४ अर्बको नागरिक बचतपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

  २०७७ वैशाख २९ गते १८:४७     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले रु चार अर्ब बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।

व्याजमा कर लाग्ने बैंकले जनाएको छ । व्याजको भुक्तानी छ÷छ महिनामा हुने र बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । घटीमा रु १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । आगामी जेठ १ देखि २१ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्कासन मिति भने आगामी जेठ २५ गतेका लागि तोकिएको छ ।

बैंकले २०८२ जेठ २५ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.