दश प्रकारका धानको बीउ मौज्दात

  २०७७ वैशाख १९ गते ८:५३     विकासन्युज

काठमाडौं । झापाको मेची कृषक बहुमुखी सहकारीले ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने बेला हुन लागेको हुँदा किसानहरुको सुविधाका लागि बीउको खुद्रा तथा थोक बिक्री शुरु गरिएको सो सहकारीका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिए ।

मेचीनगर–७ इँटाभट्टामा रहेको सहकारीले पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत आफैले उत्पादन गरेको राधा–१२, रञ्जित, मन्सुली, सुख्खा–३, हर्दिनाथ–१, साम्बा, शर्णा सबवान, नुनिया, रातो बासमती र राम धानको बीउ झापा, मोरङ र सुनसरीका किसानलाई बेच्दै आएको छ ।

नेपाल सरकारको राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय काठमाडौंले ती धानका बीउहरु तराइका लागि सिफारिस गरेको काफ्लेले बताए । उनले बन्दाबन्दी भएता पनि धानको बीउ ओसारपसारमा कहीँकतैबाट अवरोध उत्पन्न नगराउन अपिल गरे ।

किसानहरुले हार्वेस्ट सेवा केन्द्रमा आफैँ आएर खुद्रा मूल्यमा धानको बीउ खरिद गर्न सक्ने व्यवस्था मिलाइएकोे छ । झापाका स्थानीय सहकारी संस्था र एग्रोभेट पसलहरुले थोक मूल्यमा बीउ किनेर किसानलाई खुद्रामा उपलब्ध गराउँदै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.