महामारीको त्रास कम हुने वित्तिकै आक्रामक रुपमा व्यवसाय विस्तार गर्न तयार भएर बस्ने बेला हो

  २०७७ जेठ १ गते १२:२८     विकासन्युज

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका शिवनाथ पाण्डे अहिले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । चार्टर्ड एकाउन्टेन्ट पाण्डे नेपाल जीवन बिमक संघका अध्यक्ष पनि हुन् । बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा जीवन बीमा क्षेत्रमा देखिएका चुनौति तथा अवसर, बीमा समितिको काम कारबाहीको समीक्षा लगायतका समसामयिक विषयमा सूर्या लाइफ इन्स्योरेनस कम्पनीका प्रमुख कार्यकारी अधिकृत थत जीवन बिमक संघका अध्यक्ष पाण्डेसँग गरिएको कुराकानीः

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५२औं वाषिएकोत्वस मनाउँदैछ, यो अवस्थामा नेपाली बीमा क्षेत्रको मूल्यांकन कसरी गर्नुहुन्छ ?

सर्वप्रथम त नियामक निकाय बीमा समितिलाई ५२औं वार्षिकोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाली बीमा क्षेत्रको कुरा गर्दा सुरुवातदेखि नै बीमा समिति समितिकै रुपमा रहदै आएको छ । केही समयअघिसम्म पनि बीमाको पहुँच ७/८ प्रतिशतमै सिमित थियो । अहिले वैदेशिक रोजगारको समेत तथ्याङ्क हेर्दा बीमाको पहुँच २७ प्रतिशत पुगिसकेको छ ।

कोरोनाको असर नदेखिएको भए यो आर्थिक वर्षको अन्त्यसम्मा बीमाको पहुँच ३० प्रतिशत पुर्याउने लक्ष्य बीमा समितिले लिएको थियो । समितिको लक्ष्य अनुसार बीमा कम्पनीसहित सम्बद्ध पक्षले सोअनुसारका कार्य तय गरी काम गरिरहेका पनि थिए ।

नेपालमा बीमा ज्ञानको अवस्थामा अहिले ठूलो फड्को मारेको अवस्था छ । बीमा पहुँच बृद्धिमा २ वर्ष पहिले समितिले दिएको बिमकको नयाँ लाइसेन्सले पनि काम गरेको देखिएको छ । जीवन बीमाको कुरा गर्दा पहिला ९ वटा बीमा कम्पनीहरु थिए । पछिल्लो समय १० वटा कम्पनीहरुले लाइसेन्स पाए ।

कम्पनीको संख्या बढेसँगै व्यवसायमा प्रतिस्पर्धा बढेको छ । हिजोको दिनमा शहरी तथा अर्धशहरी क्षेत्रमा काम गरिरहेका कम्पनीहरु अहिले गाउँ–घर तथा दूर–दराजमा पुग्न थालेका छन् । सोही अनुसार बीमा चेतना पनि बढेको छ । कम्पनीको संख्यात्मक बृद्धिले बीमाको संञ्जाल बिस्तारदेखि रोजगारीको सिर्जना र बीमा पहुँचमा पनि वृद्धि भएको छ । जीवन बीमा कम्पनी १९ वटा पुग्दा कर्मचारीका रोजगारीदेखि राज्यले पाउँने करहरु समेत बढ्न थालेको छ ।

म आफैं पनि बीमा क्षेत्रमा प्रवेश गरेको ३ वर्ष मात्रै भयो । योबीचमा सल्भेन्सी रेसियोको कुरादेखि ,एनएफआएस लागू गर्ने, लगानीको क्षेत्र फराकिलो बनाउँने लगायतका सकारात्मक कामहरु धेरे भएका छन् । लगानी क्षेत्र फराकिलो भएको कारण बीमा कम्पनीहरुले प्रोजेक्ट फाइनान्सिङ गर्न पनि पाएका छन् ।

यस्तै, बीमा समितिकै पहलमा यो क्षेत्रसँग सम्बन्धितहरुको क्षमता अभिबृद्धिको लागि तालिमको सुरुवात भएको छ । बीमा एकेडेमी मार्फत दक्ष जनशक्ति उत्पादन गर्न तालिमले सघाउ पुर्याउछ । त्यस्तै, अभिकर्ताहरुले नै व्यवसाय भित्र्याउने भएकाले बीमा क्षेत्रको फ्रन्ट लाइनमा रहने अभिकर्ताहरुलाई समेत राम्रो तालिम दिन आवश्यक हुन्छ । अहिले अभिकर्ताहरुले पाउँने इन्सेन्टीभमा समेत पहिलेको तुलनामा वृद्धी भएको छ ।

नयाँ बीमा ऐनको लागि संसदीय समितिमा विधेयकमाथि छलफल चलिरहेको छ । पहिलेको बीमा समिति र अहिलेको बीमा समितिमा निकै फरक छ ।

जीवन बीमा कम्पनीकै तर्फबाट हेर्दा पनि करिब ३ खर्ब निक्षेप बैंकहरुमा राखिएको छ । त्यसले अर्थतन्त्रमा सघाउ पुर्याएको छ । त्यसबाट उद्योगधन्दा, राज्यको कर, अप्रत्यक्ष रुपमा बैकको लगानीका पाटोमा बीमा क्षेत्रले महत्वपूर्ण भुमिका खेलिरहेको छ । त्यसैले अहिलेको अवस्थामा नेपाली बीमा क्षेत्र राम्रो अवस्थामा रहेको महसुस गर्न सकिन्छ ।

बिमकको संख्यात्मक बृद्धिले नै बीमाको पहुँच बढेको भन्नुभयो, तर संख्यात्मक बृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना भएको भन्ने गुनासो पनि आउन थालेका छन्, यसमा बीमा समितिले कसरी काम गरिरहेको महसुस गर्नुभएको छ ?

कुनैपनि कुराको राम्रो–नराम्रो दुवै पक्ष हुन्छन् । त्यस्तै सबैले सिक्दै जाने पनि हो । अहिले बीमा पहुँच जुन रुपमा विस्तार भएको छ, यसको एउटा कारण कम्पनीहरुको संख्यात्मक बृद्धि पनि हो । नयाँ कम्पनी नथपिएका भए अर्धशहरी र ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तार हुन अरु थप समय लाग्थ्यो । बीमा क्षेत्रमा बीमा कम्पनीले पाएको लाइसेन्स, बीमा समितिले ल्याएका बीमा चेतनाका कार्यक्रम, विद्यार्थीहरु माझ पुगेका बीमा, घुम्ती बीमा लगायतका कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ ।

यस्तै, केही अस्वस्थ प्रतिस्पर्धाको सवालमा भने नियामक निकाय आफैले नियमन गर्दै आएको छ । समितिले सर्कुलर मार्फत पनि कम्पनीहरुलाई यसो गर, त्यसो नगर भन्न सक्छ । फेरि बीमा क्षेत्रमा नियामक बाहेक धेरै सरोकारवालाको संलग्नता रहन्छ । जस्तो कि एक्चुरी, अडिटर, अभिकर्ता, संचारमाध्यमहरु तथा कर्मचारी युनियनहरु व्यवस्थापनको कामको मूल्यांकनमा हुन्छन् । यस्तै, संचालक समितिले पनि हेरिरहेको हुन्छ । यति धेरै संयन्त्रले प्रत्यक्ष रुपमा नै मुल्याङ्ककन गर्न सक्ने ठाउँ बीमा क्षेत्र रहेकाले अस्वस्थ प्रतिस्पर्धा र नकारात्मक कामको मौका नै रहदैन ।

बरु बीमा क्षेत्रमा अलि बढी प्रतिस्पर्धा भएको अवस्था भने हो । बढी प्रतिस्पर्धा हुँदा सावधानीका केही विषयमा केही हदसम्मको कम्प्रमाइज भयो कि भनेर शंका गर्न सकिएला । तर अस्वस्थ प्रतिस्पर्धा भने भएको छैन । पब्लिक कम्पनीमा अस्वस्थ काम गर्न कसैले चाहेर पनि त्यति सहज हुदैन ।

प्रतिस्पर्धा अलि बढी हुन सक्छ भन्ने विषयमा बीमा समितिले पनि अनुभूत गरेको जस्तो देखिन्छ । नयाँ कम्पनीलाई लाइसेन्स दिएर समितिले मर्जर र एक्वीजीसन सम्बन्धी कानुनी व्यवस्था सार्वजनिक गर्यो । समितिको यस्तो कार्यले पनि मर्जर र एक्वीजीसनलाई प्रोत्साहन गरेर कम्पनीको संख्या कम गर्न सहयोग गर्छ ।

तपाईं आफै पनि लामो समयसम्म नियामक निकाय नेपाल राष्ट्र बैंकमा बसेर काम गर्नुभयो, नियामकको रुपमा बीमा समितिलेले अहिले के कस्तो चुनौतिको सामना गरेको महसुस गर्नुभएको छ ?

अहिले ४० वटा बीमा कम्पनीहरु संचालनमा छन् । कम्पनीका शाखा संजाल पनि धेरै छन् । त्यसैले बीमा समितिलाई कामको चाप भने परेको छ । तर, पनि समितिमा दक्ष जनशक्ति छ । समितिले प्रोफेसनल सिए, बीमा विज्ञ राखेर काम गर्दै आएको छ । पछिल्लो समय बीमा समितिले आवाशीय एक्चुरी समेत राखेको अवस्था छ । अनसाइड र अफसाइड निरीक्षण भइरहेको छ । नियामक निकायबाट हुने निरिक्षण र सुपरीवेक्षणले कम्पनीहरुलाई काम गर्न अझ बढी हौसला र आँट प्राप्त हुन्छ । कुनै गल्ती कमजोरी भए तत्काल सच्याउन सहयोग पुग्छ । नियामक निकायबाट प्राप्त हुने मार्गदर्शनलाई बीमा कम्पनीहरुले सुध्रिनै मौकाका रुपमा लिएका हुन्छन् ।

समितिले बीमा कम्पनीहरुबाट बीमा शुल्कको एक प्रतिशत रकम सेवा शुल्कको रुपमा लिने गरेको छ । यस्तै, केही विदेशी परियोजना पनि छन् । यस्तो कार्यले गर्दा समितिसँग आर्थिक स्रोतको अभाव पनि खासै देखिदैन ।

कम्पनीहरुको नियमनको सवालमा पनि कम्पलायन्स बेस्डबाट रिक्स बेस्डमा जाने भनिएको छ । यो पनि राम्रो कुरा हो । कम्पनीहरुको चुक्ता पुँजी २५ करोड तथा ५० करोड रुपैयाँबाट बढाएर १ अर्ब तथा २ अर्ब रुपैयाँ पुर्याइएको छ ।

यति भन्दाभन्दै पनि बीमा समितिले शाखा तथा क्षेत्रीय कार्यालय खोल्नु पर्ने काम बाँकी होला । जनशक्तिलाई अझै दक्ष बनाउनु पर्ने होला । विभिन्न समयमा देखिने नयाँ प्रकारका चुनौतिको सामना गर्न आफूलाई तयार अवस्थामा राख्नुपर्ने होला ।

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको छ, यसबाट नेपाल अछुतो रहेको छैन । यसले जीवन बीमा क्षेत्रमा के कस्तो असर पारेको छ ?

यो अप्रत्यासित रुपमा आएको दैबीप्रकोप हो । बीमा कम्पनीहरुलाई यस्ता प्रकोपको बारेमा जानकारी लिएर आगामी दिनमा कसरी व्यवसाय बचाउने भन्ने कुरा सिक्न पाइयो । केही चुनौती त पक्कै छन् ।

हामी विश्व अर्थतन्त्रबाट अछुतो बनेर बस्नै सक्दैनौ । प्रत्यक्ष रुपमा जीवन बीमामा फ्रन्टलाईनबाट व्यवसाय ल्याउने अभिकर्ताहरु चैत ११ देखि लकडाउनमा छन् । अहिले भच्र्युअल मिटिङ् तथा डिजीटल सेमिनार भएको छ ।

अभिकर्ताहरुले पास पाएका छैनन् । यस्तो अवस्थामा बीमाको व्यवसाय प्रभावित हुन पुगेको छ । जेठपछि पनि व्यवसाय साधारण हुन सक्ने नसक्ने एकिन गर्न सकिने अवस्था छैन । व्यवसायकै लागि भनेर लकडाउन खुकुलो बनाउँन पनि मिलेन । कहिकतै लकडाउन खुकुलो जस्तो बनाउँदा विभिन्न केस दोहोरिएका छन् । विदेशी मुलुकहरुमा पनि लकडाउन दोहोरिएका छन् ।

गत अर्थिक वर्षको चैत, वैशाखमा जे जस्तो कमाई अहिले हुन सक्दैन । बीमा कम्पनीहरुले बीमाशुल्क संकलन गरेर बैकमा राखेर पाउँने व्याज, अभिकर्ताहरुको नविकरणहरुबाट पाइने शुल्क तत्कालका लागि रोकिदा बीमा कम्पनीहरुलाई व्यवसायिक असर परेको छ ।

यस्तै, बैक तथा वित्तीय संस्थाले दिएको व्याजदर साढे ९ प्रतिशतबाट घटेर साढे ७ प्रतिशतमा आएको छ त्योपनि आगामी वर्षका लागि घाटा नै हो । अर्कोतर्फ चैतदेखि बैखाशसम्म बीमा कम्पनीहरुले गर्नेपर्ने खर्चहरु कर्मचारी तलब, भाडा तथा अन्य नै मासिक करोडौं हुन्छ ।

कोरोना महामारीले संस्थागत रुपमा सिकाएको कुरा के हो ?

कोरोना महामारीले हामीलाई सिकाएको पहिलो कुरा भनेको यस्तो अवस्थामा संस्थालाई कसरी निरन्तरता दिने भन्ने भन्ने हो । दोस्रो कुरा, कर्मचारीको बिदा, बिदा व्यवस्थापन छुटलगायतका कुराहरुपनि महत्वपूर्ण हुन्छन् भन्ने देखियो । कर्मचारी व्यवस्थापनको लागि ऐन, व्यवस्था, मार्गदर्शन, विनियमावलीहरु मार्फत हामीले धेरै कुरा सुधार गर्नु पर्छ भन्ने देखायो ।

अर्को भनेको प्रविधिको प्रयोग हो । कोरोना महामारीकै बेला डिजीटल प्लेटफर्ममार्फत हामी बढ्नु पर्छ भन्ने कुराको ढोका खुलेको हो ।

अब मान्छेलाई कुनैपनि बेलामा जोखिम आउँन सक्छ भन्ने कुराको सकारात्मक प्रभाव परेको छ । अब बीमा गर्नुपर्छ भन्ने कुराको जागरुकता पनि आएको छ । भोलि केही समयपछि अवस्था समान्य भएपनि कुनै किसिमका बीमाप्रति मानिसहरु सकारात्मक रहने देखिन्छ ।

अहिले बीमा समितिले के गर्दे हुन्थ्यो जस्तो लाग्छ ?

हामीले आफ्ना अपेक्षालाई लिपिवद्ध गरेर समितिमा बुझाएका पनि छौं । नियामक निकाय हाम्रो अभिभावक पनि भएकोले आफ्ना कुराहरु राख्नु अस्वभाविक पनि होइन । हामीले बीमा समितिलाई जीवन बीमा कम्पनीहरुको अवस्था यस्तो छ, तपाइहरुले यस्तो गरिदिए हुन्थ्यो भनेर जानकारी गराइसकेका छौं पनि ।

पहिलो कुरा त बीमा समितिले लिने १ प्रतिशत शुल्क घटाउनु पर्छ भनेका छौं । बैकले व्याजदर घटाउँदा हामीलाई आर्थिक असर पर्नेभयो । त्यसका लागि १५ वर्ष वा ३० वर्षको लागि बण्डको आवश्यकता पर्यो भनेका छौं । खर्च कटौतिका कुराहरु छन् भने त्यसमा हेरफेर गर्न आवश्यक हुन्छ । अहिले नयाँ शाखा खोल्न त्यति उचित नहुनसक्छ ।

धेरै कम्पनीका शाखा कार्यालयहरु भएको स्थानमा शाखाहरु बन्द गर्ने हो कि, मर्ज गर्ने हो कि त्यतातिर पनि ध्यान दिन आवश्यक छ । भोलि सेवा दिनै पर्ने अवस्थामा कम्पनी नै पनि मर्ज गरेर अघि बढ्नु पर्ने हुनसक्छ । अभिकर्ताहरुको लाइसेन्सको समय चैतमा सकिदैछ । त्यसमा नयाँ व्यवस्था हुनुपर्यो भनेका छौं ।

यी कुराहरु भए बीमा कम्पनीहरुलाई राहात मिल्छ ?

राहात मिल्ने भन्दापनि नियमनकारी निकायले आफ्नो संस्थाहरुलाई कानुनको दायरामा रहेर गर्न मिल्ने काम गर्दा उद्योग माथि जान्छ । बीमा समितिले नियामकभन्दा पनि सहजकर्ताको भुमिकामा रहने अपेक्षा गरिएकोले मिल्ने र सक्ने जति सहजता प्रदान गरिदिनुस भनेका हौं ।

जीवन बीमा कम्पनीहरुले बिमितलाई महामारीको बीचमा विशेष केही छुट दिएका छन् ?

हामीले नियमनकारी निकायको दायरामा बसेर काम गरिरहेका छौँ । नयाँ बिमितका लागि कोरोना बीमा फ्रिमा दिने कुराहरु पनि भएको छ । यो व्यवसायिक रणनीति पनि हो । बीमा समिति या संघले सबैलाई एकै प्रकारले काम गर भन्न मिल्दैन । सबै कम्पनीले आआफ्नो रणनीति अनुसार काम गर्ने हो ।

बीमा क्षेत्रमा फ्रन्टलाईनमा काम गर्ने अभिकर्ताहरुलाई हामीले सुरक्षित रहनु भन्दै आएका छौँ । अभिकर्ता सुरक्षित भएनन् भने संस्था सुरक्षित हुदैन । अहिले हामीले मिल्ने ठाउँमा खर्च कटौति गर्दा तथा नयाँ योजना नल्याउँदा राम्रो हुने देखिन्छ । प्रविधिमैत्री भएर जानुपर्ने बाटो पनि अपनाउँनु पर्नेछ ।

कोरोना महामारी पछि भर्चुअल वोल्डको महत्व बढेको छ, जीवन बीमामा पनि सुचना प्रविधिको अधिकतम प्रयोग गर्न सकिदैन ?

आजको दिनसम्म डिजिटल प्लेटफर्म मार्फत कुनैपनि पोलिसी बिक्री गर्न सकिदैन । नविकरण भने गर्न पाइन्छ । अन्य डिजीटल सेवा लिन नियमनकारी निकायले स्विकृति दिनु पर्यो, त्यसअघिका तयारी गर्नु पर्यो । यो अहिलेको नयाँ परिस्थितिले हामीलाई धेरै कुरा सिकाएको छ ।

सूर्या लाईफ इन्स्योरेन्सको अवस्था के छ ?

हिजो मैले आफ्नो नेत्तृत्व सम्हाल्नु पूर्व ३२ करोड रुपैयाँको बीमाशुल्क थियो भने अहिले १ सय करोड रुपैयाँ पुगेको छ । सूर्या लाईफले लाभांश वितरण गर्ने, कर्मचारीलार्ई बोनश खुवाउँने, राज्यको कर तिर्ने लगायतका काम गर्दै आएको छ । अर्थात सबै सरोकारवालालाई केही न केही प्रतिफल दिएकै छौं ।

हिजो रोकिएका कामहरु आज ट्रयाकमा ल्याएका छौँ । एजिएम समयमा गर्ने लगायतका कानुनी कामहरु भएका छन् । हिजो ३÷४ अर्ब रुपैयाँ लगानी गरेको ठाउँमा अहिले ८÷९ अर्ब रुपैयाँ लगानी पुगेको छ । हिजोका हाम्रा प्रोडक्ट तथा आजको हाम्रो प्रोडक्ट फरक छन् ।

कोरोना महामारी पछि सूर्या लाईफको रणनीति के हो ?

महामारीपछि हामीले सामान्य अवस्थाको जस्तै व्यवसाय भित्र्याउन पनि केही समय लाग्न सक्छ । लकडाउन कहिलेसम्म हो भन्ने सबैलाई डर छ, त्रास छ । आफ्नै घर–परिवारभित्रै त्रास भएको अवस्थामा व्यवसाय गर्नु भनेको सामान्य कुरा होइन । यस्तो अवस्थामा भित्री तथा बाहिरी स्रोत साधनलाई राम्रोसँग परिचालन गरेर अघि बढ्नुपर्छ ।

नयाँ प्रोडक्ट ल्याउनु पर्ने, अभिकर्ताको तालिम बढाउनु पर्ने या प्रविधिमैत्री बन्दै जाने केही कुरामा परिवर्तन गरेर अघि बढ्नु पर्छ । यो बीमा उद्योगले नै अपनाउँनु पर्ने कुरा हो । किनभने हामीलाई सामान्य रुपमा काम गर्न ६ महिना लाग्न सक्छ । कोरोना संकट कहिलेसम्म हो भन्ने यकिन भएको छैन । अहिले व्यवसायको योजना बनाउँने भन्दा पनि भोलिका दिनमा कसरी आफू अघि बढ्ने भन्ने तयारीमा बस्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.