अब उद्योगहरुले पनि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने, अटेर गरे अनुमतिनै खारेज

  २०७७ वैशाख २९ गते १७:०५     विकासन्युज

काठमाडौं । अब उद्योगहरुले पनि न्युनतम स्वास्थ्य–सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण मानिसहरु त्रासमा छन् । सरकारले उद्योग क्षेत्रलगायतका केही अत्यावश्यक सेवाहरु सुचारु गर्न निर्देशन दिइसकेको छ ।
ती उद्योगहरुमा स्वास्थ्य सुरक्षाको व्यवस्थापन गर्न सरकारले निर्देशन दिइएको हो ।

काभ्रे जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएकाे हाे । नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने बताएकाे छ ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको केन्द्रले जनाएको छ । समितिले उद्योगका कामदारको आवास व्यवस्थापन तथा उद्योगमा स्वास्थ्य–सुरक्षाबारे अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

समितिलाई अगुगमनका क्रममा उद्योगमा न्यूनतम स्वास्थ्य–सुरक्षा अवलम्बन नगरेको देखिए तत्काल सञ्चालन अनुमति रद्द गरिने बताइएकाे छ ।  जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्ने जनाउँदै काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाकामा नागरिकको आवतजावत बन्द गरिएको एक दिनपछि अर्थात् गत शुक्रबार केन्द्रले लकडाउन खुकुलो बनाउँदै सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरी विभिन्न उद्योग तथा विकास–निर्माण सम्बन्धित आयोजना सञ्चालन गर्न दिइने निर्णय गरेको थियो ।

तर, केन्द्रले जिल्लाको कुनै क्षेत्रमा कोराना भाइरसको सङ्क्रमणको जोखिम देखिएमा सो क्षेत्र वा जिल्लाभरि नै निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले सबैमा रोक लगाइने शर्त राखेको छ । केन्द्रका अनुसार कृषि तथा पशुपक्षीजन्य दूध, तरकारी, माछा, कुखुरा, अण्डा र दाना उत्पादन गर्न पाइने छ भने मल तथा बीउबिजका ढुवानी र बिक्री गर्न पाइनेछ ।

सरकारको गत हप्ताको पत्र अनुसार सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सामाजिक सेवातर्फका बैंक, विद्युत्, खानेपानी, सञ्चार, फोहरमैला व्यवस्थापन तथा दमकल सुञ्चालन हुनेछन् । साथै, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोकेका भन्सार पास भएका सबै प्रकारका सवारी साधन सञ्चालन हुन पाउनेछन् ।

यस्तै, उद्योगतर्फका चामल, चिउरा, पिठो, पाउरोटी, तेल, दाललगायत घरेलु साना उद्योग सञ्चालन हुनेछन् । साथै, बढीमा तीन मजदुर सञ्चालन गर्न पाउने वर्कसप, प्लम्बिङ, इलेक्ट्रोनिकल सेवा सञ्चालन हुने केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.