धरानमा छुट्टै कोरोना अस्पताल सञ्चालन, अब स्वाब परीक्षण गर्न काठमाडाैं ल्याउनै नपर्ने

  २०७७ वैशाख १४ गते १९:५३     विकासन्युज

धरान। विपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान, धरानमा कोरोना भाइरसको उपचारका लागि छुट्टै कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाइरसको उपचार तथा रोकथामका लागि सञ्चालित सो अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर सुविधा रहेको छ ।

पहिलो चरणमा सञ्चालनमा ल्याइएको १०० शैयासहितको ‘आइसोलेसन’ कोभिड-१९ अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश १ मा कोरोना भाइरसको उपचार र रोकथामका लागि गम्भीर भएको बताए ।

‘कोभिड-१९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासन पालना गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘सङ्क्रमितलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गरिनुपर्छ ।’

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीपी प्रतिष्ठानमा एक हप्तामा १ सय बेडको अस्पताल तयार भएको र आवश्यक परेको अवस्थामा यहाँ थप ५ सय बेड तयारी गरिने जानकारी दिए ।

अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानका प्रवक्ता डा. अशोक एैरका अनुसार अस्पतालमा १३ वटा आइसियूसहितको भेन्टिलेटर, छुट्टै एक्सरे र अल्ट्रा साउन्डको सुविधासहित १०० शैयाको कोभिड-१९ अस्पताल सञ्चालनमा ल्याइएको हो ।

यसअघि कोरोनाको आशंकाका बिरामीहरुको थ्रोट स्वाब परीक्षण गर्न काठमाडौं पुर्याउनुपर्ने अवस्था थियो । केही समय अगाडि सरकारले प्रदेश नम्बर १ को लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परिक्षण गर्ने घोषणा गरेको थियो । प्रदेश नम्बर-१ मा कोरोना संक्रमणको दर सबैभन्दा बढि रहेको छ । प्रदेशमा हालसम्म ३० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसअघि कोरोना संक्रमित व्यक्तिहरूलाई प्रतिष्ठानले विराटनगरको कोरोना अस्पतालमा पठाउँदै आएको थियो । प्रतिष्ठानले कोरोनाको परीक्षण पनि यसअघि नै सुरू गरिसकेको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र पिसिआर परीक्षण भइरहेको अवस्थामा पहिलोपटक प्रतिष्ठानले प्रयोगशालाबाट परीक्षण सुरू गरेको थियो ।

प्रतिष्ठानले छुट्टै कोरोना अस्पताल सञ्चालन गरेसँगै यसले प्रदेश-१ मा कोरोना संक्रमित बिरामीको चापलाई व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.