संसदमा अनुपस्थित, मन्त्रिपरिषदमा गएनन्, कहाँ हराए अर्थमन्त्री ?

  २०७७ वैशाख ३० गते १४:२८     विकासन्युज

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र लिंदेनले अर्थमन्त्री खतिवडा नभएको भन्दै संसदको रोष्टमबाटै प्रश्न उठाए । आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै सांसद लिंदेनले प्रश्न उठाएका हुन् ।

यस्तै, प्रधानमन्त्री निवास वालुवाटारमा आजै बसेको मन्त्रिपरिषद बैठकमा पनि अर्थमन्त्री डा. खतिवडा उपस्थित नभएको फोटो प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ । सचिवालयले संचारमाध्यमलाई पठाएको मन्त्रिपरिषद बैठकको फोटोमा अर्थमन्त्री डा. खतिवडा देखिदैनन् ।

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता बारेको प्रतिनिधिसभा बैठकमा पनि उपस्थित नहुने र मन्त्रिपरिषद बैठकमा पनि भाग लिन नपाउने गरी अर्थमन्त्री डा. खतिवडा कहाँ व्यस्त भए ?

अर्थमन्त्री डा. खतिवडाका प्रेस सल्लाहकार यमन पौडेलले अर्थमन्त्री खतिवडा विहान मन्त्रालयमा आएर प्रतिनिधिसभा बैठकमा भाग लिन गएका जानकारी दिए । अहिले आफू मन्त्री खतिवडासँग नभएकोले मन्त्रिपरिषद बैठकमा सहभागी भए नभएको बारेमा जानकारी नभए पनि प्रतिनिधिसभा बैठकमा गएका भने आफूलाई जानकारी रहेको प्रेस सल्लाहकार पौडेलको भनाइ छ ।

यस्तै, मन्त्री खतिवडाको सचिवालयले पनि उनी प्रतिनिधिसभा बैठकमा गएका जानकारी गरायो ।

प्रतिनिधिसभाका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले मन्त्री खतिवडा प्रतिनिधिसभा बैठकमा उपस्थित भएका जानकारी दिए । मन्त्री खतिवडा बैठकमा सहभागी नभएका भन्दै प्रश्न उठाउने सांसद लिंदेनले बोल्ने बेलामा मन्त्री खतिवडा यताउता गएका समय परेको हुन सक्ने भए पनि बैठकमै सहभागी नभएका भन्ने कुरा गलत भएको न्यौपानेको भनाइ छ ।

फोटोः राजन काफ्ले, प्रधानमन्त्रीको निजी सचिवालय

‘उहाँ (मन्त्री खतिवडा) सभामुखको चेम्बरमा पनि आउनु भएको थियो, बजेटका सिद्धान्त र प्राथमिकता बारेमा छलफल आज सकिएर मन्त्रीले जवाफ दिन भ्याउने अवस्था देखिएको छैन, त्यसैले मन्त्री खतिवडाले प्रतिनिधिसभामा उठेका प्रश्नमाथि भोलि जवाफ दिने सम्भावित कार्यक्रम छ, उहाँ बैठकमा आउनु भएको प्रमाणका रुपमा भिडियो हेरे पनि हुन्छ,’ प्रेस संयोजक न्यौपानेले भने ।

प्रतिनिधिसभा बैठकमा उपस्थित भएका कारण डा. खतिवडा मन्त्रिपरिषद बैठकमा पनि केही ढिलो पुगेका हुन सक्ने उनी निकट स्रोतको भनाइ छ । उनी केही ढिलो भएका कारण नै प्रधानमन्त्रीको सचिवालयले पठाएको फोटामा उनी नदेखिएको हुन सक्ने बताइएको छ ।

One comment on "संसदमा अनुपस्थित, मन्त्रिपरिषदमा गएनन्, कहाँ हराए अर्थमन्त्री ?"

  • सगुन सिवाकोटी says:

    अर्थमन्त्रि हराए कुन दिन अर्थतन्त्र हराउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.