गर्भवतीको घरमा हरियो झण्डा

  २०७७ वैशाख २९ गते ९:४६     विकासन्युज

जाजरकोट । गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् ।

स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गर्ने गर्भवतीलाई खोज्दै यो टोली गाउँमा गएको हो । गर्भवतीलाई पोसिलो खाना दिन र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोसिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गरेको छ ।

नगरपालिकाभित्र रहेका ४ सय ५५ गर्भवती महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइएको छ ।

त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडी कुखुराको भालेपोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराइएको छ । गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेका महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने सिंहले बताए ।

प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिएको छ । अर्थाभाव भएकै कारण सुत्केरी भएको समयमा खाना नपाएपछि कुपोषण भएर धेरैको अकालमै ज्यान जाने गरेको दुःखद् अवस्थालाई हल गर्न नगरपालिकाले सबै खालका महिलालाई समानताका आधारमा मूल प्रवाहमा ल्याउनका लागि विशेष योजना ल्याएको नगरप्रमुख टेकबहादुर रावलले बताए ।

उनका अनुसार नलगाड नगरपालिका–२ डाँडागाउँ, ३– कैना, ४– लहँ, ११– चौखा र १२– भगवतीस्थित स्वास्थ्य संस्थामा अनलाइन डाटा सम्प्रेषणका लागि कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । यो कार्यसँगै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । उनका अनुसार भौगोलिक विकटताका कारण यहाँका सबै महिला घरमै सुत्केरी हुने क्रम बढेको र कुपोषणको समस्या देखिएपछि नगरपालिकाले यस्तो अभियान सञ्चालन गरेको हो ।

घरमा झण्डा गाड्दै अन्य सामग्री वितरणका साथै परिवारका अन्य सदस्यसँग गर्भवती भएको समयमा गरिने हेरचाह अनि परिवारको साथ सहयोगका विषयमा समेत अन्तक्र्रिया गरिँदै आएको स्रोत व्यक्ति किरण थापाले जानकारी दिए । सुनौला हजार दिनभित्रका महिलालाई यो सुविधा दिएपछि नगरपालिकाले आफ्नोपन देखाएको नगरपालिका–८ की गर्भवती रमिता खत्रीले बताए । उनले भने, “गर्भवती अवस्थामा पनि घरका आफन्तको दबाबमा गर्भवती नहुँदाको अवस्था झैं काम गर्न लगाउने गरिथ्यो । काम नगरे मानसिक दबाब दिने गरिन्थ्यो, नगरबाट जनप्रतिनिधि र स्वास्थ्यकर्मी आएर सबैसँग बसेर छलफल गर्दा घरका सबैले गर्भवती अवस्थामा गरिने सुरक्षाको विषयमा थाहा पाएपछि अहिले माया पाएकी छु ।”

त्यस्तै स्वास्थ्य संस्थामा सुत्केरी हुँदा चिसोका कारण स्याहारसुसारमा समस्या हुने भन्दै हिटर वितरण गरिएको छ । स्वास्थ्य संस्थामा चिसो वा गर्मी मौसममा सुत्केरी हुने महिलाले सास्ती भोग्नुपर्ने बाध्यतालाई हल गर्नका लागि हिटर वितरण गरिएको हो । केही दिनअघि यी स्वास्थ्य संस्थामा सौर्य ऊर्जा वितरण गरिएको थियो ।

अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको स्रोत व्यक्ति थापाले जानकारी दिनुभयो । अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिएको छ ।

कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ । झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मी रामबहादुर बटालाले भने, “गर्भवती महिला धेरै लजाउँछन्, यस अभियानले लाज हटाएर समस्या खोल्न सहयोग गर्नेछ ।”

उनले स्वास्थ्यसंस्था वा बर्थिङ सेन्टरमै सुत्केरी गराउने यो एउटा सशक्त अभियान भएको भन्दै सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्याङ्क बनाउन पनि सजिलो हुने बताए । उनले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको रु एक हजार ४ सय, न्यानो झोलाबापत १ हजार र गाउँपालिकाले सुत्केरी पोषण भत्ताबापत १ हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुनसमेत आग्रह गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.