लकडाउन, विकास र टेष्टः सरकार काठमाडौंमै रुमल्लिएको हो ?

  २०७७ वैशाख २३ गते ११:४६     सन्ताेष राेकाया

काठमाडौं । आज देशमा लकडाउन भएको ४२ दिन पुगिसकेकाे छ । कोरोना भाइरसको कारण भएको लकडाउनले मानिस घरभित्रै छन् । तर, दिनप्रतिदिन कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । आज मात्रै नेपालगञ्जमा सात जना कोरोनाका बिरामी भेटिएका छन् ।

संघीय राजधानी काठमाडौं उपत्यकाकामा भने कोरोना संक्रमण भएकाहरू पनि घर फर्किसकेका छन् । सरकारले काठमाडौं मा विशेष सतर्कता अपनाएर ती बिरामी निको भएर घर फर्के र नयाँ संक्रमित पनि देखिएनन् । तर, काठमाडौं बाहिर पनि दिनप्रति दिन कोरोनाका बिरामीको संख्या दजनौं बढिरहेको छ ।

काठमाडौंमा मात्रै लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् । आज आज नयाँ संक्रमित नभेटिएको २३ दिन भइसकेको छ ।

यदि सरकारले जुन रुपमा काठमाडौं उपत्यकामा नमुना परीक्षण दायरा बढायो र मानिसको आवतवावतमा कडाई गर्यो त्यही अनुरुप अन्य ठाउँमा पनि दायरा बढायो भने यो अवस्था आउने थियो र ? यो भने आम सबैको जिज्ञासाको विषय बनेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पीसीआर विधिबाट ७३५ र ¥यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) विधिबाट ३ हजार ३ सय ७९ मात्र परीक्षण भएको छ । उपत्यकाको जनसंख्याको तुलनामा यो निकै कम हो ।

सरकारले मानिसको आवतजावत रोकेर र अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरेर विशेष सतर्कताका साथ काम गरिरहेको पनि छ । तर, अझै पनि धेरैले लकडाउन कायमै गर्नु पर्छ भनेर आवाज उठाइरहेका छन् भने धेरैले अब काठमाडौंमा खुकुलो पार्दा पनि हुन्छ भन्ने आवाज पनि उठाइरहेका छन् ।

४२औं दिन लामो लकडाउनका कारण व्यपाार व्यवसाय र उद्योगधन्दाहरु ठप्प छन् । कोरोना बाहेकका बिरामीहरु थला पर्न थालेका छन् भने यो अवधिमा खाना नपाएर पनि समस्यामा परेकाहरुको समाचार पनि बाहिरन थालेका छन् । यसले पनि कोरोनाभन्दा पनि मानसिक स्वास्थ्यमा असर पर्न सक्ने सम्भावना पनि प्रवल छ ।

सोमबारै उपत्यकाका नगरपालिकाको छाता संगठन ‘उपत्यका नगरपालिका फोरम’का पदाधिकारीले कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर लकडाउन खुकुलो बनाउन माग गरेका थिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेकोले मानिसहरुको आवत–जावतमा कडाई गर्नुपर्ने बताए । धेरैले काठमाडौंमा लकडाउन खुुकुलो पार्नु पर्ने बताइरहेपनि त्यस्तो गर्दा मानिसहरु लुकेर आउनसक्ने सम्भावना हुने हुँदा खुकुलो पार्न नहुने उनको भनाई छ ।

‘नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्, यस्तो बेलामा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत–जावत गर्दा संक्रमणको खतरा बढी हुन्छ, लकडाउन अझै कडा गर्नु पर्छ,’ उनले भने ।

सोमबार बसेको समन्वय समितिको बैठकमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीले रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गरी त्यसअनुसार लकडाउन कडा र खुकुलो बनाउने प्रस्ताव पेश भएको छ । तत्काल काठमाडौं उपत्यका ग्रिन जोन मै परेपनि लकडाउन खुकुलो नबने भने पक्का छ ।

तर अहिले काठमाडौंमा कोरोनाका संत्रलमित नभएको भन्दै रातारात लुकेर काठमाडौं भित्रिनेहरु पनि बढेका छन् । सरकारले यो तर्फ पनि बढी ध्यान दिनु पर्छ ।

पुतली सडक पुनर्निर्माण हुँदै

विकास निर्माण काठमाडौंमै

देशभर लकडाउन भइरहँदा काठमाडौंका सडक भने यतिबेला चिटिक्क बनेका छन् । हिजो धुलै धुलो हुने काठमाडौंका केहस् सडकहरु यो समयमा स्कालोपत्रे गरेर चिटिक्क पारेका हुन् । तर काठमाडौं बाहिरका निर्माण आयोजना र सडकहरु भने उही पहिलकै अवस्थामा छन् ।

सरकारले विभिन्न आयोजना तथा भौतिक निर्माणका कामलाई निरन्तर रुपमा अगाडि बढाउन निर्देशन दिएपनि ती आयोजनाहरु कामदार र निर्माण सामग्रीको अभाव देखाउँदै ठप्प बनेका छन् । काठमाडौंका लागि हुने निर्माण सामग्री र जनशक्ति के अन्य ठाउँका लागि नभएकै हो त ? यो भने जिज्ञासाको विषय पनि बनेको छ ।

काठमाडौंका सडकहरु चिप्ला बनाउन तर्फ ध्यान जाने सरकारको अन्य जिल्ला र क्षेत्रका विकास निर्माण आयोजनाहरुमा ध्यान किन गएन ? अन्य समयमा २४सै घण्टा व्यस्त रहने सकडहरु पनि नेपालमा छन् । यो बेला ती सडकहरुको पुर्नर्निर्माण गर्यो उचित नै हुन्छ । तर, त्यसतर्फ भने न कुनै स्थानीय ता, न प्रदेश नत संघको नै ध्यान गएको छ ।

तर, काठमाडौं भित्रका धेरै आयोजनाहरु भने अझै पनि निर्माण भइरहेका छन् । काठमाडौंमा मुख्य मुख्य सडकहरु भत्काएर पनि सरकार पुनर्निमाणमा जुटेको छ ।

लकडाउनपछिकाे काठमाडाैंकाे सडक

परीक्षण न्युन

सरकारले लकडाउन गरेको ४३ दिन भइसकेको छ । तर यो अवधिमा परीक्षण भने न्युन गरेको छ । यो अवधिमा सकेसम्म धेरै परीक्षणहरु गरी कोरोना भए नभएको पुष्टि गर्नु पर्नेमा हालसम्म त्यति धेरै परीक्ष्ण भएका छैनन् ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ ।

यो परीक्षणको तथ्याकं ले पनि देखाउँछ की जुन रुपमा कोरोनाका बिरामी देखिरहेका छन् । त्यो अनुरुपको परीक्षण भएको छैन । नेपालमा हालसम्म कुल संक्रमित ८२ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन्।

अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएको छैनन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।  सरकारले लकडाउनको समयको सदुपयोग गरी चौतर्फी नाफा हुने काम पनि गर्न सक्छ ।

नागरिकहरु घरभित्रै रहेको मौका छोपी विकास निर्माणका कामलाई तीव्रता र नमुना परीक्षणको कामलाई प्रभावकारी बनाए कोरोनाबाट छिट्टै नै छुटकारा पाउँछौं भन्ने कुरामा दुई मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.