बत्तीस सय तिरेर महाकाली तरे, बीच बाटामै अलपत्र

  २०७७ वैशाख २८ गते ९:५७     विकासन्युज

काठमाडौं । दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति ( ३ हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र सोही ठाउँका रत्न रिजाल र मुगुको छायाँनाथ रारा नगरपालिकाका सागर रोकाया रहेका छन् ।

भारतको पिथौरागढमा मजदुरी गर्दै आएका उनीहरु शुक्रबार राति महाकाली नदीमा ट्युबमार्फत बैतडी पुगेका हुन् । महाकालीमा ट्युब तरेपछि सदरमुकाम गोठलापानी पुगेपछि लकडाउनका कारण अलपत्र परेको मुगुका सागर रोकायाले बताए । “गोठलापानीमा अहिले सडकपेटीमा बसिररहेका छौँ, लकडाउनले यहाँ खानबस्नसमेत समस्या भएको छ”, उनले भने, “खानबस्नका साथै पानी परिरहेकाले बस्नसमेत निकै गाह्रो भएको छ ।”

पिथौरागढबाट हिँडेर सीमानाका पुगेका उनीहरु आजससम्म पनि भोकै रहेका छन् । कमाएको पैसा सबै सकिएपछि भोकै रातदिन काट्नुपरेको सागरको भनाइ छ । उद्धारका लागि प्रशासन र सम्बन्धित पालिकालाई गुहार्दासमेत केही पहल नभएको उनीहरुको गुनासो छ । स्थानीय प्रशासनसँग घरसम्म पुर्याउन भनेको भए पनि आफ्नै पैसाले जाने भएपछि मात्रै पु¥याउन सकिने नत्र जहाँ हुनु त्यही बस्न भनेको दैलेखका जनक देवकोटाले बताए ।

तीन महिनाअघि रोजगारीका लागि पिथौरागढ पुगेका उनीहरु डेढ महिनादेखि लकडाउन हुँदा समस्या भएपछि नेपाल फर्किएका हुन् । “कमाएको सबै पैसा सकिएको छ, आफ्नै पैसाले जान सकिने अवस्था छैन”, दैलेखका रत्न रिजालले दुःखेसो पोखे, “कमाएको ४ हजार रहेकामा २ हजार भारु ट्युब तर्दा सकियो, अब ८ सय मात्रै बाँकी छ कसरी घर पुग्नु ।”

यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अलपत्र मजदुरको कसरी उद्धार गर्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, “अलपत्रको उद्धारका लागि सम्बन्धित पालिकाले पहल गर्नुपर्छ ।” यसअघि बिहीबार र शुक्रबार गरी सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ जनाको बैतडीबाट उद्धार गरिएको थियो ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.