असिनाले गहुँबालीमा क्षति, भोकमरीको चिन्ता

  २०७७ वैशाख २५ गते १२:१९     विकासन्युज

बैतडी । असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पुर्याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानले बताएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताए । “असिनाले खेतमा पाकेको गहुँ पूर्णरूपमा नष्ट गरेको छ । खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ” उनले भने ।

पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्नासमेत नष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

जिल्लाको पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा असिनाले गहुँबाली व्यापक क्षति पुर्याएको हो । यस्तै असिनाले सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकामा पनि पनि क्षति पुगेकाे छ । वर्षाले पाक्नै लागेको गहुँ भित्र्याउन सकिएको छैन भने धेरै ठाउँमा असिनाले क्षति पुर्याएको सुर्नया गाउँपालिका–८ का डम्मर बोहराले जानकारी दिए ।

असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ । मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति पु¥याएकाले भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् ।

गत वर्ष २४ हजार ५ सय मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । बैतडीमा १७ हजार ५ सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ । किसानले लगाएको गहुँलगायत अन्नबाली पाकिसकेको भए पनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो ।

केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि पानी पर्न थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दोगडाकेदार–६ का स्थानीय गजबहादुर गोयलाले बताए । केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पुर्याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन् । गएको दुई हप्तादेखि लगाताररूपमा पानी परिरहेकाले काटिसकेको गहुँसमेत थ्रेसिङ गर्न नपाएको दोगडाकेदार–१ रिमका नरेन्द्र विष्टले बताउनुभयो । उनले भने, “काटिसकेको गहुँसमेत कुहिने अवस्थामा रहेको छ ।”

बैतडी, दार्चुला, बझाङलगायत पहाडी जिल्लाका किसानलाई खेतीपाती भित्र्याउन धौधौ परेको भए पनि वर्षा बाधक बनेको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ देवथली, काडाँपारीलगायत क्षेत्रमा गहुँ काट्न चटारो परेको भए पनि लगातारको पानीले समस्या भएको स्थानीय गङ्गासागर जोशीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.