भारतबाट आएका सबैलाई र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने

  २०७७ वैशाख ११ गते १७:२०     विकासन्युज

बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक (आरडिटी) टेष्ट गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार एक सय २२ जनाको आरडिटी गरिने भएको हो ।

चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८ सय २२ जना जिल्ला भित्रिएका थिए । तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब टेष्ट भएकाले बाँकी सबैको पनि र्यापिड डाइग्नोष्टिक टेष्ट गरिने उनले बताए ।

चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५ सय ३१, पुर्चौंडीमा ३ सय ४३, मेलौलीमा ४ सय ४९, पाटनमा ४ सय ८२ र सुर्नयामा ४ सय ५ जना रहेका छन् । त्यस्तै डिलाशैनीमा २ सय ६५, दोगडाकेदारमा ४ सय १, पञ्चेश्वरमा ८ सय ९५, सिगासमा १ सय ३९ र शिवनाथ ९ सय १२ जना जिल्ला भित्रिएको बताइएको छ । चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन् ।

जिल्लामा अहिले एक हजार ६ सय र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कीट मात्रै भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको उनले बताए ।

यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.