सेयर बजारको बारेमा चिन्ता नलिनुस्, याे छिट्टै रिकभर हुन्छ

  २०७७ वैशाख १८ गते १४:०५     भीष्मराज ढुङ्गाना

सेयर बजार स्वभाविक रूपमा चल्नुपर्छ । जहाँ कुनै पनि किसिमको अवरोध हुनुहुँदैन । स्वभाविक रुपले चलेको बजारमा कारोबार त सञ्चालन हुन्छ, तर त्यो म्यानुअल्ली हुन्छ कि मेकानाईजेशनल हुन्छ भन्ने दुई कुरा हुन्छ ।

हामी अहिले मेकानाईजेशनल हिसावले गइरहेका छौं । तर यो पूर्ण भइरहेको छैन । हाम्रो अहिले अनलाइन ट्रेडिङ छ । वास्तवमा भन्ने हो भने हाम्रो अनलाइन ट्रेडिङ भनेको हाफलाइन ट्रेडिङ मात्रै हो । किनभने हाम्रो सेयरमा कसैले पनि बाईसेल इन्भेष्ट गर्न सक्छ ।

बाईसेल इन्भेष्ट गरेपछि ट्रेडिङको म्याचिङ्ग हुन्छ । म्याचिङ्ग भईसकेपछि जब उसले सेयरलाई ट्रान्सफर गर्नु पर्ने हुन्छ, त्यसको लागि एउटा मेकानिजम बनाईदिएको छ । त्यो भनेको इडीआईएस हो । यसलाई ब्रोकरहरुले स्वचालित प्रणालीबाट जुन आउँछ त्यसलाई कार्यान्वयन गरिरहेका छैनन् ।

अर्काे, सेयरको कारोबार भयो, इन्भेष्टको पनि भयो । तर हाफपार्ट भने बाँकी नै रह्यो । त्यो भनेको बैंकसँगको इन्ट्रिग्रेसन । कुनै पनि कारोबार अहिले बैंकसँग इन्ट्रिगेसन छैनन् । यदि बैंकसँगको इन्ट्रिगेसन र सेयर कारोबारसँगको इन्ट्रिगेसन तथा समग्रतामा कारोबारको मेगानाइजेसन भएको भएदेखि अहिलेको जस्तो अवस्थामा हुने थिएनौं । हामी पनि अन्य मुलुकहरु जस्तै सेयर कारोबार गर्न पाउने थियौं ।

समग्र प्रणालीलाई हामीले दुई किसिमले हेर्नुपर्ने हुन्छ । सामान्य किसिमले जुन कारोबार हुन्थ्यो, त्यो कारोबार भएको अवस्था एउटा, अर्काे भनेको असामान्य वा संकटको बेलामा गरिने कारोबार हो ।

असामान्य वा संकटको बेलामा कारोबार गर्नको लागि व्यवस्था मिलाउन हामीले नेप्सेलाई १० वटा बुँदाहरुसहितको निर्देशन दिएका छौं । जसमा अहिलेको अवस्थामा आईपीएसको लागि कसरी टाईअप गर्ने । ब्रोकरले पनि आईपीएस कनेक्टको सुविधा लिने र लगानीकर्ताले पनि पनि लिने भन्ने हो । यसो भयो भने कमसेकम पनि सेयर कारोबार अनलाइन त छँदैछ यतापट्टिको म्यानुअल भुक्तानीमा परिमार्जन गरेर घरमै बसेर काम गर्न सकिन्छ । यसको लागि वातावरण मिलाउने भनेका छौं ।

वास्तवमा भन्ने हो भने हाम्रो अनलाइन ट्रेडिङ भनेको हाफलाइन ट्रेडिङ मात्रै हो ।

यसको लागि तत्कालै दुईवटा कुरा गर्नुपर्ने हुन्छ । एउटा सबै लगानीकर्तालाई मेरो सेयरमा खाता खोल्न लगाउने र त्यो खातामा ईडीआईएस सब्मिसन भन्ने व्यवस्था छ, त्यो व्यवस्था अन्तर्गत रहेर ब्रोकर कहाँ डाटाहरु सब्मिसन गर्ने । र, प्रणालीबाट जे आउँछ, एभरेज प्राईसिङ जुन दिएको हुन्छ, अहिले त्यसलाई ब्रोकरहरु आफैले पुष्टि गर्नुपर्ने हुन्छ । आफैले पुष्टि गर्ने सिष्टम त्यति राम्रो नभएकाले त्यसमा केहि म्यानुअल वा मानवीय त्रुटीहरु देखिन सक्छ ।

त्यसमा नगदको कुरा पनि छ । प्रणालीबाट आउँछ, जसमा ब्रोकरहरुले दुई पैसा पनि तलमाथि गर्न सक्नुहुन्न । सिस्टममा जे आउँछ, उहाँहरुले त्यहि पुष्टि गर्नुपर्ने हुन्छ । यो पुष्टि गर्ने कुरा झन्झटिलो हुने भएकाले यसलाई हटाउन निर्देशन दिएका छौं ।

र, यो संकटकालिन अवस्थाको व्यवस्थापन गर्नको लागि केही कामहरु गर्न शुरु गरिसकेका छौं । यी कुरा कार्यान्वयन भयो भने केही मात्रामा अनलाइन ट्रेडिङ् हुन्छ । यसलाई पूर्ण अनलाइन गर्नको लागि बैंक इन्ट्रिगेसन नै हो । यो गर्नको लागि लकडाउन भन्दा केही साता अगाडि एउटा प्राविधिक समिति बनाएका छौ ।

समितिमा नेप्से, क्लियरिङ्ग हाउस, क्लियरिङ्ग बैंक, ब्रोकर, सीडिएस, मर्चेन्ट बैंकर र डीपीहरु छन् । जसलाई धितोपत्र बोर्डले नेतृत्व गरेको छ । यो समितिले राम्रोसँग काम गर्न पाएको भए अहिलेसम्म प्रतिवेदन तयार भइसकेको हुन्थ्यो र दुई तीन महिना भित्रमा पूर्ण अनलाइनमा गईसकेका हुन्थ्यौं । जे होस्, अहिले प्रक्रियामा छ, आशा गरौं केहि समयपछि पूर्ण अनलाइन कारोबार सञ्चालन हुनेछ ।

बैंकमा सबै अनलाइन कारोबार हुन्छ, हामीले घरमै बसी बसी रकम ट्रान्सफर गर्न सक्छौं । एटीएम मेसिनमा गएर पैसा झिक्न सक्छौं । धितोपत्र बजारमा पनि त्यस्तै गरे भैहाल्यो नि भन्नेहरु पनि छन् । तर त्यस्तो होइन । त्यहाँ ग्राहक बैंक र बीचमा सिष्टम भएकोले काम भएको हो । तर यहाँ काम गर्दा नेप्सेले म्याचिङ्ग इन्जिन चलाउनु पर्यो, सीडीएसमा क्लियरिङ्ग गराउनु पर्यो, एनसीएचएलले पैसाको लागि क्लियरिङ्गको काम गराउनु पर्यो, बैंकले खातामा पैसा जम्मा वा झिक्ने काम गर्नुपर्यो । त्यसैले यसमा धेरै पक्षहरु संलग्न हुने भएकाले फुल्ली इन्टिग्रेसन गरेर जानु पर्ने हुन्छ । त्यसैले यो अलि गाह्रो पनि हुन्छ ।

सेयर कारोबारको क्लियरिङ्ग र पैसाको क्लियरिङ्ग दुबै छुट्टा छुट्टै पाटो हो । यसलाई जबसम्म हामीले पूर्ण रुपमा इन्टिग्रेट गर्दैनौं, तबसम्म यो लागू हुँदैन ।

यस्तो परिस्थितिको लागि अन्य मुलूकमा डिजास्टर रिकभरी छ, हाम्रोमा छैन भन्ने पनि छन् । साच्चै भन्ने हो भने, सामान्य अवस्थामा नै हाम्रो धितोपत्र बजार अत्याधुनिक प्रणालीसँग अभ्यस्त भएको छैन । सामान्य अवस्थामा सबै प्रकृयाहरु पूर्ण इन्टिग्रेसन हुनु पर्यो, सजिलै काम गर्न सक्ने हुनु पर्यो । त्यसपछि मात्र, भोलिपर्सि संकट आयो भने के गर्ने भन्ने विषयमा लाग्ने हो । त्यसैले, अहिले डिजास्टर रिकभरीको विषयमा सोच्ने बेला भएको छैन ।

हाम्रो अहिलेको तत्कालको आवश्यकता भनेको अनलाइन कारोबारलाई पूर्ण रुपमा सञ्चालित गरेर कारोबार गर्न सक्ने बनाउने हो । र, यो कुरा गर्न हामीले शुरु गरिसकेका छौं । अब लकडाउन खुलेको केही हप्ता वा महिना भित्रमा अनलाइन कारोबार गर्न सक्छौं होला । यसको लागि नेप्से र धितोपत्र बोर्ड दुबै सक्दो तरिकाले लागेका छौं ।

हामीले लकडाउन सामान्य रुपमा खुल्यो वा खुकुलो बनाईयो भने बजार खुलाउन पर्छ भनेर अर्थमन्त्रालयसँग पनि छलफल गरिरहेका थियौं । यसै सन्दर्भमा कुरा गर्दा हामीले केही मात्रामा कारोबार खुलाउन सक्ने रहेछौं । यसैबीचमा हामीले नेपाल राष्ट्र बैंकसँग नेप्सेमार्फत आईपीएसको लागि व्यवस्था मिलाउछौं, दिनको मर्चेन्ट बैंकरसँगको भए ५० लाख नभए २० लाखलाई बढाएर एक करोडसम्म पुर्याइदिने पर्छ भनेका छौं ।

अरु तत्कालै कारोबार गर्नको लागि केही विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था छ । त्यसको लागि पनि केही व्यवस्था मिलाउन आग्रह गरेका छौं ।

राष्ट्र बैंकको नियम अनुसार लगानीकर्ताले ६५ प्रतिशत मार्जिनमा कर्जा पाइरहेका छन् । त्यसलाई २० प्रतिशतसम्म तल माथि भयो भने उनीहरुले करिब ८५ प्रतिशत सुविधा पाइरहेका छन् । त्यहि रकममा नविकरण गरिदिन व्यवस्था मिलाउनु पर्यो भन्ने कुराहरु उठाएका छौं । त्यसैले हामीले हाम्रोतर्फबाट हुने कामहरु गरिरहेका छौं ।

हाम्रो अहिलेको तत्कालको आवश्यकता भनेको अनलाइन कारोबारलाई पूर्ण रुपमा सञ्चालित गरेर कारोबार गर्न सक्ने बनाउने हो । र, यो कुरा गर्न हामीले शुरु गरिसकेका छौं । अब लकडाउन खुलेको केही हप्ता वा महिना भित्रमा अनलाइन कारोबार गर्न सक्छौं होला । यसको लागि नेप्से र धितोपत्र बोर्ड दुबै सक्दो तरिकाले लागेका छौं ।

पूर्णरुपमा लकडाउन भएको बेलामा बाहिर जान सकिदैन । जस्तै, हाम्रो ५० वटा ब्रोकर छन् । २० देखि २५ वटा डीपीहरु र अन्य सबै गर्दा ७५ देखि ८० वटा संस्थाहरुले सहभागिता जनाउनु पर्ने हुन्छ । यसरी एउटा संस्थालाई ४÷५ वटा मात्रै पास उपलब्ध गराईदिने हो भने ४ सय वटा पास हामीले दिनुपर्ने हुन्छ । ४ सय वटा गाडी बजारमा कुद्ने र ४ सय जना मान्छे हिड्ने हो भने यसले लकडाउनको प्रभावकारितालाई भङ्ग गर्छ ।

यसले जनताको सुरक्षा गर्ने जुन उद्देश्य नेपाल सरकारको छ, त्यसलाई सहयोग गर्दैन, त्यसैले अहिले बजार नखुलाईएको हो । यदि खुकुलो भयो भने निश्चित सीमामा रहेर कारोबार खुलाउने पक्षमा छौं । यसको लागि के कसरी व्यवस्थित गर्ने हो भन्ने विषयमा नेप्सेलाई पनि निर्देशन दिएका छौं ।

यदि २५ गतेपछि लकडाउन खुकुलो मात्रै भयो भने पनि हामी त्यही अनुसार अगाडी बढ्छौ । होइन, त्यसपछि लकडाउनको अन्त्य नै भयो भने त सामान्य रुपमा सञ्चालन भइहाल्छ । र, आगामी दिनमा पूर्ण इन्टिग्रेटमा कसरी जाने भन्नेमा लाग्ने छौं ।

सुचारू भएपछिको बजारमा कस्तो पर्छ असर ?

कोरोनाको प्रभावपछि विश्वव्यापी रुपमा सेयर बजारमा निकै असर परेको देखिन्छ । अमेरिकामा करिब दुई महिनाको अवधिमा सेयर बजार हुने डवो इन्डेक्स करिब १० हजार २ सय ६९ अंकले झरेको छ । जुन ३७ प्रतिशतले घटेको हो । भारतको नेप्से फिफ्टी इन्डेक्स पनि ३७ प्रतिशतले घटेको छ ।

तर, पछिल्लो समय अर्थात मार्चको तेश्रो हप्तादेखि भने ती बजारले गति लिन थालेको छ । अहिले अमेरिकाको उक्त इन्डेक्स करिब २८ प्रतिशतले बढेको छ ।

परिस्थिति सामान्य भएपछि आमनागरिकलाई लगानीको लागि राम्रो अवसर भनेको सेयर बजार नै हो । यसले गर्दा बजारमा सकारात्मक असर पर्छ भन्ने अनुमान छ ।

त्यसैगरी, हाम्रो नेपालमा लकडाउन हुनुअघि नेप्से परिसूचक १२५१ अंकमा रहेको छ । अब यसपछि के होला भनेर सरसर्ती हेर्दा लकडाउन पछाडी सामान्य रुपमा बजार खुल्यो भने परिसूचकमा पनि केही सामान्य गिरावट त आउला तर अहिले बजारमा हल्ला भए जस्तो भएङ्कर ठूलो गिरावट आउने चाहिँ म देख्दिनँ ।

किनभने, विश्व बजारमा अहिले जहाँ जहाँ मानिसहरुमा अब कोरोना संक्रमण बढ्दैन भन्ने कन्फिडेन्ट बढेको छ, त्यो त्यो देशमा सेयर बजार सुधारोन्मुखतिर लागेको छ । त्यसैले बजार खुल्नु भनेको मानिसहरुमा कन्फिडेन्ट बढ्नु हो । त्यसले पनि केही सकारात्कम असर पर्न सक्छ ।

अर्काे, लकडाउनपछि आर्थिक व्यवसाय खुल्दा मानिसहरुले तत्कालै लगानी गर्ने ठाउँ कहाँ भन्ने कुरा आउँछ । यसको लागि सेयर बजार नै उपयुक्त हुन सक्छ । उद्योग लगायत अन्य क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना हुनको लागि केही समय लाग्छ । त्यसमा डिमाण्ड सप्लाई लगायत कच्च पदार्थको व्यवस्था मिलाउने कुरा आउन सक्छ । त्यसैले उनीहरुलाई तत्कालै अगाडि बढ्न गाह्रै छ ।

बजारको करिब ८५ प्रतिशत पोर्टफोलियो सुरक्षित अवस्थामा छ । सबैभन्दा बढी असर पर्यटन र होटल समूहमा पर्ने हो । उनीहरुको पोर्टफोलियोको करिब ६ प्रतिशत छ । त्यसले बजारमा त्यति असर नपर्ने मेरो अपेक्षा रहेको छ ।

त्यसैले परिस्थिति सामान्य भएपछि आमनागरिकलाई लगानीको लागि राम्रो अवसर भनेको सेयर बजार नै हो । यसले गर्दा बजारमा सकारात्मक असर पर्छ भन्ने अनुमान छ ।

यसपछि बजारले पनि अर्काे गति लिँदैछ । डिलरहरु करिब करिब काम गर्ने अवस्थामा छन् । नागरिक लगानी कोषले खोलेको स्टक डिलर कम्पनीले काम शुरु गर्ने छ । खुल्लामुखी म्युचअल फण्ड पनि सञ्चालनमा आउँदै छन् । यसको प्रभाव बजारमा सकारात्मक नै पर्नेछ ।

त्यस्तै, कूल बजारमा करिब ५३ प्रतिशत पोर्टफोलियो वाणिज्य बैंकको छ । विकास बैंकको ५ प्रतिशत, फाइनान्सको १०, माइक्रोफाइनान्सको ६ प्रतिशत, जीवन र निर्जीवन बीमाको समेत गरी कूल ७८ प्रतिशत सेयर कारोबार हुन्छ । यी क्षेत्रलाई तत्कालै त्यस्तो ठूलो असर नपर्ने सम्भावना छ । नाफा सामान्य होला तर कार्यदक्षतामा त्यति धेरै घट्दैन ।

हामी अहिले आत्तिहाल्नु पर्दैन । धितोपत्र बजार भनेको एकदम छिटो रिकभर हुने क्षेत्र हो । त्यसको लागि हामीले सक्दो प्रयास गर्नेछौं ।

त्यसैले कूल बजारमा ७८ प्रतिशत कम्पनीको कार्यदक्षता राम्रो हुनेछ । बाँकी ५ प्रतिशत पोर्टफोलियो हाइड्रोपावरको छ । बजारको करिब ८५ प्रतिशत पोर्टफोलियो सुरक्षित अवस्थामा छ । सबैभन्दा बढी असर पर्यटन र होटल समूहमा पर्ने हो । उनीहरुको पोर्टफोलियोको करिब ६ प्रतिशत छ । त्यसले बजारमा त्यति असर नपर्ने मेरो अपेक्षा रहेको छ ।

बजार सञ्चालन गर्दा नियामकको हिसावले सरकार तथा नेपाल राष्ट्र बैंकले आगामी बजेटमा पुँजी बजारको करका तथा पुँजी बजारको विकासको कुराहरुलाई हेरिदिनु पर्नेछ । र, मौद्रिक नीतिमा पनि पुँजी बजारलाई समेट्नु पर्छ । जसको लागि हामीले बोर्डको तर्फबाट गर्नुपर्ने काम र पहल गरिरहेका छौं ।

त्यसैले हामी अहिले आत्तिहाल्नु पर्दैन । धितोपत्र बजार भनेको एकदम छिटो रिकभर हुने क्षेत्र हो । त्यसको लागि हामीले सक्दो प्रयास गर्नेछौं ।

(नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पुँजी बजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले व्यक्त गरेको विचारमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.