रहिनन् प्रथम गायिका रानुदेवी

  २०७७ वैशाख १९ गते १४:३८     विकासन्युज

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको गए राति निधन भएको उनकी छोरी अल्पना रेग्मीले जानकारी दिए ।

शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायत गीत चर्चित छन् । उनले तत्कालीन नेपाल प्रजातन्त्र रेडियोबाट ती गीतमा स्वर भरेकी थिईन् । तीलगायत ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ ।

ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो । राणा शासनविरुद्धको आन्दोलनमा उनी कला र सांगीतिक मोर्चाबाट होमिएकी थिईन् । निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । स्व अधिकारीको गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र दुई छोरी रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.