प्रशासनकाे सहजीकरणमा खुल्न थाले उद्योगहरु, उद्याेगी भन्छन्ः सरकारले सहयाेग गरिरहेकाे छ

  २०७७ वैशाख २२ गते १६:३०     राजाराम न्याैपाने

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बन्द उद्योगहरूलाई सञ्चालन गर्ने अनुमति दिनका लागि विभिन्न निर्णय गरेर लागू गर्ने निर्णय पनि गरेको थियो । चरण अनुसार विभिन्न उत्पादनमूलक उद्योगहरू खुल्न थालेका छन् ।

उद्योग मन्त्रालयका अनुसार पछिल्लो समयमा सञ्चालित उद्योगहरुको संख्या बढ्न थालेको छ । लकडाउनका कारणले बन्द रहेका उद्योग सञ्चालनको वातावारण बनाउन गृह मन्त्रालय र उद्योग मन्त्रालयले समन्वय गरेर काम गरिरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्यान्न, औषधी र निर्माण सामग्री उत्पादन गर्ने उद्योग खुल्ने क्रम बढेको बताए ।

‘उच्चस्तरीय समन्वय समिति, गृह मन्त्रालय र उद्योग मन्त्रालयले समन्वयमा उद्योग सञ्चालनमा वृद्धि भएको छ, निजी क्षेत्रलाई छलफलमा बोलाएर समस्याहरु बुझेर समाधान गर्ने काम उद्योग मन्त्रालयले गरिरहेको छ,’ भट्टले भने ।

अहिले सबै प्रकारका उद्योग खुल्न थाले पनि उद्योग मन्त्रालय र उद्योगीहरुले पहिलाे प्राथमिकता दैनिक उपभोग्य वस्तु तथा निर्माण सामाग्री उत्पादन गर्ने उद्याेगलाई दिएका छन् ।

उद्योग मन्त्रालयका अनुसार अहिले विभिन्न औद्योगिक क्षेत्रमा रहेका ४९.३० प्रतिशत उद्योग सञ्चालन भइरहेका छन् । त्यस्तै, खाद्यान्न उत्पादन गर्ने ४० प्रतिशत उद्योग पनि करिब ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उद्योग सञ्चालनका लागि विभिन्न चरणहरु बनाएको र त्यही चरण अनुसार सुरक्षाका उपाए अनाएर उद्योग चलाउन सहजीकरण गरिरहेको बताए ।

‘लकडाउनको कारणले उद्योगमा आउन नसकेका मजदुर र कर्मचारी काममा आउन अहिले गृह मन्त्रालयले नै सहजीकरण गरिरहेको छ, खर्चको समस्या पर्न थालेपछि मजदुर पनि काममा आउन थालेका छन्,’ न्यौपानेले भने ।

उद्योग विभागका महानिर्देशक जिवन प्रकाश सिटौलाले खाद्यान्न उत्पादन गर्ने उद्योग र निर्माण सामग्री उत्पादन गर्ने उद्योग पनि खुल्न सुरु गरेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरले पनि केही मात्रामा उद्योग सञ्चालन हुन थालेको बताए ।

‘जिल्ला प्रशासन कार्यालयहरूले उद्योग सञ्चालनमा सहयोग गरिरहेको छन्, लकडाउनको समयमा सरकारले उद्योग खोल्न दिएपछि निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु खुल्न थालेका छन, सरकारले पनि सहयोग गरिरहेको छ,’ मोरले भने ।

नेपाल सिमेन्ट उत्पादक उद्योग संघका अध्यक्ष धुव्र थापाले पनि पछिल्लो समय उद्योगीका लागि लकडाउन केही सहज भएको बताए ।

‘सिमेन्ट उद्योगहरूले कच्चा पदार्थ चुनढुंगा संकलन र उद्योग सञ्चालन दुवैका लागि पहल गरिरहेका छौं, केही सिमेन्ट उद्योगहरु सानो भोलुमा सञ्चालन भएका छन्, सरकारले चुनढुंगा उत्खनन समयमा नै दिएन भने समस्या हुने छ, वर्षायाम शुरू भएपछि चुनढुंगा संकलनमा कठिनाइ हुन्छ, उद्योग, उर्जा, गृह लगायतका मन्त्रालयसगँ हामीले छलफल गरिरहेका छौं,’ थापाले भने ।

चरण अनुसार कर्मचारीबीचको भौतिक दूरी कायम गर्ने, उद्योगमा अनिवार्य रुपले स्यानिटाइजर, मास्क, खाना तथा बास बस्ने व्यवस्था गरिनुपर्छ । उद्योगहरुलाई आवश्यक सहजीकरणका लागि सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकिएको पनि न्यौपाने बताए ।

उद्योग मन्त्रालयका अनुसार ग्यास र पानी उद्योग भने लकडाउनका क्रममा निरन्तर सञ्चालित छन् । अत्यावश्यक औषधी उत्पादन गर्ने उद्योग पनि यसबीचमा बन्द भएनन् । तर लकडाउनको कारणले बन्द भएका अन्य उद्योग पनि खुल्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.