भूकम्पका पाँच वर्ष : ३५ प्रतिशत निजी आवास निर्माण

  २०७७ वैशाख १२ गते १९:०९     विकासन्युज

काठमाडौं । वि.सं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको पाँच वर्ष बितेको छ । भूकम्पले जिल्लाको निजी आवास निर्माण निकै सुस्ताएको छ । भूकम्पले क्षति पुर्याएको पाँच वर्ष बित्दा पनि राज्यले सोचेजस्तो रुपमा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनः निर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ ।

पाँच वर्षको अवधिमा भक्तपुरमा ३५ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । जिल्लामा पुनःनिर्माण गर्नुपर्ने २८ हजार ५ सय ४५ र प्रवलीकरण गर्नुपर्ने ६ सय ९९ गरी कूल २९ हजार २ सय ४४ लाभग्राही सूचीमा परे पनि हालसम्म १० हजार ३ सय ३१ निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भोजराज भट्टले जानकारी दिए ।

पुनःनिर्माण लाभग्राहीमध्ये २४ हजार ७ सय २७ ले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये २४ हजार ७ सय २४ ले प्रथम किस्ता, १० हजार ६ सय ८१ ले दोस्रो किस्ता र १० हजार ८५ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका छन् भने थप २ सय ४६ पुनःनिर्माण सम्पन्न गरिसकेकाले तेस्रो किस्ता लैजाने चरणमा रहेको सूचना अधिकृत भट्टले जानकारी दिए ।

उनका अनुसार प्रथम किस्ता ८५ दशमलव आठ प्रतिशत, दोस्रो किस्ता ३६ दशमलव पाँच प्रतिशत र तेस्रो किस्ता लैजाने ३४ दशमलव पाँच प्रतिशत लगेका छन् । हाल दुई हजार ५ सय ४ को निजी आवास पुनःनिर्माण शुरु गरेका छन् भने पहिलो किस्ताको ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने ११ हजार ८ सय ९२ रहेको छ ।

त्यस्तै पूर्णक्षति नभएको तर प्रवलीकरण गर्नुपर्ने निजी आवासअन्तर्गत प्रवलीकरण लाभग्राही सूचीमा रहेका ६ सय ९९ मध्ये ३ सय ५९ ले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने दुई लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ४२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनःनिर्माणका लागि सात हजार १ सय ६५ ले प्रथम किस्ता, तीन हजार ४ सय २७ ले दोस्रो किस्ता र तीन हजार २ सय २९ ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् ।

भूकम्पमा सबैभन्दा धेरै आवासमा क्षति पुगेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास निर्माणमा ३७ दशमलव नौ प्रतिशत सम्पन्न भएको छ । यो नगरपालिकामा १० हजार ४३ ले प्रथम किस्ता, चार हजार ४ सय ५५ ले दोस्रो किस्ता र चार हजार २ सय ६५ ले तेस्रो किस्ता लिएका छन् ।

त्यस्तै सबैभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ३१ दशमलव छ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यहाँका दुई हजार १ सय ५४ ले प्रथम किस्ता, ८ सय १ ले दोस्रो किस्ता र ७ सय ७२ तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भट्टले जानकारी दिए ।

भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ दशमलव दुई प्रतिशत मात्रै सम्पन्न भएको छ । यहाँ पाँच हजार ७ सय २१ ले प्रथम किस्ता, दुई हजारले दोस्रो किस्ता र एक हजार ८ सय १९ ले तेस्रो किस्ता रकम लगेका छन् । जग्गासम्बन्धी मुद्दा मामिला, घर झगडा, बहुस्वामित्वको विवाद, पुराना बस्तीमा जग्गाको क्षेत्रफल सानो, हरित क्षेत्रमा परेको, नगरपालिकाको मापदण्डअनुसार बाटो, जग्गा क्षेत्रफल र नक्सा नरहेकोजस्ता कारणले पुर्ननिर्माणमा समस्या आएको उनको भनाइ छ ।

समस्या समाधानका लागि कार्यालयले अनुगमन एवं अन्तक्र्रिया कार्यक्रम, जनप्रतिनिधिसँग छलफल, इन्सेकलगायत विभिन्न संस्थाले सार्वजनिक सुनुवाइ गर्दै आएको छ । पहिलो किस्ता लिएकाले आगामी असार मसान्तसम्म दोस्रो किस्ता र आगामी मङ्सिर मसान्तसम्म पुनःनिर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम लिई सक्नुपर्ने प्राधिकरणले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.