अब ‘आयोजना बैंक’ मार्फत आयोजना सञ्चालन गर्नुपर्ने, असारे विकास नदोहोर्याउन निर्देशन

  २०७७ वैशाख २३ गते १५:४८     विकासन्युज

काठमाडौं । अब सरकारले आयोजना बैंक बनाएर बजेट बाँडफाँड गर्नु पर्ने भएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण सरकारको न्यून बजेट परिचालनको अवस्था रहेको हुँदा आयोजनाहरुको वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्न विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले चालु अवस्थामा रहेका आयोजनाहरुलाई निरन्तरता दिने र पूर्व तयारीका साथ आयोजना बैंक मार्फत आवश्यकताका आधारमा आयोजनाहरु सञ्चालन गर्न र गराउन निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणी कुमारी खड्काले चालु राष्ट्रिय गौरवका आयोजना , रणनीतिक महत्वका सडक, आर्थिक केन्द्र जोड्ने सडक , सुरुङ मार्ग , जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सडक र स्थानीय तहको केन्द्रमा सडक पुर्याउने कार्यलाई आगामी आब २०७७/०७८ को बजेटमा प्राथमिकताका साथ समावेश गर्न निर्देशन दिएकी हुन् ।

उनले आयोजना छनौट तथा कार्यान्वयनमा देखिएको दोहोरोपना हटाई तीन तहका सरकारको बीच प्रभावकारी समन्वय कायम कार्य गर्नु पर्ने बताएकी छन् ।

उनले पुराना निर्माण सम्पन्न भई सकेका योजनाहरुको मर्मत कार्य प्रभावकारी बनाउनुका साथै सम्पन्न भईसकेका सम्पूर्ण आयोजनाहरुको समयमै भुक्तानीको व्यवस्था मिलाउने , आर्थिक वर्षको अन्त्यतिर पूर्व तयारी विना हतार हतारमा विकास कार्य गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आगामी वर्षमा यस्ता प्रवृत्तिहरु दोहोरिन नदिन आग्रह गरिन् ।

आयोजना बैंकले विषय क्षेत्रगत मन्त्रालय, निकाय, लगानी बोर्ड, प्रदेश योजना आयोग र नीजि क्षेत्रसँग समन्वय गरेर आयोजना छनौट गर्ने काम गर्नेछ । आयोजना कार्यान्वयनको मोडल निर्धारण सरकार, नीजि क्षेत्र, सार्वजनिक नीजि साझेदारी मार्फत हुनेछ ।

कुन आयोजनामा सरकारले कति लगानी गर्ने, नीजि क्षेत्रले कति लगानी गर्ने भनेर आयोजना कार्यान्वयनको मोडल तयार गरिने साे बैंकमार्फत नै हुनेछ । बैंक नहुँदा आयोजनामा देखिएको सुशासनको समस्या पनि हल हुने समितिले विश्वास लिएकाे छ ।
अब आयोजनामा छनाेट र लगानी बाँडफाँड राजनीतिक पहुँचका आधारमा बजेट छुट्याइने परम्पराको यसले अन्त्य गर्ने गर्नेछ भने  प्राथमिकताका परियाेजनाले पनि अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.