनी सडक किनार छेउमा बसेर बिक्रीवितरण गर्नुपर्ने सर्वसाधारणको बाध्यता थियो । व्यास– ७ मा भने लकडाउनका कारण संकलन केन्द्र निर्माण प्रभावित भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

क्वारेन्टिनमा बस्ने बढ्दै
जिल्लामा क्वारेन्टिनमा बस्ने बढ्दै जान थालेका छन् ।  वैशाखको अन्तिम सातामा न्यून हुँदै गएकामा पुन : थपिने क्रम बढ्न थालेको छ । वैशाख २८ गतेसम्म ३८ जना क्वारेन्टिनमा रहेकामध्ये ३१ जना घर फिर्ता भई सात जना मात्रै क्वारेन्टिनमा बस्दै आएका थिए ।

गत बिहीबार र शनिबार तीनतीन जना थपिएपछि क्वारेन्टिनमा बस्नेको संख्या एक महिलासहित १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जिल्लामा हालसम्म शङ्कास्पद ८ सय ६२ मध्ये ५ सय ७० पुरुष र ८२ महिला गरी ६ सय ५२ को आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ को स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र पाँचको आउन बाँकी रहेको प्रमुख अधिकारीले बताए । जिल्लाका क्वारेन्टिन व्यास, घिरिङ र देवघाट गाउँपालिकामा तीनतीन तथा भानुनगरपालिका र आँबुखैरेनी गाउँपालिकामा दुईदुई गरी तेह्र जना छन् । जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४ सय ९३ महिलासहित एक हजार ९ सय ७ जनाको तापक्रम मापन गरिसकिएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.