अर्थतन्त्रमा गम्भीर धक्काः आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने प्रक्षेपण

  २०७७ वैशाख १७ गते १६:२७     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशत कायम रहने बताएको छ। बुधबार  सार्वजनिक  गरेको एक रिपोर्ट अनुसार कोरोना संक्रमणको कारण ८ दशमलव ५ प्रतिशतको लक्ष्य घटेर २ दशमलव २७ प्रतिशत रहने भएको हो।

चालु आर्थिक वर्षमा प्राथमिक क्षेत्र भनिने कृषि, वन, मत्स्यपालन, खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर २.५ प्रतिशत हुनेछ । गत आर्थिक वर्षमा प्रमुख कृषि बाली धानको उत्पादन करीब ९ प्रतिशत बढेपछि यो क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत थियो । यो वर्ष धानको उत्पादन गत आर्थिक वर्षको तुलनामा १ प्रतिशत घटेको छ।

द्वितीय क्षेत्र भनिने निर्माण, उद्योग, विद्युत, ग्याँस, पानी जस्ता क्षेत्रको विस्तार ‍‍३.३६ प्रतिशतले हुनेछ । गत आर्थिक वर्षमा यो क्षेत्रको विस्तार ८.१ प्रतिशत थियो । बन्दाबन्दीका कारण अधिकांश निर्माण ठप्प भएको तथा उद्योग बन्द भएका छन्।

त्यस्तै, तृतीय अर्थात सेवा क्षेत्रको वृद्धिदर यो वर्ष १.९९ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यो क्षेत्रको वृद्धिदर ७.२९ प्रतिशत थियो । थोक तथा खुद्रा व्यापार, होटल, रेस्टुँरा, यातायात, वित्तीय मध्यस्तता, रियलइस्टेट जस्ता क्षेत्रमा कारोबार घटेकाले सेवा क्षेत्रमा गहिरो धक्का पुगेको हो।

कोरोनाभाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थतन्त्रमा ठूलो धक्का पुगेको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार, चालु मूल्यअनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब पुगेको छ, जुन गत वर्ष ३६ अर्ब ६४ करोड थियो।

यता, विश्व बैंकले पनि सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीचमा सीमित रहने प्रक्षेपण गरिसकेको छ। कोरोनाका कारण अर्थतन्त्र शिथिल भएको छ । रेमिटेन्स करिब २०% घट्ने अनुमान छ । पर्यटन क्षेत्र पनि शिथिल हुँदैछ । रोजगारीका अवसर गुमेका छन् । जसका कारण आर्थिक वृद्धि न्यून हुने विभिन्न निकायहरुबाट प्रक्षेपणहरु सार्वजनिक भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.