३० केजीको चामलको बोरामा तौल २५ केजी मात्रै

  २०७७ जेठ १ गते १०:५६     विकासन्युज

काठामाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बारेकोट गाउँपालिकास्थित नायकवाडा डिपोमा तोकिएको मापदण्डमा खाद्यान्न नहुँदा उपभोक्ता मर्कामा परेका छन् ।

वर्षेनी खाद्यान्न अभाव हुने बारेकोटमा वर्षमा २ हजार ५ सय क्विन्टल चामलको कोटा कम्पनीले निर्धारण गरेको छ । घोडा, खच्चडमा ढुवानी गरेर लिएको खाद्यान्नमा तोकिएअनुसारको तौल नभेटिएपछि सेवाग्रहीले विरोध गरेका छन् । सदरमुकामस्थित गोदामबाट ३० केजी तौल भएको अरुवा मध्यम खालको चामल घाट डिपोमा लिएर सर्वसाधारणलाई बिक्री गर्दा २५ केजी तौल भएको पत्ता लागेको हो ।

वर्षेनी यहाँ लिने खाद्यान्नमा तौल नपुग्नेदेखि बाटोमै चामल बिक्री हुनेसम्मका घटना हुँदै आएका छन् । घाटस्थित व्यापार कम्पनीका प्रमुख जयकृष्ण चौधरीले चामलको तौल ३० केजीबाट झरेर २५ केजी भएपछि एक हप्ताअघि गाउँपालिकालाई जानकारी गराएको बताए । “मैले चामलको तौलमा गडबडी देखिएपछि गाउँपालिकालाई खबर गरेको थिए । त्यसपछि गाउँपालिकाबाट अध्यक्षसहितका टोली अनुगमनमा आउनुभएको थियो । तौल कम भएको चामललाई छुट्टै राखेर बिक्री गर्नुहोस् । यसको छानबिन गरौँला भनेर जानुभएको छ”, चौधरीले भने । अन्य चामलको तौल पुगेको भए पनि अरुवा मध्यमखालको जापानिज चामलको तौलमा निकै गडबडी भएको छ ।

वर्षेनी चामलमा नाफा लिनका लागि बीच बाटोमा गडबड गर्ने जो भए पनि कारवाही गर्नुपर्ने बारेकोट गाउँपालिका–४ का विष्णु रावतले माग गरे । उनले भने, “बारेकोट गाउँपालिकाका उपभोक्तामाथि राजनीति गर्ने र नाफाखोरलाई कारवाही गर्न माग गर्दछु । चामलको मूल्यमा पनि कहिले गडबडी सुनिन्छ । अहिले त चामल पनि बोरामै कम छ । एक बोराबाट एक केजी चामल निकाले पनि धेरै फाइदा हुन्छ । यसमा त झन् पाँच केजीको फरक छ । यसमा सबैको मिलोमतो देखिन्छ ।”

नापतौलका सामग्री प्रयोगविहीन

यहाँ दैनिक चामल किन्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ । चामलको बोरामा लेखिएको ३० केजी देखाउँदै कार्यालयले दैनिक चामल बिक्री गरिरहेको छ । तौल लिएर मात्र चामल बिक्री गरिनुपर्ने भए पनि बोरामा लेखिएको तौल देखाएर चामल बिक्री भइरहेको पाइएको छ ।

स्थानीय राजेन्द्रविक्रम शाहीले भने, “नापतौलका सामग्री प्रयोग नगर्दा उपभोक्ता निकै मारमा परेका छन् । प्रायः मानिसलाई चामलको तौल लिएर मात्र खाद्यान्न खरिद गर्नुपर्छ भन्ने थाहा पनि छैन । ” उता ढक, तराजु, स्प्रिङ काँटा कहिलेकाहीँ मात्र प्रयोग गरिन्छ । कार्यालय प्रमुख चौधरीले नापतौलका अन्य सामग्री प्रयोग नभए पनि डिजिटल काँटा प्रयोग गरिरहेको बताए । उनले भने, “चामलको तौलमा गडबडी देखिएपछि झन् हामीले उपभोक्तालाई चामल तौलेरै दिने गरेका छौं ।”

चामलको तौलमा गडबडी आएको विषयमा खलङ्गा डिपोबाट नायकवाडा डिपोसम्म दुवानीको जिम्मा लिएका ठेकेदार मानबहादुर खड्काले भने, “कसले गडबड गरेको हो, बारेकोट जाँदैछु । अहिले अनुसन्धान गरेपछि मात्र थाहा हुन्छ ।” तोकिएको समयभन्दा निकै ढिलो खाद्यान्न ढुवानी गरेका खड्काले भारी दबाबपछि मात्र अहिले ४ सय क्विन्टल चामल ढुवानी गरेका छन् । कार्यालयका अनुसार उहाँले बारेकोटको सबै चामल ढुवानी गर्ने जिम्मा लिए पनि बीचमा ढुवानी गर्न छाड्दा कार्यालयले आफैं ढुवानी गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले खाद्यान्नमा समस्या आएका खबर प्राप्त भएको बताए । उनले भने, “हामीले समस्या भएको चामल छुट्टै राख्न भनेका छौं ।” प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जसले जहाँ गडबड गरे पनि कारवाहीको दायरामा ल्याएर तोकिएको सजाय दिने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.