चन्द्रागिरि नगरपालिकाले काेराेना नियन्त्रणमा खटिनेहरूकाे ‘कोभिड–१९ बीमा’ गर्दै

  २०७७ वैशाख २४ गते ९:०२     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी तथा एम्बुलेन्स चालकको स्वास्थ्य बीमा गरेको छ । सोमबारदेखि लागु हुने गरी प्रतिव्यक्ति  १० लाख रूपैयाँको स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले व्यवस्थित रुपमा कोरोना नियन्त्रणका लागि जनशक्ति परिचालन गरिरहेको अवस्थामा कार्यरत जनशक्तिलाई थप प्रोत्साहन गर्न तथा हुन सक्ने जोखिम कम गर्न कार्यपालिकाको निर्णयानुसार आन्तरिक खर्चबाट व्यहोर्ने गरी स्वास्थ्य बीमा गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय बीमा संस्थानमा नगरपालिकामा कार्यरत ३५० कर्मचारीको स्वास्थ्य बीमा गरिएको छ जसमा ७८ जनप्रतिनिधि, ८४ नगरअन्तर्गतका कर्मचारी, १७७ नगरअन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्यकर्मी र ११ एम्बुलेन्सका चालक छन् ।

उक्त बीमाअन्तर्गत प्रतिव्यक्ति ६ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा, एक लाख रुपैयाँ बराबरको औषधोपचार बीमा, दुई लाख रुपैयाँ बराबरको घातक रोग बीमा र एक लाख रुपैयाँ बराबरको कोभिड–१९ रोग बीमा समावेश गरी बीमा गरिएको उनले जानकारी दिए ।

गत चैत १९ गतेको नगरकार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा कर्मचारीको स्वास्थ्य बीमा गर्नै निर्णय गरेको थियो । आन्तरिक व्यवस्थापनमा समय लाग्दा बीमा गर्न केही दिन ढिला भएको उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.