लकडाउनले अवरूद्द भएकाे पठनपाठन दशैं तिहारमा सुचारू गर्छाैंः शिक्षा विभाग

  २०७७ वैशाख १४ गते २०:१२     डाेमी शेर्पा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण देश लकडाउनमा छ । देश लकडाउनमा रहँदा नागरिकका दैनिक गतिविधीदेखि सम्पूर्ण कामहरु अवरुद्द भएका छन् । लकडाउनले गर्दा नागरिकले हरेक क्षेत्रम नोक्सान व्यहोर्नु परेको अवस्था छ ।

अहिले लकडाउनले गर्दा विद्यार्थीहरुको पठनपाठनमा पनि निकै असर परेको छ । लकडाउनले गर्दा विद्यार्थीहरुको पठनपाठन र परीक्षाहरु पनि प्रभावित भएका छन् ।

काठमाडौं शिक्षा विभागले लकडाउन फेरी पनि लम्बिए दशैंतिहारहरुमा पनि कक्षा संचालन गर्ने बताएकाे छ । विभागका प्रमुख सिताराम कोइरालाले लकडाउन फेरि पनि लम्बिए दशैंतिहार, हिउँद–गर्मी बिदाहरु सबै काटेर कक्षा संचालन गर्ने बताएका हुन् ।

कोइराला भन्छन्, ‘लकडाउन फेरि पनि लम्बिए हामी दशैं तिहार, हिउँद,गर्मी सबै बिदा काटेर पठपाठन पुरा गर्छाैं, यद्यपी हाललाई केही समय लकडाउन लम्बिए पनि शैक्षिक सत्रम खासै असर पर्दैन ।’

सामान्यतः बैशाख १५ देखि सुरु हुने नयाँ शैक्षिक सत्र असारमा सुरु भएपनि बालबालिकाको पढाईमा खासै असर नहुने कोइराला बताउँछन् । ‘हामीले ३ सय ६५ दिनमा २ सय २ दिन विद्यालय खोल्नु पर्ने हो, त्यसको लागि हामीसँग प्रशस्त समय छ,’ कोइरालाले भने ।

यद्यपी आफुहरु यो लकडाउन धेरै लामो समय लम्बिएर पठन पाठनहरु ठ्प्प भएको अवस्थामा वैकल्पिक बाटो खोजी रहेको उनले बताए ।

उनी भन्छन्, ‘यदि असारसम्म पनि स्थिती सामान्य भएन भने हामीले सबैभन्दा पहिला कक्षा १ देखि ५ सम्मका विद्यार्थीको हातहातमा शैक्षिक सामाग्रीहरु पुर्याउनु पर्छ, त्यसपछि कक्षा ६ देखि १० का विद्यार्थीहरुको लागि विभिन्न रेडियो संचारमाध्यमबाट हरेकदिन विषयवस्तुको जानकारी दिनुपर्दछ ।’

सरकारकाे निर्णय आएपछि काठमाडौं महानगर शिक्षा विभागले के गर्ने सबै निर्णय हुने कोईरालाले बताए । कोरोना भाइरसको कारण लाग्ने कोभिड–१९ को कारण हाल चैत ११ गतेबाट नेपाल लकडाउनमा रहेको छ ।

विद्यार्थीको फलामे ढोका मानिने एसईई, कक्षा ११ र १२ देखि लिएर विश्वविद्यालयतहको सबै परीक्षाहरु सरकारले स्थिगत गरिसकेको छ । यद्यपी एक महिना बितिसक्दा पनि यसको वैकल्पिक उपायको साथ सरकार अगाडि आएको छैन ।

नयाँ शैक्षिक सत्रलाई कसरी अगाडी बढाउने भन्ने विषयमा पनि सरकारको आधिकारीक धारणा आइपुगेको छैन । धेरै विद्यार्थीहरु विद्यालयहरु बन्द भएसँगै अभिभावकहरुसँग गाउँ फर्किसकेका छन् ।

अनलाइन माध्यमबाट विद्यार्थीहरुलाई पढाउने विषय हाल धेरै चर्चामा छ । तर, संस्थागत विद्यालयका विद्यार्थीहरुको हकमा भने सम्भव भएपनि सरकारी विद्यालयहरुको हकमा यो असम्भव देखिन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलले पनि तुरुन्त विद्यालय खोल्ने अवस्था नरहेको बताएका छन् । अब बैकल्पिक बाटो रोज्नुपर्ने उनको भनाइ छ तर उनको भनाइ पनि अस्पस्ट छ ।

वि.स २०७४ सालमा नै शिक्षा नितिमा अनलाइन कक्षाको विषय उठेको तर त्यसको पहल नभएको एन–प्याबसनका अध्यक्ष रितु राज सापकोटा बताउँछन् । इन्टरनेट पहुँच सबैसँग नभएको र साथै इन्टरनेटको गुणस्तर पनि सबैतिर राम्रो नभएकोले अनलाइन कक्षा संचालन गाह्रो भएको उनी बताउँछन् ।

अनलाइन कक्षाको लागि प्रयास गर्ने र अन्य वैकल्पिक विधीको लागि सरकार, अभिभावक र विद्यालय संचालकबिच छलफल भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.