अमेरिकाले लगायाे चीनले सहयोग गरेकाे ह्याकरले अनुसन्धान ‘चोर्न खोजेको’ आरोप

  २०७७ जेठ १ गते ११:२६     विकासन्युज

काठमाडाैं । अमेरिकाले कोरोनाभाइरस नियन्त्रणका लागि आफ्नो देशमा भइरहेका खोप र उपचारबारेका अनुसन्धान चीनले चोर्न खोजेको आरोप लगाएको छ ।

अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआई तथा साइबर सुरक्षा निकायले कोभिड -१९ बारे अध्ययन गरिरहेका अमेरिकी संस्था र औषधि उत्पादक कम्पनीहरूमा चीनले सघाएका ह्याकरहरूले आक्रमण गरेको विषयमा अनुसन्धान गरिरहेको बताएका छन् ।

कोरोनाभाइरसको उत्पत्ति र महामारी फैलिएको विषयमा चीन पारदर्शी नभएको भन्दै ट्रम्प प्रशासनले पटकपटक चीनको आलोचना गर्दै आएको छ ।

दुवै देशले एकअर्कालाई उक्त प्रकोप नियन्त्रण गर्ने कार्यमा असफल भएको भन्दै आरोप लगाइरहेका छन्। कोभिड-१९ बाट विश्वभरि ४३ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा सङ्क्रमितमध्ये ८४ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। चीनमा ४ हजार ६सय जनाले ज्यान गुमाएको बताइएको छ ।

एफबीआई र साइबर सुरक्षासम्बन्धी निकायले बुधवार संयुक्त रूपमा सम्भावित डिजिटल ह्याकबारे चेतावनी जारी गरेका हुन् ।

लोक कल्याणकारी विज्ञापन भनिएको उक्त चेतावनीमा स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र कोभिड-१९ का विषयमा अनुसन्धान गरिरहेका कम्पनीहरू ह्याकरहरूको मुख्य निसानामा रहेको उल्लेख गरिएको छ ।

यसै हप्ताको आरम्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले कोभिड-१९को उपचार र खोप बारे अनुसन्धानका विषयमा आफूहरूले नेतृत्व गरिरहेको बताउँदै बिनाप्रमाण चीनलाई आरोप लगाउनु अनैतिक रहेको बताएका थिए ।

गत सोमवार नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चीनको कथित साइबर गतिविधितर्फ सङ्केत गरेका थिए । (बिबिसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.