दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण काम अघि बढ्यो

  २०७७ वैशाख १७ गते १६:२८     विकासन्युज

काठमाडौं । लकडाउनसँगै रोकिएका आयोजनाको काम पछिल्लो समय पुनः शुरु भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै लमजुङको दोर्दी गाउँपालिकास्थित २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य आजदेखि पुनः शुरु भएको हो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्धारण गरेका सर्तमा रहेर काम पुनः शुरु गर्न सो आयोजनाले अनुमति लिएको हो । सोही अनुरुप पुनः काम शुरु गरिएको आयोजनाले जनाएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनामा सात÷सात जनाको दूई समूह बनाएर टनेलको लागि रड बान्ने काम भइरहेको छ । त्यस्तै १० जनाले ट्रान्समिसन लाइनका लागि खाल्डो खन्ने कामसमेत शुरु भएको र अरु काम भने हुन नसकेको आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले बताए । आयोजनामा आवश्यक पर्ने ढुवानीको लागि समेत प्रक्रिया अघि बढाएर आयोजनाको अन्य कामसमेत केही दिनबाट शुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ । उक्त आयोजनामा ३ सय कर्मचारी कार्यरत छन् । हाल ३०÷३५ कर्मचारीबाट मात्र काम भइरहेको आयोजनाले जनाएको छ ।

आगामी असार महिनामा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले लकडाउनका कारण केही समय काम रोकिएकाले त्यो सम्भव नहुने साइड इन्चार्ज ज्ञवालीको भनाइ छ । उनका अनुसार आयोजनाको पावरहाउस, बाँधस्थल, सुरुङमार्ग, पाइप लाइन बिच्छ्याउनेलगायत ९२ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार पावरहाउसको सिभिल काम सबै सकिएको, इलेक्ट्रोमेकानिकलतर्फ ५० प्रतिशत काम बाँकी रहेको, बाँधस्थलको सबै काम सकिएको तथा टनेल पाइप लाइनको ८० प्रतिशत काम सकिएको छ । त्यस्तै तीन हजार दुई सयमध्ये २०० मिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेको आयोजनाले जनाएको छ ।

विसं २०७२ फागुनबाट निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाले नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसेनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माण कार्यमा भएको ढिलाइका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्मका लागि सम्झौता भए पनि सो अवधिमा पनि काम नसकिने भएपछि असारसम्म सक्ने गरी सम्झौता भएको थियो । तर लकडाउनका कारण उक्त समयमा पनि निर्माण कार्य सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ ।

आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले नेपाल विद्युत् प्राधिकरणसँग सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पिपिए) भएको बताए । तीन अर्ब ८६ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको यो आयोजनाको समयावधि थप गरिएपछि यसको लागत बढेर करिब चार अर्ब २३ करोड रुपैयाँ पुग्ने अनुमान गरेको थियो । लकडाउनका कारण काम रोकिँदा चार अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न हुने आयोजनाको अनुमान छ ।

आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । पाइप लाइनको काम माछापुच्छ्रे मेटल एण्ड मेसेरेनरी कम्पनी तथा सुरुङ निर्माणको काम मल्टी इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले लिएको छ भने बाँधस्थल र पावरहाउसको काम रसुवा कन्सट्रक्शन कम्पनी लिएको छ ।

लकडाउनमा समस्या झेल्दै किसान

विश्वमा फैलिरहेको कारोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका कारण कुुखुरापालक किसान समस्यामा पर्न थालेका छन् ।

उत्पादित अण्डा र कुखुराको खपत नहुनु, यतिबेला बजारमा उपभोक्ता नभएका र कुखुराको दाना खरिद गर्ने रकम किसानसँग नभएकाले लमजुङका कुखुरापालक किसान समस्यामा पर्न थालेका हुन् । केही किसानले दानासमेत खरिद गरेर कुखुरालाई दिन नसक्ने अवस्थामा पुगेको छ भने केहीले लागत मूल्यभन्दा पनि कममा जिउँदो कुखुरा र मासु बिक्री गर्नुपर्ने बाध्यताका कारण उनीहरु आर्थिक समस्याबाट पीडित हुनुपरेको लमजुङ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष एवं मासु व्यवसायी सङ्घ लमजुङका अध्यक्ष गुणराज सिलवालले बताए । उनले भने, “केही दिनअघि केही किसानले त कुखुरा नै खाल्टामा हालेको थियो ।”

लकडाउनका कारण होटेल तथा रेस्टुरेन्ट बन्द भएका कारण अण्डा बिक्री नभएको सुन्दरबजार नगरपालिकास्थित आरभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीका अध्यक्ष कृष्णप्रसाद बजागाईंले बताए । आर्थिक समस्याका कारण दाना अभावमा कुखुरा पाल्न समस्या भएको बेला उत्पादित अण्डा बिक्री गर्न नपाउँदा थप नोक्सानी व्यहोर्नु परेको किसानको दुखेसो छ । कुखुराको अण्डा तीन हप्ताभन्दा बढी स्टक राख्न नमिल्ने भएकाले कुखुरापालक किसान मर्कामा परेको बताइएको छ ।

जिल्लामा मासु प्रयोजनका लागि डेढ लाखभन्दा बढी ब्रोइलर कुखुरा पालिएका छन् । त्यस्तै किसानले ५० हजारको हाराहारीमा लेस कुखुरा पालेका छन् । अधिकांश मासु पसलसमेत बन्द भएका कारण कुखुरा पनि बिक्री नभएको किसानको भनाइ छ । यतिबेला बेंसीशहर नगरपालिकालगायत बजारमा प्रतिकिलो कुखुरा मासुको मूल्य २ सय ६० रुपैयाँ रहेको छ । करिब एक महिनाअघिसम्म प्रतिकिलो ४ सय थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.