लकडाउन खुलेपछि एसईई हुने, विद्यार्थीलाई तयारीमा रहन आग्रह

  २०७७ वैशाख २८ गते १६:४२     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ ।  कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने भनिएकाे एसईई परीक्षा राेकिएकाे छ ।

मन्त्रालयले अब लकडाउन खुले लगत्तै परीक्षा हुने बताएकाे हाे ।  विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् ।

‘एसईई परीक्षा नगरी आन्तरिक मूल्यांकनबाटै गर्ने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको बुझिएको छ,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने, ‘विद्यमान शिक्षा ऐन कानुनअनुसार लिखित परीक्षाबाट मात्र एसईईले मान्यता पाउनेछ । आन्तरिक मूल्यांकनबाट एसईईलाई मान्यता दिने हो भने त्यसअघि ऐन संशोधन भएमात्र सम्भव छ । हामी (मन्त्रालय) त्यो बिन्दुमा पुगेका छैनौं ।’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको वेबिनारमा उनले उक्त विचार व्यक्त गरेका हुन् ।

बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् । परीक्षा नियन्त्रक रामराज खकुरेलले कुनै पनि परीक्षार्थीलाई डेरा बस्नु नपर्ने गरी ७ सय २७ केन्द्र थप्ने योजना बनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.