स्थानीय स्तरमा रोजगारी सिर्जना र वित्तीय संघीयतालाई प्रभावकारी बनाउने

  २०७७ वैशाख २२ गते १९:४९     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री तथा अन्तर सरकारी वित्त परिषद्का अध्यक्ष डा. युवराज खतिवडाले अबकाे बजेट स्थानीय स्तरमा रोजगारी सिर्जना र वित्तीय संघियतालाई प्रभावकारी बनाउनेमा केन्द्रित हुने बताएका छन् ।

साेमबार सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुसँग भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै उनले सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गर्ने बजेट र कोरोनाले अर्थतन्त्रमा पारेको असरको बारेमा छलफल गरेका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय तहको मुख्य प्राथमिकता कोभिड स्रक्रमणको जोखिम न्यूनीकरण गर्न चालिएका कदमहरुबाट शिथिल भएको अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न र वित्तीय संघीयतालाई प्रभावकारी बनाउनमा आगामी वर्षको बजेट केन्द्रीत हुनुपर्ने बताएका हुन् ।

सो छलफलमा  उनले संघबाट लागत साझेदारीमा संचालन गर्ने गरी घोषणा भई सशर्त अनुदान अन्तर्गत वित्तीय हस्तान्तरण भएका आयोजनामा प्रदेश र स्थानीय तहले प्रभावकारी ढ्रगले कार्यान्वयन गर्नुपर्ने, आगामी वर्षको बजेट तर्जुमा गर्दा संघबाट संचालित कार्यक्रमका अलावा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

साथै उनले सशर्त अनुदान अन्तर्गतका चालु आयोजना मध्ये यस आर्थिक वर्षमा समाप्त भएका आयोजनाको अभिलेख तयार गरी संघमा पठाउनुपर्ने विषयमा प्रकाश पारे । अर्थमन्त्रीले प्रदेश र स्थानीय तहले कर प्रस्ताव गर्दा दाहोरो नपर्ने गरी यकिन गरेर कर प्रस्ताव गर्नुपर्ने, संघले विभिन्न कार्यक्रमका लागि प्रदान गर्ने अनुदानमा प्रदेश र स्थानीय तहले सोही कार्यक्रमका लागि थप अनुदान दिन नहुने पनि बताएका छन् ।

वैदेशिक स्रोत अन्तर्गत हस्तान्तरित सशर्त अनुदानका आयोजनामा प्रदेश र स्थानीय तहले समेत आन्तरिक स्रोत र वैदेशिक स्रोत छुट्टयाई बजेट विनियोजन गर्नुपर्ने र वैदेशिक स्रोत अन्तर्गत खर्च गरी सोधभर्ना माग गर्ने प्रणाली बसाउनु पर्नेमा उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.