विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

  २०७७ वैशाख २५ गते ९:३७     विकासन्युज

काठमाडाैं । अघिल्ला वर्षका वैशाख–जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् ।
बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँथे । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो ।

उनीसँगै काम गर्ने टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको शुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि शुरु होला तर वैशाख जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो । लकडाउनका कारण यो वर्षको वैशाखमा बागलुङमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् ।

“मङ्सिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र”, सुजन भने, “वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफैं सुतेर समय बिताएको छु ।” कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताए । “श्रमिकको त बिचल्ली भएको छ, बजारमा महङ्गो घरभाडा तिरेर महङ्गो खाद्यान्न खाएर बसेका छन्”, परियार भने, “अरु केही काम गरौँ भने पनि केही छैन ।”

मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी मीनकुमार दर्नाल बताए । “घरभाडा तिर्नैपर्यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ”, दर्नालले भने, “मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।” सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् ।

“यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन्, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो”, अर्का व्यवसायी धनबहादुर परियारले भने, “को मालिकको श्रमिक सबैलाई समस्या छ ।” बागलुङ बजारमा करिब ८० वटा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् ।

बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्याङ्क छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत लकडाउनको कारण सङ्कटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.