उत्तरगंगा विद्युत् आयोजना सञ्चालन हुने

  २०७७ वैशाख ३१ गते ८:१४     विकासन्युज

रूकुम । पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र आह्वान गरिसकिएको जनाइएको छ । जिल्लामा निर्माण भएका अन्य साना जलविद्युत् आयोजना धेरै छन् । जिल्लामा निर्माण हुँदै गरेको पाँच मेगावाटपछिको यो दोस्रो ठूलो क्षमताको आयोजना रहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए ।

कुल ५२ करोड रूपैयाँ लगानीमा उक्त आयोजना निर्माण हुने जनाइएको छ । उपाध्यक्ष शाहीका अनुसार २८ करोड रूपैयाँ एडिबीको सहयोग तथा कृषि विकास बैंक र गाउँपालिकाको ५ करोड रूपैयाँको लगानी हुने छ । बाँकी १४ करोड रूपैयाँ गाउँपालिकावासीले सेयरमार्फत लगानी गर्ने छन् । जम्मा १७ हजार ९ सय ३४ जनसंख्या रहेको गाउँपालिकामा ५ हजार आठ घरधुरी छ ।

उत्तरगंगा हाइड्रोपावर निर्माणको काम अगाडि बढाउनका लागि गत माघ पहिलो साता बोलपत्र आह्वान गरिएको थियो । चैतदेखि काम शुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण आयोजनाको काम अगाडि बढ्न नसकेको उपाध्यक्ष शाहीले बताए । सम्झौता भएको १८ महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । एक मेगावाट क्षमताको विद्युत् आयोजनाले गाउँपालिका नै झिलीमिली बनाउनाका साथै बाहिर निर्यात गर्ने बताइएको छ ।

अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा विद्युत पुर्याउने काम भइरहेको छ । एक मेगावाटको विद्युत् आयोजना निर्माण भएमा सबै साना आयोजनालाई ग्रीडमा जोडेर बाहिर निर्यात गर्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.