भारतकै भरमा निर्माण सामग्री, यो बेला काम नभए ३५ अर्ब नोक्सान हुन सक्ने

  २०७७ वैशाख २६ गते १८:२१     सन्ताेष राेकाया

काठमाडौं । देशमा लकडाउन जारी छ । लकडाउनका कारण सर्वसाधारणहरु घरभित्रै छन् । मानिसहरु घरभित्रै भएको कारण मानिसका दैनिक गतिविधीहरु ठप्प छन् । मानिसहरुको चहलपहल कमिका त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको छ ।

लकडाउनकै कारण धेरै निर्माणाधीन आयोजनाहरु पनि प्रभावित भएका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजनासहित विकास निर्माणका काम सुरु गर्ने भने पनि निर्माण व्यवसायीले तत्काल काम थाल्न नसक्ने बताएका छन् । सरकारले भने अनुसार निर्माणका काम गर्न सामग्रीको अभाव र मजदुर व्यवस्थापनसँगै लागत खर्चसमेत बढ्ने भएकाले तत्काल काम सुरु गर्न नसक्ने निर्माण व्यवसायीले बताएका हुन् ।

निर्माण व्यवसायीहरुलाई समयमै काम सक्नु पर्ने दवाव पनि उतिकै छ । सरकारले काम सुरु गर्न अनुमति दिँदा दिदै पनि ती ठूला आयोजनाहरु भने अझै पनि काम सुरु गर्ने अवस्थामा छैनन् । ती आयोजनाहरुलाई अहिले काम पुनः शुरु गर्न चौतर्फि समस्या परेको छ । हिजो लकडाउनको कारण घर फर्किसकेका कामदारहरु अहिले निर्माणाधीन आयोजना स्थलमा आउन सक्ने अवस्था छैन ।

नत ती आयोजनाहरुलाई निरन्तरता दिनको लागि निर्माण सामग्री नै छ । ती धेरै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरु मध्ये केही आयोजनाको निर्माण कार्य मात्र आंशिक रुपमा सुरु भएको छ । जलविद्युतमा कार्यरत मजदुरमध्ये केही घर गइसकेको अवस्थामै आयोजनाले निर्माण सुरु गरेका छन् ।

विमानस्थलहरुको काम निरन्तर रुपमा अगाडि बढाउनका लागि सामग्रीको अभाव छ । धेरै परियोजनाका त कामदार पनि घर फर्किसकेका छन् । सरकारले सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत, सिँचाइ, खानेपानी, सडक, पुल, भवन निर्माण तथा सबलीकरण गर्न अनुमति दिएको छ ।

तर, एक स्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउनुपर्ने, अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई कार्यान्वयन गर्दा खर्च व्यवस्थापन गर्न गाह्रो हुने निर्माण व्यवसायीको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले भने अनुसारका मापदण्डको पालना गर्न नसकिने र मौसम अनुकूल नरहेको तथा निर्माण सामग्रीको उपलब्धता कम रहेको र ढुवानी खर्च बढेको बताए । देशभर झण्डै आठ खर्ब रुपैयाँ लागतका पाँच हजार निर्माण आयोजना सञ्चालनमा रहेको अवस्थामा लकडाउन भएको उनको भनाइ छ । यो बेला काम गर्न नपाएर झण्डै ३५ अर्ब रुपैयाँ नोक्सानी हुने उनले बताए ।

सामग्री अभावको कारण काम अगाडि बढाउन नसकिएको उनले बताए । ‘कामदार र निर्माण सामग्रीमा भारतकै भर पर्नुपर्ने अवस्था छ, अहिले लकडाउन छ, नाका बन्द छन’ यो समयमा कामलाई निरन्रता दिन सक्ने अवस्था छैन, उनले भने ।

‘हामीले अझै पनि भारत र चीनीयाँ बजारको भरमा पर्नु पर्ने अवस्थामा छौं, नेपाली सामान धेरै महँगो पनि पर्छ र बनेको पनि छैन, भारतबाट सामग्री नआउँदा सम्म हामी आयोजना निमौण कार्य अगाडि बढाउन सकिँदैन,’ उनले भने । सरकारले निर्वाद रुपमा निर्माण सामग्री ढुवानीका लागि व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.